कोहलपुरमा योग तथा जुम्बा कार्यक्रमले स्वास्थ्यमा सुधार भएको सहभागीको अनुभव



कोहलपुर नगरपालिकाद्वारा नियमित रूपमा सञ्चालन हुँदै आएको योग तथा जुम्बा कार्यक्रमका सहभागीहरुले स्वास्थ्यमा उल्लेखनीय सुधार भएको अनुभव भएको बताएका छन् । समूहको माघ १० गते शनिबार सम्पन्न वनभोज कार्यक्रममा आफ्‌ना अनुभवहरु साझा गर्दै उनीहरुले शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

लामो समयसम्म उपचार गर्दा पनि निको नभएका केही रोगमा सुधार आएको, मुटुसम्बन्धी समस्या तथा शरीर दुख्ने समस्या कम भएको, शरीर हलुका महसुस भएको र दैनिक कामकाज सहज भएको उनीहरूको भनाइ छ । साथै तनाव घटेको, मानसिक शान्ति र आत्मविश्वास बढेको, निद्राको गुणस्तरमा सुधार आएको र समग्र जीवनशैलीमा सकारात्मक परिवर्तन आएको सहभागीहरूले बताएका छन् । डिप्रेसनको अवस्थाबाट गुज्रिरहेका केही सहभागीहरूले पनि योग तथा जुम्बामा नियमित सहभागितापछि मन हलुका भएको, एक्लोपन घटेको र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास भएको अनुभव व्यक्त गरेका छन् ।

कार्यक्रमले योग तथा जुम्बा शारीरिक व्यायाम मात्र नभई मानसिक र सामाजिक स्वास्थ्यको आधार भएको पुष्टि गरेको सहभागीहरूको निष्कर्ष रहेको छ । आयोजकले सम्बन्धित निकायबाट सकारात्मक पहलको अपेक्षासहित योग तथा जुम्बा कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित, प्रभावकारी र दीगो रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कोहलपुर नगरपालिकाद्वारा सञ्चालित योग तथा जुम्बा कार्यक्रमलाई स्वस्थ नागरिक र समृद्ध समाज निर्माणतर्फको महत्वपूर्ण अभियानका रूपमा लिइएको छ ।

मोतिलाल काफ्लेको सभापतित्वमा भएको वभोज कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदी सहभागी थिइन् । विशिष्ट अतिथिहरूमा सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद वि.क., वडा नम्बर १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह तथा वडा नम्बर १० की वडा अध्यक्ष गौरा कुमारी भट्टाराई अधिकारी रहेका थिए ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत भुपेश के.सी., वडा सदस्यहरू भिम प्रसाद पौडेल र सारा परियार, साथै सुन–चाँदी व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सदस्य, सुन–चाँदी व्यवसायी संघ बाँकेका संस्थापक अध्यक्ष बालकृष्ण दियाली तथा कोहलपुर सिटी एकेडेमीका संचालक प्रशान्त रिजाल पनि हसभागी थिए ।

भानुभक्त बिसीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा कोहलपुर नगरपालिकाले नियमित रूपमा योग तथा जुम्बा कार्यक्रम सञ्चालन गरी समुदायमा स्वस्थ जीवनशैली, सक्रियता र सकारात्मक सोच विकास गर्न योगदान पुर्‍याउँदै आएकोमा नगरपालिकाप्रति विशेष धन्यवाद व्यक्त गरिएको थियो ।

कार्यक्रममा लक्ष्मण पुन मगरले योग तथा जुम्बा कार्यक्रमका लागि ह्यान्ड माइक र टी–शर्ट खरिद गर्न पाँच हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमेयर सुवेदीले खुला मञ्चमा बिहान सञ्चालन हुँदै आएको योग तथा जुम्बा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक व्यवस्थापन तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । विशिष्ट अतिथि इश्वरी प्रसाद विकले आफू स्वयं नियमित रूपमा योग तथा जुम्बामा सहभागी भइरहेको उल्लेख गर्दै नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका थिए । अन्य अतिथिहरूले पनि योग तथा जुम्बा कार्यक्रमले स्वस्थ, निरोगी र ऊर्जाशील जीवन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने र यसलाई दीगो रूपमा निरन्तरता दिन विशेष पहल गरिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सहभागीहरूले योग तथा जुम्बा कार्यक्रम सन्चालन सहजताका लागि खुला मञ्चको हलमा इन्भर्टर तथा बैकल्पिक विद्युतको व्यवस्था नहुँदा बत्ती नभएको अवस्थामा कार्यक्रम सञ्चालनमा कठिनाइ भएको, ह्यान्ड माइकको स्थायी व्यवस्था आवश्यक रहेको तथा सुरक्षाका लागि सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने सुझाव पनि राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार