जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति



जापान । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज यहाँ शिष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुगेका हुन् ।  सोही क्रममा राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच भेटवार्ता भएको हो ।


सो भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गरे । ‘जापानले नेपाललाई मानव संशाधन, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नालगायत क्षेत्रमा सहयोग गरिरहेको छ, यसबाट नेपाल र नेपाली अत्यन्त लाभान्वित भएका छन्’, जापानका सम्राट नारुहितोसँग भएको कुराकानीमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनले दुवै देश गौतमबुद्धको शिक्षा र आर्दशबाट प्रेरित रहेको पनि बताए । ‘बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गरेको छ’, राष्ट्रपति पौडेलले भने । दुवै देशबीच इतिहास, संस्कृति र आपसी सहयोगमा लामो समयदेखि आधारित सम्बन्ध, कूटनीतिक सम्बन्ध स्थापनायता अझ निकट र गहिरो मित्रताको साथ अघि बढेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुवै देशबीचको सम्बन्धलाई थप मजबुत बताएको बताउँदै राष्ट्रपति पौडेलले सन् १९८७ मा राजकुमारका रूपमा सम्राट नारुहितोले गरेको मैत्रीपूर्ण तथा विशिष्ट भ्रमणका क्रममा काठमाडौँ, भक्तपुर, पोखरा र लुम्बिनीको भ्रमणको स्मरण गरे ।  उनले सन् २०२० मा आफूलाई ग्राण्ड कर्डन अफ दी अर्डर अफ दि राइजिङ सनबाट विभुषित गरेकोमा सम्राट र जापान सरकारप्रति आभार व्यक्त गरे । राष्ट्रपति पौडेलले नेपाल सरकार र जनताका तर्फबाट जापान सरकारको सद्भावना र सहयोगका लागि आभार प्रकट गर्दै सम्राट र साम्राज्ञीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार