जेनजी आन्दोलनपछि फागुन २१ गतेका दिन हुने भनेर घोषणा भएको निर्वाचन समयमा हुँदैन कि भन्ने आशंका उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म पनि यकिन थिएन । चुनावको निर्धारित कार्यतालिकाअनुरुप नै उम्मेदवारी दर्ता, उम्मेदवारमाथिको दाबी विरोध र अन्तिम नामावली प्रकाशन भयो । केही राजनीतिक समूहहरूले निर्वाचनलाई बहिष्कार गर्ने घोषणा गरेको बेला चुनावका अहिलेसम्म शान्तिपूर्ण रूपमा चुनावी कार्यक्रमहरू अघि बढिरहँदा अब देश चुनावी अभियानमा प्रवेश गरिसकेको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँके नेपालगन्जका सविन थापा र उनका साथीहरू प्रायः क्याफेमा भेटिइरहन्छन् । पहिले पहिले त्यसरी भेट्दा फिल्म, संगीत र अरु कुरामा गफ गरिबस्ने उनीहरू अहिले प्रायः राजनीतिक विषयमा अल्झिइरहेका हुन्छन् । ‘सामाजिक सञ्जालभरी चुनावकै कुरा छ । उम्मेदवारहरूले अनेक नाटक देखाइरहेका हुन्छन् । कुरा नगरौँ भने पनि कतै न कतैबाट राजनीतिकै वरिपरि गफ हुन्छ,’ सविनले भने ।
चिया पसलहरूदेखि मानिसहरू जमघट हुने ठाउँमा प्रायः मानिसहरू उम्मेदवार राजनीतिकै विषयमा तर्कवितर्क गरिरहेका हुन्छन् । कसैले दिक्दारी व्यक्त गरिरहेका हुन्छन् भने कसैले आफ्नो मन परेका उम्मेदवारका पक्षमा तर्कवितर्क सुनाइरहेका । जेनजी आन्दोलनपछि फागुन २१ गतेका दिन हुने भनेर घोषणा भएको निर्वाचन समयमा हुँदैन कि भन्ने आशंका उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म पनि यकिन थिएन ।
झन् चुनावको मुखमै विघटित संसद्मा सबैभन्दा ठूलो दल नेपाली काँगे्रसभित्र विशेष महाधिवेशनलाई लिएर उत्पन्न आन्तरिक किचलोले चुनावको कार्यतालिका प्रभावित हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त भइरहेको थियो । तर, त्यस्तो केही भएन । चुनावको निर्धारित कार्यतालिकाअनुरुप नै उम्मेदवारी दर्ता, उम्मेदवारमाथिको दाबी विरोध र अन्तिम नामावली प्रकाशन भयो ।
केही राजनीतिक समूहहरूले निर्वाचनलाई बहिष्कार गर्ने घोषणा गरेको बेला चुनावका अहिलेसम्म शान्तिपूर्ण रूपमा चुनावी कार्यक्रमहरू अघि बढिरहँदा अब देश चुनावी अभियानमा प्रवेश गरिसकेको छ । सुरुमा निर्वाचनप्रति आशंका हुनुको मुख्य कारण आन्दोलनका बेला सरकारमा रहेको दल नेकपा एमालेको अडान थियो ।
उसले संसद् विघटन र सुशिला कार्की नेतृत्वको सरकार गठनलाई असंवैधानिक घोषणा गर्दै त्यसविरुद्ध अदालतमा रिट दायर गरेको थियो भने अहिलेको सरकारले चुनाव गराउन नसक्ने प्रचार गरिरहेको थियो । सरकारले पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौँ छाड्न नपाउनेगरी स्थानहद तोकेको थियो । यी सबै कारणले निर्वाचन समयमा हुने हो कि होइन भन्ने आशंका व्यक्त भइरहेका थिए ।
सरकारले ओलीमाथिको स्थानहद हटाएसँगै उनी र उनको दल एमालेले पनि निर्वाचनका विरुद्धमा अभिव्यक्ति दिन कम गरे । अन्ततः निर्वाचनका कार्यक्रममा सहभागी भए । काँग्रेसभित्रको विवाद पनि शान्त भयो । यससँगै देशले चुनाव हुने सुनिश्चिता बढायो । अहिले राजनीति दल तथा उम्मेदवारहरू चुनावी प्रचारका लागि रणनीति बनाउने, घोषणापत्र तयारी गर्ने र मतदाताहरूलाई भेट्ने गरिरहेका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका केपी शर्मा ओलीले आफ्नो चुनावी प्रचार अभियान तीव्र पारेका छन्।
उक्त क्षेत्रमा ओली हराउने घोषणा गरेर उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई ओलीको मुख्य प्रतिस्पर्धी मानिएको छ । जसले गर्दा झापाको चुनावी सरगर्मीले देशभरी नै चर्चा पाइरहेको छ ।
सामाजिक सञ्जालमा भइरहेको चुनावी चर्चामा पनि झापा–५ कै चर्चा अगाडि रहेको छ । ओलीले झापामै गएर उम्मेदवारी दर्ता गराउँदै चुनावी अभियान सुरु गरेका थिए । उनले ओलीले जेनजी आन्दोलनमा आगजनी र तोडफोड गरिएका संरचनाको अवलोकन गर्दै चुनावी अभियान सुरु गरेका थिए । त्यसले ओलीले आफ्ना अभिव्यक्तिमा पनि जेनजी आन्दोलनमा भएको विध्वंशको आलोचना गर्दै त्यसमा बालेनलाई नै जोड्ने प्रयास गरिरहेका छन् ।
ओलीले प्रायः भेटघाट तथा कार्यक्रमहरूमा भेलामा आफूले राजनीतिक स्थिरता र विकासको एजेन्डा अघि सारिरहेका बेला जेनजी आन्दोलनका नाममा विध्वंश मच्चाइएको आरोप लगाउँदै आएका छन् । ओलीले आफ्ना प्रायः अभिव्यक्तिहरूमा बालेनलाई नै निशानामा राखेर टीकाटिप्पणीहरू गरिरहेका छन् । उनले बालेनलाई जोडेर झापामा सफा संस्कृति रहेको र मधेशमा त्यस्तो संस्कार नरहेको, बालेनले जिते सुकुम्बासीहरूलाई बुलडोजर लगाएर हटाउने, नारायण गोपालले गाएको गीतको बोललाई उद्धृत गरेर ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ जस्ता टिप्पणीहरू गरिरहेका छन् ।
यता बालेनले भने आफ्ना अभिव्यक्तिहरूमा सिधासिध ओलीप्रति लक्षित कुनै टिप्पणी गरेको पाइएको छैन । उनले झापामा घर भाडामा लिएर चुनावी प्रचार अभियानको केन्द्र बनाएका छन् । काठमाडौँ नगरप्रमुख पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ताको अघिल्लो दिन जनकपुरमा आयोजित सभाबाट चुनावी अभियानको सुरुवात गरेका बालेन उम्मेदवारी दर्ता गराउन जाँदा झापामा सडकमा मानिसहरूको ठूलो उपस्थिति देखिएको थियो । उक्त भिडले बालेनको प्रभाव झापा ५ मा कमजोर नरहेको टिप्पणीहरू सामाजिक सञ्जालमा भइरहेका छन् ।
उम्मेदवारीपछि एकदिन झापामा सुभेच्छुकहरूसँग भेटघाट गरेका बालेन त्यसपछि इलाम, ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुमका लगायतका विभिन्न क्षेत्रमा पुगेर समर्थकलाई भेट गरेका थिए । त्यसपछि विराटनगर विमानस्थल हुँदै काठमाडौँ पुगेका बालेन केही दिनअघिमात्रै नेपालगन्ज विमानस्थलमा ओर्र्लिएर लुम्बिनी प्रदेशका बाँके र बर्दियाका जिल्लामा पुगेर सुदूरपश्चिम पसेका बालेन हाल सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पुगिसकेका छन् ।
बालेनले जनकपुरमा भएको सभामा बोल्दै आफूलाई असल मानिस आउँदैछ भनेर भोट दिन आग्रह गरेका थिए । उनले संघीयतालाई अझै बलियो बनाउने पनि उक्त कार्यक्रममा बताएका थिए । छोटो सम्बोधन गरेका उनले कसैप्रति व्यक्तिगत टिप्पणी गरेका थिएनन् । सुशासन र परिवर्तनलाई आफ्नो मुख्य मुद्दाका रूपमा प्रस्तुत गरेका थिए । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार र आफ्नो प्रमुख अनुहारका रूपमा प्रचार गरिरहेको छ ।
यता नेपाली काँग्रेसका सभापति रहेका गगन थापालाई काँग्रेसले औपचारिक रूपमा भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेको छ । थापाले यसपटक काठमाडौँको आफ्नो सुरक्षित मानिएको क्षेत्र नम्बर ४ बाट उम्मेदवारी नदिएर सर्लाहीको क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका छन् ।वारेसमार्फत उम्मेदवारी दिएका थापा आइतबार मात्रै आफ्नो निर्वाचन क्षेत्रमा पुगेर सर्लाही–४ का युवाको भर परेर आफूले जीवनकै अत्यन्त ठूलो राजनीतिक निर्णय लिएको बताएका थिए ।
काँग्रेसले पार्टीलाई बदलिएको काँग्रेसका रूपमा प्रचार गर्दै एकता, सुशासन, समावेशिता र राष्ट्रिय रूपान्तरणका एजेन्डा अघि सारिरहेको छ ।यो निर्वाचनमा गगन थापालाई काँग्रेसले ‘देश बदल्ने’ नेताको रूपमा प्रस्तुत गरिरहेको छ । काँग्रेसले ‘अबकी बार गगन सरकार’को नारा नै दिइरहेको छ । यसैगरी पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पाटी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले रूकुम पूर्व निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनले विकासलाई प्राथमिकता दिने, पार्टी पहिलो शक्ति बन्ने र दाबी गरिरहेका छन् । उनले यसपटक आफू अन्तिमपटक चुनाव लड्न आएको पनि बताएका छन् । रूकुममा उनले भनेका थिए, ‘एक थान सांसद जित्न रूकुम पूर्व आएको होइन, यो मेरो अन्तिम चुनाव हो ।’ उनले रूकुम पूर्वमा माओवादी जनयुद्धसँग जोडिएका सहीद परिवार, प्रभावित स्थानीयसँग पनि भेटघाट गरेका थिए ।
यसरी मुख्य पार्टीका मुख्य नेताहरूले चुनावी अभियानमा सक्रिय हुँदा अब सबैको ध्यान चुनावतिर नै केन्द्रित भएको देखिन्छ । स्थानीयस्तरमा पनि उम्मेदवारहरूले आफ्ना पार्टीका अंगहरू तथा मतदाताहरूसँग भेटघाटको क्रम तीव्र बनाएका छन् । उनीहरूले विभिन्न तरिका अपनाउँदै आफ्ना एजेण्डा बताउने र मतदाताहरूलाई प्रभावित गर्ने पर्यत्न गरिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्