चितवन । जिल्लामा रहेका दलहरूले चुनावी प्रचारको पूर्वतयारीका कामहरू धमाधम गरिरहेका छन् । कार्यकर्ता भेटघाट, समिति निर्माण, आर्थिक सङ्कलनलगायत काममा दल र उम्मेदवारहरू लागेका हुन् ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति बनाइएको बताए । उनले जिल्लामा एउटा, प्रत्येक निर्वाचन क्षेत्र र वडा तहमा समेत निर्वाचन परिचालन समिति बनाएर प्रचारप्रसारको तयारी थालिएको बताए । नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमल पाठकले जिल्लास्तरीय, क्षेत्रस्तरीय, वडास्तरमा निर्वाचन परिचालन, स्वयंसेवक, आर्थिक सङ्कलन समिति बनाइसकिएको बताए ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य घनश्याम दाहालले जिल्लाका तीन वटै क्षेत्रका उम्मेदवारहरूले कार्यकर्ता भेटघाट कार्यक्रम थालेको बताए । तीन वटै निर्वाचन क्षेत्रका सम्पर्क कार्यालय खुलेको, उम्मेदवारका प्रतिबद्धतापत्र छाप्ने तयारी गरिएको र जिल्ला, क्षेत्र र वडा तहमा निर्वाचन परिचालनका लागि विभिन्न समिति बनेको उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य राजन गौतमले पार्टीका उम्मेदवारले कार्यकर्तालाई भेटघाट गर्ने काम गरिरहेको बताए । स्थानीय र राष्ट्रिय मुद्दाहरूको पहिचान गरी त्यसलाई सम्बोधन गर्नेगरी घोषणापत्र बनाउने काम भइरहेको उनको भनाइ छ । क्षेत्रीयस्तरमा भएका समस्याहरूलाई घोषणापत्रमा समावेश गर्न त्यहाँका कार्यकर्तासँग घनिभूत छलफल गरी काम गरिएको गौतम बताउँछन् । क्षेत्र नं १ र ३ मा प्रचार समिति बनाइसकिएको भन्दै उनले क्षेत्र नं २ मा पार्टी सभापतिसँग परामर्श गरेर मात्रै समिति बनाइने भएकाले बाँकी रहेको बताए ।
प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्