हिउँदे वर्षाले काँचो इँटामा क्षति



                                                                           फाइल तस्बिर

नेपालगन्ज ।

दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ । यहाँस्थित एउटा भट्टामा ५० लाखदेखि एक करोड थान तयार पारेर सुकाउन राखिएको काँचो इँटामा क्षति पुगेको इँटा व्यवसायी सङ्घ लुम्बिनीका उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए । उनकाअनुसार बाँकेमा मात्रै करिब रु १० करोडको इँटा नोक्सानी भएको छ ।

उपाध्यक्ष अधिकारीले काँचो इँटामा क्षति पुगेपछि यसको असर उत्पादनमा पर्ने भएकाले इँटाको भाउ बढने सङ्केत गरे ।  “उत्पादन भएको इँटामा क्षति भएपछि यसको प्रभाव इटाँको बजार भाउमा पनि पर्न सक्छ”, उनले भने। अधिकारीले काँचो इँटाको बिमा गर्न नमिल्ने भएकाले व्यवसायीले वर्षामा क्षति व्यहोर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पानीले भिजेका कुनै इँटा काम नलाग्ने बताए ।

जिल्लामा रहेका करिब ७० इँटा उद्योग र बर्दियामा रहेका करिब २३ इँटा उद्योगमा तयारी अवस्थामा रहेका काँचो इँटामा वर्षाले क्षति पु¥याएको छ । विगतमा माघ १ गतेपछि मात्रै इँटाभट्टा सञ्चालन हुने भएकाले अहिले इँटा पकाउन तयारी अवस्थामा रहेको समयमा पानी परेपछि क्षति भएको व्यवसायीले जनाएका छन् ।

करिब रु चार करोड लगानी रहेको इँटा उद्योगमा ३०० हाराहारीमा जनशक्ति छन् । एउटा इँटालाई रु १५ पर्छ । बाँकेको नेपालगञ्जबाहेक खजुरा, जानकी, नरैनापुर, डुडुवा, राप्तीसोनारीलगायत स्थानमा इँटाभट्टा सञ्चालनमा रहेका छन् । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार