झापा ।
नेपालको चिया निर्यातमा भारतले खडा गरेको अवरोध तत्कालका लागि हटेको छ । भारतको टी बोर्डले मे १ देखि लागू गरेको आयातित चियाको अनिवार्य परीक्षणसम्बन्धी ‘स्टयान्डर्ड अपरेटिङ प्रोसिड्युर’मा संशोधन गरेको हो । मंगलबार भारतीय टी बोर्डले सूचना जारी गर्दै भारतमा घरेलु बिक्रीका लागि ल्याइने चियालाई टी बोर्डको अनिवार्य परीक्षणबाट अस्थायी रूपमा मुक्त गरेको छ ।
भारतीय वाणिज्य मन्त्रालयको निर्देशनमा टी बोर्डले यस्तो सूचना जारी गरेसँगै अब नेपालबाट बिनाअवरोध चिया भारत जाने भएको छ ।
‘भारतीय टी बोर्डले एसओपीमा संशोधन गरेसँगै अब नेपालबाट पहिले जसरी नै चिया भारत जानेछ,’ नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भने, ‘बोर्डको यो सूचनाले अवरोध हटेको छ ।’
मे १ देखि भारतले लागू गरेको नयाँ नियमले नेपाली चिया निर्यातलाई पूरै ठप्प बनाएको थियो । प्रत्येक ‘कन्साइनमेन्ट’को अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो समयको ढिलासुस्तीका कारण नेपाली चिया उद्योगी, निर्यातकर्ता तथा किसानहरू ठूलो समस्यामा परेका थिए ।
टी बोर्डले जारी गरेको पत्रअनुसार अब पुनः निर्यातका लागि ल्याइने चियालाई भने अनिवार्य रूपमा परीक्षण गरिनेछ ।
तर भारतमा मात्र घरेलु बिक्रीका लागि ल्याइने चिया कन्साइनमेन्टलाई अनिवार्य परीक्षण गर्नुपर्ने छैन । यद्यपि ‘रयान्डम’ परीक्षण भने हुनसक्नेछ। टी बोर्डले जारी गरेको सूचनामा प्रयोगशाला रिपोर्ट नमूना प्राप्त भएको पाँच दिनभित्र अपलोड गर्नुपर्ने निर्देशन पनि दिइएको छ । यो संशोधनले विशेष गरी नेपाली चियालाई राहत दिने अपेक्षा नेपालका उद्योगीहरूको छ ।
उद्योगीहरूका अनुसार नेपालबाट भारत निर्यात हुने ठूलो परिमाणको चिया घरेलु बिक्रीका लागि नै हुन्छ । यसले सीमामा हुने ढिलासुस्ती घटाउने, लागत कम गर्ने र व्यापारलाई सहज रूपमा सुरू गर्न मद्दत पुग्ने व्यापारीहरूको भनाइ छ । भारतले गुणस्तर नियन्त्रण र मिसावट रोक्न भन्दै मे १ देखि कडा नियम लागू गरेको थियो जसका कारण वैशाख १८ देखि नेपाली चिया निर्यात पूरै प्रभावित बनेको थियो ।
भारतीय टी बोर्डको पश्चिम बंगालमा रहेका कर्मचारीहरूले भारतीय चिया व्यापारीहरूलाई नेपालबाट चिया नमगाउन, मगाएको थाहा भए गोदामबाटै नमूना संकलन थाल्ने चेतावनी दिएका थिए । सीमा नाकामा बोर्डका कर्मचारीले झनै कठोर बन्ने संकेत दिइरहँदा भारतीय वाणिज्य मन्त्रालयले एसओपी संशोधन गर्न निर्देशन दिएको थियो । यसले तत्कालका लागि नेपालको चिया उद्योगलाई राहत भएको छ । मे १ देखि भारतीय टी बोर्डले नेपालबाट भारततिर चिया बोकेर जाने प्रत्येक गाडीबाट चियाको नमूना संकलन गर्ने नियम लगाएपछि नेपाली व्यापारीले चिया पठाएका थिएनन् ।
प्रयोगशाला परीक्षणको बहानामा लामो समय कुर्नपर्ने बाध्यताबाट आजित नेपाली पक्षले भारतीय पक्षको मुड बुझ्न एउटा गाडी भारतीय नाका पानीट्यांकीतर्फ पठाएको थियो । झापाबाट चिया लोड गरेर पानीट्यांकी पुगेको ४ दिनपछि भारतीय टि बोर्डका कर्मचारीले अघिल्लो सोमबार उक्त चियाको नमूना संकलन गरेका थिए । प्रयोगशाला पठाउन नमूना संकलन भएको पनि १० दिन पूरा भएको छ भने चिया भारत पुगेको १४ दिन बितिसकेको छ ।
यतिका समयसम्म पनि कोलकातास्थित प्रयोगशालाबाट परीक्षण रिपोर्ट भने आएको छैन । केही दिन अघिबाट दिल्लीस्थित नेपाली दूतावासबाट भारतीय वाणिज्य मन्त्रालयमा अवरोध खुलाउन पहल भइरहेको थियो । सोही सूचना दूतावासबाट दुई दिनअघि नेपाली पक्षलाई जानकारी आएको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले पनि दिल्लीस्थित दूतावासले ‘अवरोध खुलाउन लगातार प्रयास गरिरहेको’ बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्