शिक्षामा सिर्जनात्मक छट्पटी



प्रचलित नियम कानुन र परम्पराले मानिसलाई वैध हुन सहयोग गरेको छ न कि वैज्ञानिक । आज्ञाकारी बनाएको छ न कि अन्वेषक । हस् भनेर चाकरी गर्नेहरू उत्पादन गरिरहेको छ न कि पथप्रदर्शक । सन्देह नगर्दा कतिपय ठूला मानिसहरू पनि अन्धभक्तहरूद्वारा निर्माण गरेको परम्पराका पालनकर्ता हुन पुगेका देखिन्छन्् । दार्शनिकको रूपमा आफ्नो पहिचान बनाएका सुकरातले समेत कतै आफ्ना रचनाहरूमा पुरुषहरूको भन्दा महिलाका दाँत थोरै हुन्छन् भनेर लेखेको कारणले आलोचनाको पात्र हुनु परेको थियो ।

जीतबहादुर शाह

साना बालबालिकाहरू स्वभावले पनि जिज्ञासु हुन्छन् । तीन वर्षकी दीक्षा पनि असाध्यै जिज्ञासु थिइन् । आफ्नो मम्मी काम विशेषले बाहिर निस्कदा कहाँ जाने, किन जाने, त्यो काम किन गर्ने जस्ता जिज्ञासाहरू अनवरत राखिरहन्थिन् । मम्मीको हरेक उत्तरपछि त्यो काम किन गर्ने भनेर जिज्ञासा राख्थिन् । बाबालाई पनि उनी यस्तै जिज्ञासा राख्ने गर्थिन् । एकदिन भने हतारहतारमा उनका बाबामम्मी घरबाहिर निस्कन लागेको समयमा पहिलेजस्तै जिज्ञासा राख्दा मम्मीले ‘जहिले पनि बाहिर निस्कदा यो केटीले अर्थ न वर्थका प्रश्न सोधेर हैरान बनाउँछे’ भनेर नराम्ररी हप्काउछिन् । बाबाले मौन समर्थन गर्छन् । त्यसपछि भने दीक्षाले यस्ता जिज्ञासाहरू बाबामम्मीसँग राख्दिनन् । बाबामम्मीसँग मात्र होइन अरुसँग पनि यस्ता जिज्ञासाहरू राख्न छोडेकी छिन् दीक्षाले । दीक्षा अब पहिले जस्तो जिज्ञासु र चञ्चल पनि छैनन् । एकोहोरो नबोेलीकन टोल्लाएर बसिरहने स्वभावको अस्वभाविक किसिमले विकास भइरहेको छ उनीमा । यो पङ्क्तिकारको छोरीले भने अनुसार उनले एउटा परीक्षामा प्रश्नपत्र पढिसकेपछि केही प्रश्न नपढेको पाठबाट आएको थाहा पाएर विषय शिक्षकसँग सोधिछन् । एक्सक्यूज मी सर, यो प्रश्न त नपढेको पाठबाट आएछ । शिक्षकले झर्कदै जवाफ दिएछन्, ‘चुप, खुरुखुरु गर्ने । अरु मलाई थाहा छैन ।’ छोरीकै साथीले पनि शिक्षकले पढाउँदै गर्दा विषयवस्तु स्पष्ट नभएपछि सिटबाट उठेर ‘एक्सक्यूज मी सर, एउटा प्रश्न थियो’ भन्दा शिक्षकले ‘पाठ सकिएपछि मात्र सोध्ने’ भनेर पाठ निरन्तर अघि बढाए । घण्टी लाग्यो । शिक्षक घण्टी लागेपछि बाहिरिए कक्षाबाट । छोरीको साथीको प्रश्न सोध्ने धोको पूरा भएन । यस्तै यस्तै घटनाहरू पछि अब उनीहरूले पनि शिक्षकलाई प्रश्न सोध्न र जिज्ञासा राख्न त्यति मन नगर्ने भइसकेका छन् । प्रश्न र जिज्ञासा राख्ने क्रममा अपमानित भएर खुम्चिनु परेको पीडा जिज्ञासा राख्ने सबै विद्यार्थीहरूले व्यहोरेको अवस्था छ । यस्तो क्रम दोहोरिरहेमा दीक्षाको जस्तै कुण्ठा र निरासा कलिला नानीहरूमा चुलिदै जाने गर्दछ ।

जिज्ञासाले सन्देहको प्रतिनिधित्व गर्दछ भने सन्देहले विज्ञानको अस्तित्वलाई जीवन्त बनाउछ । बालबालिकाका जिज्ञासाहरू भविष्यमा हुने नयाँ आविष्कारसँग जोडिएका हुन्छन् । यसका लागि बालबालिकामा प्राकृतिक रूपमा भएको जिज्ञासु स्वभावलाई जगेर्ना गर्न सक्नुपर्दछ । उसका जिज्ञासाहरूको समाधान आफूबाट हुन सकेन भने बाटो देखाइदिनुपर्दछ । सन्देह राख्नु र अविश्वास गर्नु मलाई लाग्छ हरेक बालबालिकाको स्वभाव पनि हो र अधिकार पनि । तथापी हामीमध्ये धेरैले बालबालिकालाई जिज्ञासा राख्नका लागि प्रोत्साहित गर्दैनौँ । जिज्ञासा राख्ने र प्रश्न गर्नेहरू प्रतिको हाम्रो दृष्टिकोण समेत बक्र हुने गर्दछ । त्यसैले पनि जिज्ञासा र प्रश्नहरूले हाम्रो परिवेशमा अवसर पाउँदैनन् । हामीलाई परम्परा धान्नमै भ्याइनभ्याइ छ । कुनै जिज्ञासुले सय वर्ष अघि अन्वेषण गरेका कुराहरू घोक्नघोकाउन मै प्रतिष्पर्धा छ । यस्तो परिवेशमा नविनताले स्थान पाओस् पनि कसरी ? प्रचलित नियम कानुन र परम्पराले मानिसलाई वैध हुन सहयोग गरेको छ न कि वैज्ञानिक । आज्ञाकारी बनाएको छ न कि अन्वेषक । हस् भनेर चाकरी गर्नेहरू उत्पादन गरिरहेको छ न कि पथप्रदर्शक । सन्देह नगर्दा कतिपय ठूला मानिसहरू पनि अन्धभक्तहरूद्वारा निर्माण गरेको परम्पराका पालनकर्ता हुन पुगेका देखिन्छन्् । दार्शनिकको रूपमा आफ्नो पहिचान बनाएका सुकरातले समेत कतै आफ्ना रचनाहरूमा पुरुषहरूको भन्दा महिलाका दाँत थोरै हुन्छन् भनेर लेखेको कारणले आलोचनाको पात्र हुनु परेको थियो ।सायद यो उनको परम्परागत सोचको उपज हो क्या रे । नत्रभने आफ्ना र आफ्ना २ वटी पत्नीका दाँतहरू गन्ती गरेर लेखेको भएपनि यसरी आलोचना सहन गर्नु पर्ने थिएन होला । त्यसैले मानिसहरू भन्छन्– आँखा चिम्लेर विश्वास गर्नु भनेको अन्धविश्वास हो । आँखा उघारेर अविश्वास गर्नु भनेको विज्ञान हो । शिक्षाले अन्धविश्वासलाई होइन कि विज्ञान, परीक्षण र प्रमाणलाई उचित किसिमले सम्बोधन गर्नुपर्दछ । यसका लागि बालबालिकाहरूका जिज्ञासा र प्रश्नहरूको सम्बोधन उचित किसिमले गरिनुपर्दछ । तथापि यो काम हाम्रो शिक्षाले गर्न सकिरहेको छैन । केही वर्ष पहिलेको कुरा हो, बाँकेको एउटा माध्यमिक विद्यालयमा एकजना नवनियुक्त शिक्षकलाई कक्षाकोठामा विद्यार्थीहरूको बसाइ व्यवस्था मन नपरेपछि उनले पहिले भएको भन्दा फरक किसिमले विद्यार्थीको बसाइ व्यवस्था गर्दछन् । विद्यार्थीहरूले पनि त्यो बसाइँलाई सहजरूपमा स्वीकार गर्दछन् ।

अर्को पिरियडमा शिक्षण गर्न जाने पुरानो र अनुभवि शिक्षकलाई त्यो कुरा मन पर्दैन र बसाइ व्यवस्था पुरानैमा बदल्छन्् । त्यतिमात्र होइन ती शिक्षकले प्रधानाध्यापककै सामु उक्त बसाइ व्यवस्था परिवर्तन गर्ने शिक्षकलाई चर्कोे स्वर गरेर हप्काउछन् । केही गरुँ भनेर जागिरमा प्रवेश गरेका उक्त नवनियुक्त शिक्षकको पहिलो गाँसमै ढुङ्गा लागेको अनुभूति हुन्छ । यो पाराले केही गर्न चाहने नयाँ सोचका मानिसमा पनि नयाँ विरुवाहरू रोप्नेमा भन्दा पुरानै विरुवाहरूको संरक्षण गर्नुमा आफ्नो भलो र सुरक्षा देख्छन् । हाम्रा कतिपय नविन खोजहरू पनि यसरी नै बन्ध्याकरण गरेर भित्रभित्रै गुम्सिरहेको छ । नयाँ–नयाँ अध्ययन एवम् तालिमबाट अद्यावधिक भएका शिक्षकहरू विद्यालयमा केही गर्न खोजेपनि पुरानाहरू खिस्सी गर्न थाल्छन्– नयाँ जोगीले बढि खरानी घस्छ भनेर । केही शैक्षिक सामग्री र पाठ्योजनाका साथ कक्षाकोठामा प्रवेश गर्दा पनि कतैबाट उत्साह हुँदैन, बरु कुरा काट्ने गरिरहन्छन् पुरानाहरू । अन्तत प्रतिकुलतामात्रै हात लागेपछि नयाँहरू पनि पुराना जस्तै हुन्छन् क्रमशः । यसैले गर्दा पनि नविनताको वर्चश्व हुनु पर्ने शिक्षण सिकाइ क्रियाकलापमा परम्पराकै हालिमुहाली देखिन्छ । अल्बर्ट आइस्टाइनले भनेझै ‘धेरै मानिसहरू काम पुरानै गर्छन तर नतिजा नयाँ खोज्छन् । यसरी पुरानै तरिकाबाट काम गरेर नतीजा नयाँ खोज्नु मानवीय पागलपन हो ।’ आनीबानी, दिनचर्या, स्वभाव, आचरण, दैनिक कार्यतालिका आदि यथावत राख्दै परिणाम भने फरक चाहने हाम्रो प्रवृत्तिले हामी माथि उठ्न सकिरहेका छैनौँ । हाम्रा शिक्षणसिकाइ क्रियाकलापका अधिकांश पाटाहरू यही मनोवृत्तिको सिकाइ भइरहेका छन् । यदाकदा यो मुलुकमा काम गर्ने शिक्षक, प्रधानाध्यापक, शिक्षामा काम गर्ने प्राविधिकहरू लगायत शिक्षाका सरोकारवालाले आ–आफ्नो कार्यक्षेत्रमा नविनता खोजेको देख्न सकिन्छ । तलव खाएर महिना धकेल्नु भन्दा केही गरेर आफ्नो अस्तित्वको खोजी गर्ने क्रममा छन् कतिपय बेतनभोगीहरू पनि । तथापि प्रोत्साहनको वातावरण भने फक्रिन सकेको छ्रैन । कतैबाट वा कसैबाट केही नविन कर्म गरियो भने पनि उक्त कर्म ठिक हो वा बेठिक भन्ने कुरा समेत कसैले पहिचान गरेको जस्तो पनि लाग्दैन ।

