
बुटवल – एमाले नेतृ तथा राष्ट्रियसभाकी नवनिर्वाचित सांसद रामकुमारी झाँक्री आजकल रुपन्देही, कपिलवस्तुतिर बढी देखिन्छ । कारण, राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने जनप्रतिनिधिबीच पुग्न र ‘धन्यवाद’ भन्न उनलाई चटारो छ ।
‘धन्यवाद यात्रा’ चुनावको धपेडीभन्दा कम छैन । उनले भनिन्, ‘भोट चाहिँदा उहाँहरूलाई खोजी खोजी हिँडियो, जितेपछि धन्यवाद भन्न पनि उहाँहरूकै ठाउँमा पुग्दैछु ।’
विभिन्न जिल्लामा निर्वाचन लक्षित कार्यक्रमका लागि आएका निम्तालाई थाँती राखेर उनी आइतबार बुटवल पुगेकी थिइन् । राष्ट्रियसभा निर्वाचनमा उनलाई मतदान गर्ने जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई भेट्दै बुधबार बिहान नवलपरासी पश्चिमस्थित रामग्राम नगरपालिका पुगिन् । त्यहाँका प्रमुख धनपद यादव र उपप्रमुख सम्झना चौधरीलाई भेटेर फर्किइन् ।
उनी अबको एक हप्तासम्म राष्ट्रियसभा सदस्य निर्वाचनका मतदातालाई ‘धन्यवाद’ सबै जिल्ला पुग्ने र त्यसपछि गृहजिल्ला गुल्मीको चुनावी गतिविधिमा सहभागी हुने भएकी छन् । उनी ६ वर्षे कार्यकालका लागि राष्ट्रियसभा सदस्य निर्वाचित भएकी हुन् ।
‘मेरो कार्यकाल सकिँदा उहाँहरूको पदावधि सकिएको हुन्छ, तर उहाँले मतदान गर्नुभएको र कतिपयले मतदान गर्न नमिलेर पनि शुभेच्छा प्रकट गर्नुभएको कुरालाई म सधैँ सम्झिरहने छु’, उनले भनिन् ।









प्रतिक्रिया दिनुहोस्