
नेपालगन्ज ।
महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनीको दशौँ संस्करण बाँकेको नेपालगन्जमा सुरु भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा सुरु भएको प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला सामग्री, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरू, फ्लोरी– कल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार तथा गर–गहना लगायतका सामग्री तथा वस्तुहरू बिक्री वितरणका लागि राखिएका छन् ।
माघ १८ गतेसम्म सञ्चालन हुने मेलाको नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै बिस्टले प्रदर्शनी महिला उद्यमीहरूका लागि आफ्ना उत्पादनहरूको बजारीकरण गर्ने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको बताए । कार्यक्रममा सहभागी महिला उद्यमी संघ नेपालक अध्यक्ष दर्शना श्रेष्ठले संघको बाँके शाखाले उत्कृष्ट काम गर्दै आइरहेको भन्दै प्रशंसा गरिन् ।
बागेश्वरी मन्दिर परिसरको पार्कमा सञ्चालन भइरहेको मेलामा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग गरेको छ भने केएल दुगद ग्रुपको मुख्य प्रायोजन रहेको छ । प्रदर्शनीमा ७५ वटा स्टल रहेको जानकारी दिइएको छ । प्रदर्शनीको उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापा मगर, संघ बाँकेका निर्वतमान अध्यक्ष सावित्रा बस्नेत, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्