नेपालगन्ज (बाँके) ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा आइतबार नेपालगन्जमा ‘नसर्ने रोगको रोकथामसम्बन्धी नागरिक समाजको पैरवी तथा सरोकारवालासँग अन्तक्र्रिया’ कार्यक्रम सम्पन्न भएको छ । पछिल्ला केही वर्षयता नेपालमा सर्ने रोगभन्दा पनि नसर्ने रोगहरू चुनौतीका रूपमा देखिएको भन्दै यसलाई न्यूनीकरण तथा रोकथामका लागि उक्त पैरवी तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
सहभागीहरूले नेपालमा नसर्ने रोग चुनौती बन्दै गइरहेको उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा.डिल्ली अर्यालले नसर्ने रोग पछिल्लो समयमा भयावह बन्दै गइरहेको बताए । उनले नसर्ने रोगलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि सरकारले विभिन्न योजनाहरू बनाएर कार्यान्वयन गरिरहेको उल्लेख गरे ।
उनले प्रदेश सरकारले केन्द्र सरकार तथा स्थानीय सरकार मात्रै नभएर सरोकारवाला सम्पूर्ण पक्षसँगको समन्वय र सहकार्यमा विभिन्न सचेतनाका कार्यक्रमहरू गरिनुका साथै नीतिगत रूपमा पनि कार्यक्रमहरू बनाएर कार्यान्वयन गरिरहेको बताए । केन्द्र सरकारले गत वर्षदेखि मधुमेह, उच्च रक्तचाप, मिर्गौला, मुटु, क्यान्सर लगायतका नसर्ने रोगको पहिचान गर्ने, शारीरिक मापन, शरीरको उचाइ र तौलको अनुपात जाँच गरी विश्लेषण गर्ने, नसर्ने रोगको समयमै व्यवस्थापन र रोकथामका लागि नागरिकलाई सुसूचित बनाउने अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
नीति र नियमहरूको प्रभावकारी कार्यान्वयनमा कमी, कमजोर नियमन र अनुगमन प्रणाली, उपभोक्ताहरूमा सचेतनाको कमी तथा क्षेत्रगत समन्वयको अभाव यसका चुनौतीहरू रहेको उनको भनाइ थियो । यसलाई न्यूनीकरणका लागि वकालत, निगरानी, जनचेतना तथा उत्तरदायित्वमा नागरिक समाज संस्थाको भूमिका हुनुपर्ने उल्लेख गरे ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता ज्योति बानियाँले नसर्ने रोगलाई रोकथाम र न्यूनीकरण गर्नका लागि मञ्चले २०५१ सालदेखि निरन्तर रूपमा काम गरिरहेको बताए । उनले स्वच्छ बजार, सुशासन र उपभोक्ता हित संरक्षणसम्बन्धी विभिन्न कामहरू गर्दे आएको र उपभोक्ता हित संरक्षणसम्बन्धी वस्तु, सेवा र डिजिटल कन्टेन्टमार्फत हुने सेवा प्रवाहका विषयमा बढी गम्भीर हुनुपर्नेमा जोड दिए ।
नसर्ने रोगको सुचालक वस्तु सुर्तीजन्य पदार्थ रहेको भन्दै उनले यसैका कारण नेपालमा प्रतिवर्ष ३९ हजार ७०० जना व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक रहेको जानकारी दिए । सुर्तीजन्य पदार्थसँगै मदिरा सेवन तथा विषादीयुक्त वस्तु पनि मुख्य कारकका रूपमा रहेकाले यसलाई न्यूनीकरण तथा रोकथाम गर्नका लागि मञ्चले कानुनी रूपमा पैरवी र व्यवस्थापन गर्ने कार्य गरिरहेको उल्लेख गरे ।
विश्व स्वास्थ्य सङ्गठनका डा.शंकुक भट्टले नसर्ने रोग रोकथामका लागि हरेक व्यक्तिले सुर्ती तथा सुर्तीजन्य पदार्थ र मदिराको हानिकारक प्रयोग नगर्ने तथा अरुलाई गर्न नदिने, बढी नुनिलो, गुलियो र चिल्लो खाना नखाने, हरियो सागसब्जी र फलफूल खाने तथा दैनिक कम्तीमा ३० मिनेट शारीरिक अभ्यास गर्नुपर्ने बताए ।
समुदायले भोजभतेर, सामुदायिक स्थलहरूमा सुर्ती तथा सुर्तीजन्य पदार्थ र मदिराको प्रयोगमा निषेध गर्ने, आफ्नो समुदायमा यस्ता वस्तु तथा पदार्थको बेचबिखनलाई निरुत्साहित पार्ने तथा स्थानीय उत्पादित तरकारी र फलफूलहरूको उपभोगमा जोड दिनुपर्ने उनको भनाइ थियो । सरकारले पनि यस्ता वस्तु तथा पदार्थको विज्ञापनमा रोक लगाउने, कर बढी लगाउने, किशोरकिशोरीहरूलाई खरिदबिक्री गर्न नदिने र खुद्रा बिक्रीमा रोक लगाउनुपर्ने उनले बताए ।
यसलाई रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूलाई क्षमता अभिवृद्धि तालिम प्रदान, सुर्तीजन्य पदार्थको रोकथाम तथा नियमन र यसको न्यूनीकरण तथा मदिराको नियमन र असरका न्यूनीकरणसम्बन्धी कार्यक्रम, नसर्ने रोगसम्बन्धी सचेतना कार्यक्रम, गाउँघर÷सहरी क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम, मानसिक स्वास्थ्यसम्बन्धी तालिम, नसर्ने रोग व्यवस्थापन कार्यक्रम, नागरिक स्वास्थ्य कार्यक्रम, एकीकृत जनस्वास्थ्य अभियान लगायतका क्रियाकलापहरू गर्नुपर्ने उनले बताए ।
मञ्चका लुम्बिनी प्रदेश सचिव अधिवक्ता वसन्त गौतमले नेपालको हालको जनस्वास्थ्य अवस्थामा कुपोषण र सूक्ष्म पोषक तत्वको कमीका साथै अस्वस्थकर खानपान र मोटोपनाका कारण नसर्ने रोगहरूको जोखिम तीव्र रूपमा बढ्दै जाँदा यसलाई न्यूनीकरण गर्नका लागि सरकारले विभिन्न नीति तथा तर्जुमा गरेको भए तापनि प्रभावकारी कार्यान्वयन, अनुगमन र जनचेतनाको कमीले गर्दा चुनौतीहरू कायमै रहेको उल्लेख गरे।
मञ्चका बाँके अध्यक्ष सुरेश गौतमले नसर्ने रोगलाई न्यूनीकरण तथा रोकथामका लागि नागरिक समाज संस्थाहरूको क्षमता अभिवृद्धि गरी पैरवी, अनुगमन र कानुनी विशेषज्ञतामार्फत स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
विभिन्न सरोकारवाला पक्षको सहभागितामा सम्पन्न कार्यक्रममा मञ्चका लुम्बिनी अध्यक्ष प्रभात ठकुरी, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, भेरी अस्पतालका नर्सिङ प्रशासक आशा पन्थ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेकी खाद्य अनुसन्धान अधिकृत नेत्रा बोगटी, नेपालगन्ज उच्च वार एसोसिएसनका अध्यक्ष अधिवक्ता पवनकुमार गुप्ता लगायतले आआफ्नो धारणा राखेका थिए । वक्ताहरूले आफूबाटै जीवनशैली परिवर्तन गर्न सुझाब दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्