सहिद दिवसः सिफल उकालोमा माथेमाको स्मृतिसभा



काठमाडौँ । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो ।
सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विगतको शासनमा नागरिकले भोग्नु परेका क्रूरता, असमानता तथा कुण्ठित अवस्था नवपुस्ताले अनुभूति गर्नु नपरोस् भन्नका लागि सहिदको सङ्घर्ष र बलिदानी स्मरण गर्न कार्यक्रम आयोजना गरिएको बताइन् ।

सभामा काठमाडौँ महानगर–७ का अध्यक्ष बिमल होडाले असलशासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदको सपना पूरा हुने बताइन् । अधिकार प्राप्तिको इतिहास जोगाइराख्न माथेमाले सहादत प्राप्त गर्नुभएको स्थानको संरक्षणका लागि गुरुयोजना बनाएर काम थालिएको उनको भनाइ थियो ।
विसं १९६६ असोज ९ गते काठमाडौँको ओमबहाल, नवहिलमा जन्मनुभएका माथेमालाई तत्कालीन शासकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ साल कात्तिक २ गते पक्राउ गरिएको थियो । विसं १९९७ माघ १३ गते धर्मभक्त माथेमालाई सिफल उकालोमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

काठमाडौँको सिफलमा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेरले विसं १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुन्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी उनीहरुलाई मृत्युदण्ड दिइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार