नेपालगन्जमा पहिलोपटक विज्ञापन बोर्डको छलफल कार्यक्रम



नेपालगन्ज (बाँके) ।

विज्ञापन बोर्डले पहिलोपटक नेपालगन्जमा सरोकारवालासँग एक अन्तक्र्रियात्मक छलफल कार्यक्रमको आयोजना गरेको छ । विज्ञापन बोर्डको आयोजना तथा उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा पहिलोपटक नेपालगन्जमा सोमबार ‘विज्ञापन नियमनमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रिया तथा क्षमता विकास कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बाँकेका विभिन्न उपभोक्ता संघसंस्थाका प्रतिनिधि, सञ्चार गृह, सञ्चारमाध्यम, सञ्चार उद्यमी, सञ्चारकर्मी, विज्ञापनदाता, विज्ञापन एजेन्सी लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले गलत र भ्रमपूर्ण विज्ञापनको पछाडि नलाग्न आम उपभोक्ताहरूलाई आग्रह गरेका थिए ।

पछिल्ला समयमा सामाजिक सञ्जाल लगायतका प्लेटफर्मबाट भ्रमपूर्ण विज्ञापन प्रकाशन÷प्रशारण गरेर उपभोक्ताहरूलाई झुक्याउने, ठगी गर्नेजस्ता कार्यहरू बढिरहेको गुनासाहरू सुन्नमा आएको भन्दै त्यस्ता भ्रमपूर्ण विज्ञापनहरूका पछाडि नलाग्न उपभोक्ताहरूलाई उनले आग्रह गरेका हुन् ।

‘विज्ञापन बोर्ड नियामक निकाय मात्र नभएर कार्यान्वय गर्ने निकाय र अर्धन्यायिक निकाय पनि हो, आम उपभोक्ताहरू भ्रामक विज्ञापनबाट झुक्किनु वा ठगिनु कार्य गलत हो, तपाईँहरूलाई यदि कुनै भ्रामक विज्ञापनबाट ठगिनुभएको छ भने लिखित उजुरी गर्नुहोस् ।’ उनले भने, ‘कुनै पनि उपभोक्ताहरू कुनै पनि किसिमका भ्रामक विज्ञापनबाट ठगिनु हुँदैन, उपभोक्ताहरू पनि त्यसता विज्ञपानको विश्वासमा परेर पछाडि लाग्नु हुँदैन, यदि उपभोक्ता ठगिएको पाइएमा हामी कानुनअनुसार कारबाही गर्छौँ ।’

उनले बोर्डले भ्रमपूर्ण विज्ञापनबाट उपभोक्तालाई जोगाउन, जनताको स्वास्थ्यको रक्षा गर्न, महिला बालबालिका लगायतलाई जोखिमबाट मुक्त राख्न, स्वच्छ प्रतिस्पर्धा कायम गराउन, सामाजिक तथा नैतिक मर्यादा कायम गराउन र आमसञ्चारका माध्यम तथा व्यवसायिक घरानाप्रति विश्वास बनाइराख्न विज्ञापन नियमनको आवश्यकता रहेको बताए ।

उनले विज्ञापन नियमनका लागि उपभोक्ता, विज्ञपानदाता, सञ्चारमाध्यम, तीनै तहका सरकार लगायतका सरोकारवालाको बराबर भूमिका हुने भन्दै सबैले सहयोग गर्नुपर्ने बताउँदै विज्ञापन नियमनका लागि स्थानीय तह तथा प्रदेश सरकारको उत्तिकै जिम्मेवारी र जवाफदेहिता हुने उल्लेख गरे । स्थानीय र प्रदेश सरकारलाई पनि अनुगमन गर्नेदेखि लिएर जरिवाना र कारबाही गर्नेसम्मका अधिकार रहेको स्पष्ट पारे ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता ज्योती बानियाँले उपभोक्ताको परिभाषा र आधारभूत अवधारणा, कानुनी र संवैधानिक व्यवस्था, नियमनकारी चासो र चुनौती, विज्ञापन नियमन ऐन, विज्ञापन गर्न निषेध गरिएका विषयहरू, स्थानीय बजार र उद्योग व्यवस्थापन, होडिङ बोर्डसम्बन्धी व्यवस्था, अनलाइन र सामाजिक सञ्जालका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

उनले गलत र भ्रमपूर्ण विज्ञापनबाट जोगिनका लागि उपभोक्ता स्वयं पनि सचेत हुनुपर्ने भन्दै विशेषगरी विज्ञापन बोर्डले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले बोर्डले वाणिज्य विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, उपभोक्ता अदालत लगायतका अन्य नियमनकारी निकायसँग छलफल, समन्वय गर्नुपर्ने बताए ।

बोर्डलाई सोसल मिडिया र न्युरोसाइन्समा आधारित विज्ञापनलाई प्रभावकारी रूपमा नियमन गर्न, उपभोक्ता अधिकारकर्मी र नागरिक समाजको निगरानी बढाउन, उपभोक्ता अदालतको सक्रियता र छिटो छरितो क्षतिपूर्ति प्रक्रिया अगाडि बढाउन र सचेतना अभियानलाई डिजिटल माध्यममा लैजान समेत सुझाव दिए ।

बाँकेका प्रजिअ दिलकुमार तामाङले अर्थतन्त्रको आकारको बढोत्तरी, वस्तु सेवाको बढोत्तरीसँगै तीव्र रूपमा भएको प्रविधिको विकासले विज्ञापनहरूले जबरजस्ती राज गरिरहेको बताउँदै आम उपभोक्तालाई गलत प्रचारप्रसारबाट जोगिनका लागि निगरानी तथा नियमन जरुरी रहेको बताए ।

पछिल्लो समयमा अनलाइन र डिजिटल माध्यमबाट हुने गलत विज्ञापनबाट हुने व्यापारबाट उपभोक्ताहरू बढी ठगिएका घटनाहरू देखिएको भन्दै यस्ता ठगी कार्यलाई नियन्त्रण गर्नका लागि नियमनकारी निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै त्यसता संस्थाहरूलाई जिम्मेवारी बनाउने काम गर्ने प्रतिबद्धता जनाए ।

विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे (खत्री)ले विज्ञापन क्षेत्रलाई समेटेर उपभोक्ता हितसम्बन्धी जानकारी दिन बोर्डले सरोकारवालासँग नीतिगत र कानुनी छलफल गर्दै सुझाव समेत संकलन गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताइन् । उनले बाँकेका कार्यालय प्रमुखहरू र स्थानीय तहका जनप्रतिनिधिबीच पनि छलफल कार्यक्रम गरिने जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार