रुस। रुसले मङ्गलबार युक्रेनको राजधानी किएभमाथि पुनः आक्रमण सुरु गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको छोटो युद्धविरामपछि चिसो मौसमको बीचमा नयाँ आक्रमण भएको हो ।

राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिसो मौसममा किएभ र अन्य सहरहरूमा आक्रमण रोक्न सहमति जनाएको जानकारी दिएका थिए । क्रेमलिनले युद्धविराम आइतबारसम्म लागू हुने बताएको छ । तर युक्रेनले मस्कोको आक्रमण नरोकिएको स्पष्ट पारेको छ ।
किएभ सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार रुसले रातभर कडा चिसोका बीच अर्को ठूलो आक्रमण गरेको हो । आपतकालीन सेवाले किएभमा तीन जना घाइते भएको जनाएको छ ।
पूर्वी सहर खार्किवमा भएको रुसी गोलाबारीमा दुई जना घाइते भएको क्षेत्रीय सेना प्रमुख ओलेग सिनेगुबोभले जानकारी दिए । उनका अनुसार घन्टौँ लामो आक्रमणले ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै सहरलाई चिसोमा तापविहीन बनाउने उद्देश्य राखेको थियो ।
अधिकारीहरूले प्रणाली सुरक्षित राख्न ८०० भन्दा बढी घरमा अस्थायी रूपमा ताप कटौती गर्नुपरेको बताएका छन् । आवश्यक परेमा सर्वसाधारणलाई चौबीसै घण्टा सञ्चालनमा रहेका सुरक्षित केन्द्रहरूमा जान आग्रह गरिएको छ । किएभमा रातिको तापक्रम माइनस १७ डिग्री सेल्सियस र खार्किवमा माइनस २३ डिग्री सेल्सियससम्म झरेको छ ।








प्रतिक्रिया दिनुहोस्