प्रचण्डविरूद्व जनार्दनले गरे एमालेसँग क्षेत्रगत सहमति



काठमाडौँ ।

कर्णाली प्रदेशका आठ जिल्लामा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । कर्णालीका १० जिल्लाहरूमध्ये हुम्ला र जुम्ला बाहेकका आठ जिल्लामा तालमेलको सहमति भएको हो । सहमति पत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपाको अध्यक्ष परिषद् सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन् ।

हुम्लामा एमालेका दल फडेरा र प्रलोपाका जटिल कार्की उम्मेदवार छन् । यीबाहेक काँग्रेसका जयपति रोकाया, नेपाली कम्युनिस्ट पार्टीका डा. दीपेन्द्र रोकाया, राप्रपाका छक्क बुढा र रास्वपाका टासी ल्हान्जोम उम्मेदवार छन् । यसैगरी जुम्लामा एमालेका शान्तिलाल महत र प्रलोपाका मनऋषि धिताल उम्मेदवार छन् ।

यी बाहेक काँग्रेसका दीपबहादुर खत्री, नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारी, राप्रपाका ज्ञानेन्द्रबहादुर शाही, रास्वपाका विनिता कठायत, नेकपा माओवादीका बिर्खबहादुर शाही र नेमकिपाका बिर्ख रावतलगायत उम्मेदवार छन् । कर्णाली प्रदेशमा सल्यान, सुर्खेत, रूकुम पश्चिम, जाजरकोट, दैलेख, डोल्पा, जुम्ला, कालीकोट, मुगु र हुम्ला जिल्ला छन् ।

यीमध्ये सल्यानसहित साविक राप्ती अञ्चलका जिल्लाहरूमा एमालेलाई प्रलोपाले समर्थन गर्ने छ भने रूकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने सहमति भएको छ । हुम्ला र जुम्ला बाहेकका कर्णालीका अरु सबै जिल्लामा प्रलोपाले एमालेको चुनाव चिह्नमा मतदान गर्ने सहमति भएको छ । माओवादीको सशस्त्र युद्धदेखि तीन दशक प्रचण्डका विश्वास पात्रका रूपमा रहेका जनार्दन शर्मा पछिल्लो समय उनीसँग विद्रोह गरेर प्रलोपा बनाएका हुन् ।

२०६४ देखि नै आफ्नो क्षेत्रमा लगातार निर्वाचन जित्दै आएका शर्मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट २०७९ को निर्वाचनमा ठूलो मतान्तरमा विजयी भएका थिए । अहिले विभाजन भएर शर्माले प्रलोपा बनाएर मैदानमा छन् । यस्तै आफ्नै क्षेत्रमा तत्कालीन पार्टीकै कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेपछि भने शर्मा चुनावी रणनीतिमा लागेका हुन् ।

उम्मेदवारी दर्ताको केही दिनमा उनले जिल्लाको तथ्यांक हेरेर आफ्नो क्षेत्रको सुरक्षा गर्न एमालेसँग तालमेल गरेको निकटस्थहरूको विश्लेषण छ । गत निर्वाचनमा रूकुम पश्चिममा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६९ मत प्राप्त गर्दा शर्माले ३९ हजार ५४९ मत पाएर जितेका थिए । समानुपातिकमा भने एमालेले ८ हजार ७६९ र काँग्रेसको ८ हजार ७६६ मत आएको थियो ।

रास्वपाको २ हजार मत नपुग्दा अन्य दलले खासै मत पाएका थिएनन् । तर अहिले भने रूकुम पश्चिमबाट १२ जना उम्मेदवार रहेका छन् ।रूकुम पश्चिममा उम्मेदवार बनेका शर्मा र रूकुम पूर्वमा प्रलोपाबाटै उम्मेदवार बनेका सन्दीप पुनलाई एमालेले साथ दिने सहमति भएसँगै त्यहाँको चुनावी प्रतिस्पर्धा थप चर्चामा पुगेको छ । सुरक्षित क्षेत्र खोज्दै रूकुम पूर्व पुगेका नेकपाका संयोजक प्रचण्डलाई जनार्दन र एमालेबीचको सहमतिले थप दबाब बढेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १२ गते सोमबार