नन्दराम जैशी । सुर्खेत ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा यो आयोजना निर्माण भएको हो । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए ।
उनका अनुसार अब उक्त प्रसारण लाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । त्यसका लागि बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेत जिल्लाको सुब्बाकुनामा निर्माण भएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण गरिने उनले बताए ।
परीक्षणपश्चात् प्रसारण लाइन सञ्चालनमा ल्याइने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस क्रममा प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान र गाईवस्तुलाई टावर नजिक जान नदिन सुझाव दिइएको छ । खतराका संकेत देखाइएका विद्युत्का संरचनालाई नछुन र बालबालिकालाई समेत टावर नछुन र नजिक जान नदिन प्राधिकरणले आग्रह गरेको छ ।
परीक्षणका क्रममा कुनै ठाउँमा झिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिन सुझाव दिइएको छ । गत महिना कर्णाली आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समेत १३२ केभी प्रसारण लाइन सञ्चालनसँगै कर्णालीको औद्योगिकरण सुरु हुने र कर्णाली विकासको गतिमा अघि बढ्ने बताएका थिए ।
कर्णालीको निरीक्षण भ्रमणका क्रममा उनले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको निरीक्षण गर्दै छिट्टै प्रसारण लाइन चार्जमा ल्याउन उनले निर्देशन दिएका थिए । उनको निर्देशन बमोजिम तार तान्ने काम पनि द्रुत गतिमा भएको थियो । कर्णालीमा १३२ केभी प्रसारण लाइन पहिलो पटक सञ्चालनमा आउन लागेको हो ।
तोकिएकै मितिमा विद्युत प्रसारण लाइन सञ्चालनमा ल्याउन नसकिए पनि निर्माण कार्य सम्पन्न भएकोमा आयोजना प्रमुख रवि चौधरीले खुसी व्यक्त गरे । उनका अनुसार प्रसारण लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रा.लि.ले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको थियो ।
तर सुरुवातमा विवदामा अल्झिदा कामले गति लिन सकेको थिएन । जसका कारण आयोजनाको म्याद पटक–पटक थपिएको थियो । २०८० चैतमा सकिएको आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थपिएको थियो । भने पछिल्लो समय २०८२ माघसम्मका लागि समय थपिएको थियो । हाल प्रसारण लाइनको शतप्रतिशत भौतिक प्रगति हासिल भएको आयोजनाले जनाएको छ ।
तीन तहकै सरकारले चासो दिएपछि पछिल्लो समय आयोजनाको कामले पनि गति पाएको हो । विवादित क्षेत्रमा सरकारले सुरक्षा घेराबाट फाउन्डेशन निर्माणको काम गरी प्रक्रिया अघि बढाएको थियो । विवाद नै विवाद हुँदा आयोजनाले अपेक्षित रूपमा काम गर्न सकेको थिएन । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्ने थियो ।
तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका थिए । विवाद समाधान गर्नका लागि कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीदेखि संघीय मन्त्रीसमेत पटक–पटक विवादितस्थलमा पुगेर समस्या समाधानको पहल गरेका थिए । सबै विवाद समाधान भएपछि धमाधम काम भएको थियो । जसका कारण निर्माण सम्पन्न भएको हो । अब कर्णालीमा विद्युत समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्