नेपालको पहिलो घोषित सहिद लखन थापा मगरलाई मृत्युदण्ड दिइएको १९३३ सालदेखि जेनजी आन्दोलन भएको २०८२ साल भदौसम्मको डेढ सय वर्षको अन्तरालमा नेपालमा घोषित सहिदहरूको सङ्ख्या १५ हजार नाघेको छ ।
नेपालगन्ज ।
नेपालको पहिलो घोषित सहिद लखन थापा मगरलाई मृत्युदण्ड दिइएको १९३३ सालदेखि जेनजी आन्दोलन भएको २०८२ साल भदौसम्मको डेढ सय वर्षको अन्तरालमा नेपालमा घोषित सहिदहरूको सङ्ख्या १५ हजार नाघेको छ । २०८० साल पुससम्म १२ हजार एक सय ९७ जनाको नाम सहिदको सुचीमा थियो ।
सोही वर्ष पुस २४ गते नेपाल सरकारले सहिदहरूको सुचीमा नामहरू थप्ने निर्णय गर्याे । सोहीअनुसार नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गरेको भन्दै राजपत्रमा २०८० फागुन २४ गते सहिदको सुचीमा दुई हजार ६ सय ७४ जनाको नाम थपेर रापत्रमा प्रकाशित गरेको थियो ।
सोही मितिमा त्यसअघि विभिन्न मितिमा सहिद घोषणा गरिएका दुई सय ६३ जनाको नाम पनि थपिएको थियो भने १८ जनाको नाम दोहोरिएको भन्दै हटाइएको थियो । राजपत्रमा प्रकाशित सूचनाअनुसार पछिल्लोपटक भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई पनि सहिद घोषणा गरिएको छ । यसरी हेर्दा हालसम्म नेपालमा घोषित सहिदहरूको सङ्ख्या १५ हजार एक सय ६१ हुन आउँछ ।
नेपालको राजनीतिक इतिहासमा पहिलो सहिद लखन थापा मगर जंगबहादुर राणाको निरंकुश शासनविरुद्ध विद्रोह गर्दै जनतालाई संगठित बनाउने काम गरेको भन्दै वि.सं. १९३३ फागुन २ गते मनकामना मन्दिर परिसरमा रूखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । लखन थापाले जंगबहादुरलाई हटाएर प्रजातान्त्रिक युग ल्याउने उद्घोष गरेका थिए ।
थापालाई नेपाल सरकारले २०५६ सालमा सहिद घोषणा गरेको थियो भने २०७२ असोज ३ गते औपचारिक रूपमा नेपालको प्रथम सहिदको दर्जा प्रदान गरेको थियो । अहिले मनाइने गरिएको सहिद दिवस भने २००७ सालको क्रान्तिको जग बसालेको १९९७ सालमा राणा सरकारले विद्रोेहीहरूको गरेको हत्याको सम्झनामा मनाइ थालिएको हो ।
राणा शासनविरुद्ध आवाज उठाएका चार जना सचेत युवाहरूका् हत्या गरिएको माघ १३ देखि १५ गतेसम्मको बलिदानपूर्ण समयको स्मरण गरिराख्न माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । राणा साशनविरुद्ध आवाज उठाइरहेका नेपाल प्रजा परिषद् सदस्यहरूमध्ये शुक्रराज शास्त्री माघ १० गते बकाइनाको रूखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो भने धर्मभक्त माथेमालाई कुटपिट गरेर मरणसन्न मनाई अन्तमा झण्ड्याएर माघ १३ गते मारिएकोे थियो ।
यसैगरी दशरथ चन्दलाई माघ १४ गते राती शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो भने गंगालाल श्रेष्ठलाई पनि उही दिन शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । ती चारै जना सहिदहरूले प्रजातन्त्रका पक्षमा जनचेतना फैलाउने काम गरेका थिए भने राणाहरूको अत्याचारविरुद्ध बोलेका थिए ।
उनीहरूलाई दिइएको मृत्युदण्डपछि जनतामा ठूलो आक्रोश पैदा ग¥यो, यसले २००७ सालको क्रान्तिलाई गति दियो । नेपाली कांग्रेसको मुक्ति सेना, राजा त्रिभुवनको भारत शरण हुँदै दिल्ली सम्झौतापछि राणा शासन ढलेको थियो भने फागुन ७ गते प्रजातन्त्रको घोषणा भएको थियो ।त्यसयता २०४६ को जनआन्दोलनका बेला पनि १९ जना नागरिकहरूको बलिदान भयो ।
२०५२ देखि २०६३ को माओवादी जनयुद्धमा हजारौँले बलिदान दिए । विभिन्न सरकारहरूले पटक–पटक घोषणा गर्दै ८ हजार भन्दा बढी सहिदहरू माओवादी जनयुद्धकै क्रममा सहादत प्राप्त गरेकाहरू घोषित भएका छन् । २०६२–०६३ साको जनआन्दोलनमा पनि २६ जनाले आन्दोलनकै क्रममा शहादत प्राप्त गरेका थिए । त्यसपछि भएका मधेस आन्दोलन, थारू, लिम्बु, नेवार लगायतका पहिचान आन्दोलनहरूमा सयौँले ज्यान गुमाएका छन् ।
पछिल्लो पटक २०८२ भदौ २३ र २४ गते भ्रष्टाचार, नातावाद, सामाजिक सञ्जाल प्रतिबन्ध र सुशासनको माग राख्दै युवा पुस्ता (जेन जेड) पुस्ताले गरेको आन्दोलनमा भदौ २३ गते एकै दिन करिब दुई दर्जन व्यक्तिको ज्यान गयो । २३ र २४ गते भएको आन्दोलनमा क्रममा ज्यान गुमाएका ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ । सरकारले सहीद घोषणा गरेका व्यक्तिका परिवारलाई १० लाख राहत दिने गरेको छ।









प्रतिक्रिया दिनुहोस्