बरु राम्रो काम गर्ने क्रममा कतै अन्तरकुन्तरमा एकाधकामहरू अनपेक्षित देखिए भने उसका हजार राम्रा कामहरूको तुलनामा एकाध अनपेक्षित कामहरूको तौलले मूल्यांकनमा आकाशपाताल प्रभाव पार्दछ । त्यसैले पनि भुक्तभोगीहरू भन्ने गर्दछन्–‘तपाईँ जतिसुकै राम्रो काम गर्नुहोस् वा जतिसुकै इमान्दार बन्नुहोस्, यो समाज तपाईको एउटा गल्तीको प्रतीक्षा गरिरहेको हुन्छ ।’ कतिपय नयाँ कर्म गर्नेहरू अहिले यस्तै यस्तै दृष्टिकोणको सिकार भइरहेको अवस्था छ । परम्परालाई शिरोधार्य गरेर गरिने कामहरूमा नविनता भेट्न गाहे हुन्छ । काममा नविनता ल्याउनका लागि कहिलेकाही प्रचलित नियम कानुनको बर्खिलापमा पनि उभिनु पर्ने हुन्छ । परम्पराको त झन् खाँटी दुष्मण बन्नु पर्ने हुन्छ । त्यस्तो अवस्थामा कामको परिणाम अपेक्षित भयो भने त पहिले साथ नदिएकाहरूले समेत पुच्छर सेपेर साथ दिन आउछन् । नतीजा अनपेक्षित भयो भने आफ्नै शुभेच्छुकहरूले समेत धारे हात लगाएर सत्तोसराप गर्न पछि पर्दैनन् । त्यसैले नविनताका लागि जोखिम खोज्ने मानिसले नै सम्पूर्ण जवाफदेहिता बहन गर्नु पर्ने हुन्छ । व्यक्तिगत भन्दा पनि संस्थागत विकासको क्षेत्रमा नविनता खोज्नु झनै जोखिमपूर्ण हुने गर्दछ । नेतृत्व र व्यवस्थापनका क्षेत्रमा जतिसुकै नविनतम् सिद्धान्त र शास्त्रका कुरा गरे पनि नविनता खोज्ने मानिसहरू त्यो क्षेत्रमा पनि अल्पमतमै रहने गर्दछन् । शैक्षिक क्षेत्रले पनि त्यही हविगत ब्यहोरिरहेको छ । जिज्ञासाहरूको प्रवद्र्धन र सम्मान भनेको गुणस्तरीय शिक्षाको परिचायक हो । जिज्ञासु विद्यार्थीहरूको सङ्ख्या बढाउनु भनेको वैज्ञानिक र अन्वेषकहरू बढाउनु हो भने अन्धभक्त र चाकरीबाजहरूको न्यूनीकरण गर्नु हो । यो तर्फ सरकारहरू उदासिन छन् । यस्तै सोचको भुमरीमा हाम्रा वैज्ञानिक एवम् पूर्व शिक्षामन्त्री महाबीर पुन पनि परेका छन् । कारण उनी केही गर्न खोज्छन्, तथापि गर्न नदिनेहरू जुर्मुराएर उनलाई अघि बढ्न दिदैनन् र दिएनन् । कतिपय विद्यार्थीहरूले स्थानीय स्तरमा कतिले पानी जहाज बनाएका छन्, कतिपयले हवाइजहाजका नमूनाहरू बनाएका छन्, कतिपय नयाँ प्रविधि जडान गरेर नयाँ किसिमबाट गाडी र मोटरसाइकल बनाएका छन् । त्यस्ता केही गर्नेहरूलाई मिडियाले प्रचारप्रसार पनि गरेको देखिन्छ तथापि सरकारहरू यस्ता काममा आँखाकान बन्द गरेर निदाएको अवस्था छ । यसबाट प्रष्ट हुन्छ कि सरकारहरूसँग केही नयाँ काम गरौँ भन्ने सिर्जनात्मक छटपटी छैन ।

हामी जतिसुकै परम्पराका पक्षधर भएपनि शिक्षामा नविनता खोज्नुको विकल्प छैन । यो कुरा विभिन्न तहका सरकार, विद्यालय र विश्वविद्यालय लगायत शिक्षाका संस्थागत निकायहरूले पनि बुझ्नु पर्ने जरुरी भइसकेको छ । नविनता खोज्ने मानिसहरूलाई देशविदेश घुमाएर उसलाई थप नविनता खोज्न प्रेरित गर्ने समय आउन त शिक्षामा अझ धेरैपर्खनुपर्छ होला । तथापि त्यसो गर्न नसकेपनि एउटा मानिसले जोखिम मोलेर नविनताको खोजी गरिसकेपछि त्यस्ता कार्यहरूलाई आफ्ना प्रवचन, प्रकाशन र वेभसाइटहरूमा स्थान दिनका लागि शिक्षाका आधिकारिक संस्थागत निकायहरूले पहल गर्नुपर्छ जस्तो लाग्छ । टेण्डर, सूचना, नियम र निर्देशिकाहरूले भरिएका प्रकाशन र वेभसाइटहरूमा सर्च गर्दा शैक्षिक क्षेत्रका नविनताहरू पनि भेटिने अवस्थाको सिर्जना हुन सक्यो भने राम्रै हुन्छ । त्यस्ता प्रकाशन र वेवसाइटहरूका अध्येता र उपभोक्ताहरू नविन सोचका मानिसहरू पनि हुने गर्दछन् जसलाई उपयुक्त प्रयासको रूपमा लिन सकिन्छ । बालबालिकाहरू स्वभावैले जिज्ञासा र कौतुहलताले भरिएका हुन्छन् । यसकारण कि उनीहरू यो दुनियाँमा आएको धेरै समय भएको हुँदैन र धेरै कुराको जानकारी पनि उनीहरूलाई हुँदैन । यस्तो अवस्थामा उनीहरूको चिन्तनको दायरा पनि हाम्रो भन्दा फरक हुन सक्छ । किनभने उनीहरू हामीजस्तो पुराना परिपाटीसँग अभ्यस्त हुँदैनन् । यस्तो अवस्थामा उनीहरूका जिज्ञासा, कौतुहलता र उत्सुकताहरूलाई अभिभावक, शिक्षक र सरकारमा काम गर्नेहरूले उचित किसिमबाट जगेर्ना र सम्बोधन गर्न सक्नुपर्दछ । पुराना कुरा घोकाउने र त्यही घोकेको कुरालाई प्रमाणित गर्नका लागि लिइने परीक्षाले विद्यार्थीहरूलाई नयाँतिर होइन कि पुरानैतिर डो¥याइरहेको हुन्छ । पुरानातिर डो¥याउने मात्र होइन, नविनतालाई समेत निमोठिरहेको हुन्छ । त्यही भएर नै कतिपय नविनता खोज्नेहरू घर, विद्यालय र समुदायबाट विद्रोह गरेर पनि आफ्नो बाटोमा हिडिरहेका हुन्छन्। अवस्था अहिले पनि त्यस्तै छ, अनुसन्धानको क्षेत्रमा कुल बजेटको एक प्रतिशत बजेट विनियोजन गर्ने कुरा उठाउदा वैज्ञानिक महावीर पुन एक्लिएको अवस्था हामीले देखेकै हो । अहिले पनि कुनै पनि सरकारी र गैरसरकारी संघसंस्थाहरूले अन्वेषण र अनुसन्धानका लागि सुक्को बजेट हुँदैन । अनि यसरी हुन्छ त सिर्जनात्मक छट्पटीहरूको सम्बोधन ? बाँकी जो हजुरहरूको मर्जी !

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार