काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटनमा अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशाययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड र्दिएका हुन् ।

त्यस अवसरमा उनले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रकोतर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरु तयार रहेको बताए ।
नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले जलविद्युत्को विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने बताएका हुन् ।
अध्यक्ष ढकालले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरु जस्तै खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडिपी तयार रहेकोसमेत उल्लेख गरे । उनले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट÷स्रोतमा सम्पन्न गर्ने गरेको बताए ।
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्