नेपालगन्जमा सञ्चालनमा आयो ‘सञ्चार सम्वाद क्लब’



नेपालगन्ज (बाँके) ।

स्वतन्त्र, उत्तरदायी र पेशागत पत्रकारिताको अभ्यासलाई बलियो बनाउने उद्देश्यसहित सोमबारदेखि नेपालगन्जमा सञ्चार सम्वाद क्लब सञ्चालनमा आएको छ । नेपालगन्जको न्यूरोडमा स्थापना गरिएको क्लबको कार्यालयको प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

क्लबको उद्घाटनपश्चात् अध्यक्ष आचार्यले पत्रकारहरूलाई पूर्णरूपमा पत्रकार आचारसंहिताभित्र रहेर पत्रकारिता गर्न अनुरोध गर्दै पत्रकारको रक्षा, हकहितका लागि आफ्नो कार्यकालभर प्रेस स्वतन्त्रताको पूर्णरूपमा ग्यारेन्टी गर्ने बताएका थिए । काउन्सिलले जारी गरेको आचारसंहितालाई अध्ययन गरेर आफ्नो कर्म गरे कहिल्यै गल्ती नहुने भन्दै निर्वाचन पनि अगाडि आएकाले निर्वाचन आचारसहिंताका साथै पत्रकार आचारसंहिताअन्तर्गत रहेर सभ्य र निष्पक्ष भएर पत्रकारिता गर्नुपर्नेमा उनले जोड दिए ।

निष्पक्ष तरिकाले लोकतन्त्रलाई संस्थागत गर्ने उद्देश्यले काम गर्न क्लबलाई शुभकामना दिँदै अध्यक्ष आचार्यले काउन्सिल स्वतन्त्र र नियामक निकाय भएकाले गलत नगर्ने पत्रकारहरूले डराउन नपर्ने र गलत गर्नेहरूका बारेमा काउन्सिलले अनुगमन र निगरानी गरिरहने बताए । उनले सुधारात्मक विधि र दण्डनात्मक विधिबाट काउन्सिलले काम गर्दै आए पनि सुधारात्मक विधिलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गरे ।

निर्वाचन आयोग र प्रेस काउन्सिलले संयुक्त रूपमा निर्वाचनलक्षित आचरसंहिता र नियमित आचारसंहिताका बारेमा विभिन्न जिल्लाहरूमा सचेतनाका अभियान सञ्चालन गरिरहेको समेत उनले जानकारी दिए । आचार्यले पत्रकारिताको मर्म र मापदण्डभित्र रहेर काम गरिए पत्रकारले कुनै समस्या भोग्न नपर्ने स्पष्ट पारे । आफू नेपालगन्जकै भएकाले आफ्नै कर्मभूमिमा बोलाएर कार्यक्रम गरिएकोमा खुसी व्यक्त गर्दै उनले सञ्चार सम्वाद परिवारप्रति धन्यवाद दिए ।

समुदायस्तरसँग घुलमिल भएर गरेको काम स्मरण गर्दै उनले सञ्चार सम्वादले समाजमा कुनै आक्षेप नलाग्ने गरी जिम्मेवार पत्रकारिता गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारिताको विश्वास र विश्वसनीयता आचारसंहितामा आधारित हुने उल्लेख गर्दै सञ्चार सम्वादलाई विवादभन्दा टाढा रही तथ्य र सन्तुलनमा आधारित काम गर्न सुझाव दिए ।

पत्रकार समाजको ऐना भएकाले स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले सञ्चार सम्वादको सुरुवातले नेपालगन्जको पत्रकारिता क्षेत्रमा नयाँ इँटा थपिएको उल्लेख गर्दै आगामी दिनमा सम्वाद क्लबसँग सहकार्य गर्दै पत्रकारिताको गुणस्तर उकास्न महासंघ तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष निरज गौतमले सञ्चार सम्वादको स्थापनालाई नेपालगन्जको पत्रकारितामा एउटा नयाँ र सकारात्मक अध्यायको रूपमा मूल्यांकन गरेको उल्लेख गरे । क्लबका अध्यक्ष डा. डक्टप्रसाद धितालले क्लब नाफामूलक संस्था नभएर आम आवाजविहीन नागरिकहरूको आवाज बोल्ने प्लेटफर्म भएको बताए । उनले क्लबलाई राजनीतिक थलोका रूपमा प्रयोग हुन नदिएर स्वच्छ रूपमा समाजका आवाजहरू उठ्ने र उठाउने थलोका रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाए ।

पत्रकार आचारसंहिताको पूर्णरूपमा पालना गर्दै कुनै पनि विवादित विषयलाई स्थान नदिने र क्लबमार्फत यो क्षेत्र मात्रै नभएर प्रदेश तथा देशलाई नै सहयोगी भूमिका हुने गरी काम गर्ने उल्लेख गर्दै उनले क्लबको उद्देश्यअनुसार सत्यतथ्य, निष्पक्ष, जिम्मेवार र मर्यादित भएर जनताका पक्षमा सदैव काम गर्ने बताए ।

सम्वादले सम्वाद, सहकार्य र चेतनाको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उनले उपस्थित सबै अतिथि र सहभागीप्रति आभार प्रकट गरे । क्लबका महासचिव खिमप्रसाद घिमिरेले सञ्चालन गरेको र सचिव सन्तोष विष्टले स्वागत गरेको कार्यक्रममा नेपालगन्जका दर्जनौँ पत्रकारहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार