राष्ट्रिय सभाका १७ सिटका लागि मतदान जारी



आगामी २० फागुनबाट रिक्त हुन लागेका राष्ट्रिय सभाका १९ सिटमध्ये १७ सिटमा सदस्य चयन गर्न मतदान सुरु भएको छ । रिक्त पदका लागि एक सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् । आइतबार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । मतदान सकिएलगत्तै गणना थाल्ने तयारी गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

कोशी प्रदेशबाट एक सिटमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्‌ । बाँकी १७ सदस्यका लागि ४३ जना प्रतिस्पर्धामा छन्‌ । चुनावका लागि कांग्रेस, एमाले र जसपा नेपालबीच चुनावी गठबन्धन भएको छ । गठबन्धनबाट कांग्रेसले नौ, एमालेले आठ र जसपाले एक स्थानमा उम्मेदवारी दिएका छन्‌ । नेपाली कम्युनिस्ट पार्टीले १७ स्थानमा उम्मेदारी दिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, पालिका प्रमुख र उपप्रमखहरु मतदाता हुने व्यवस्था छ । ७ वटा प्रदेशसभाका ५ सय ५० सदस्य तथा ७ सय ५३ पालिकाका प्रमुख र उपप्रमुख गरी कुल दुई हजार ५६ मतदाता हुने भएपनि ४१ स्थान रिक्त रहेका छन्‌ । विभिन्न कारणले १४ स्थान पहिले नै विभिन्न कारणले रिक्त रहेकोमा आसन्न प्रतिनिसभा निर्वाचनमा उम्मेदवारी दिन प्रदेशसभाका १६ र स्थानीय तहका ११ पदाधिकारीले राजीनामा दिएका छन्‌ ।

अन्तिम मतदाता नामावलीमा पाँच सय ४५ प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुख एक हजार चार सय ९७ जनाको नाम छ । प्रदेशसभा सदस्यको एक मत बराबर ५३ मतभार रहेको छ । पालिका पदाधिकारीको मतभार १९ छ ।

राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट एकजना महिला, एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट र एकजना अन्य समूहबाट गरी तीन सिटका लागि निर्वाचन हुन लागेको हो । जसमा कांग्रेस–एमाले गठबन्धनबाट एमाले नेता रामकुमारी झाँक्री उम्मेदवार बनेकी छन्‌ भने नेकपाबाट दुर्गाकुमारी भण्डारी र राष्ट्रिय जनमोर्चाबाट पद्मा पण्डितले उम्मेदवारी दिएका छन्‌ । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट कांग्रेसका वासुदेव घिमिरे र नेकपाका सर्जन विक उम्मेदवार छन्‌ । अन्य समूहबाट कांग्रेसका चन्द्रबहादुर केसी, नेकपाका वृहस्पति अधिकारी र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्रीले उम्मेदवारी दिएका छन्‌ ।

यस्तै कर्णाली प्रदेशबाट एकजना महिला र अन्य समूहबाट एकजना गरी दुई सिटका लागि निर्वाचन हुँदै छ । महिला सिटमा एमालेबाट मीनासिंह रखाल र नेकपाबाट अञ्जु महतराको उम्मेदवारी परेको छ  भने अन्य सिटमा कांग्रेसका ललितजंग शाही र नेकपाका बुद्धिप्रसाद शर्माको उम्मेदवारी छ ।

सुदूरपश्चिम प्रदेशबाट महिला र अन्य समूहका एक एक सिटमा निर्वाचन हुन लागेको छ । महिला सिटमा एमालेबाट लीलाकुमारी भण्डारी र नेकपाबाट रोजी बस्नेतको उम्मेदवारी परेको छ भने अन्य समूहको सिटमा कांग्रेसबाट खम्मबहादुर खाती र नेकपाबाट टीकाराम जैसीले उम्मेदवारी दिएका छन्‌ ।

गण्डकी र बागमति र कोशी प्रदेशमा पनि महिला र अन्य समूहका एक एक सिटमा निर्वाचन हुन लागेको छ । महिला सिटमा एमालेबाट सम्झना देवकोटा, नेकपाबाट गोमा लुइँटेल घिमिरे र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बाँस्कोटा प्रतिस्पर्धामा छन्‌ भने अन्य समूहको सिटमा कांग्रेसका जगत तिमिल्सिना, नेकपाका कपिल लामा, राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बराल उम्मेदवार छन्‌ ।
बागमती प्रदेशमा महिला सिटमा कांग्रेसले गीता देवकोटा, नेकपाले सरोजकुमारी झा, नेमकिपाले कविता महर्जनलाई उम्मेदवार बनाएका छन्‌ भने अन्य समूहबाट चुनिने सिटमा एमालेबाट प्रेमप्रसाद दंगाल, नेकपाबाट प्रेमप्रसाद सापकोटा र नेमकिपाबाट विक्रम ढुकुछुले उम्मेदवारी दिएका छन्‌ ।

जसका लागि महिला सिटमा एमालेकी रोश्नी मेचे र नेकपाकी नमिता न्यौपाने प्रतिस्पर्धामा छन्‌ भने दलित सिटमा एमालेका सोमनाथ पोर्तेल र नेकपाका खेमराज नेपालीको उम्मेदवारी परेको छ ।

मधेश प्रदेशमा भने महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा एक–एक जना गरी चार सिटका लागि मतदान हुँदै छ । महिला सिटमा एमालेबाट रेखाकुमारी झा, नेकपाबाट शमीकुमारी अग्रवाल र जसपा नेपालबाट चन्द्रकलादेवी साहले उम्मेदवारी दिएका छन्‌ । दलित सिटमा कांग्रेसका धर्मेन्द्र पासवान, नेकपाका शम्भु पासवान हजारी र जसपा नेपालकी चमेली देवी दासको उम्मेदवारी परेको छ । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट कांग्रेसका रञ्जित कर्ण, नेकपाका रामनन्दन प्रसाद र जसपा नेपालका शैलेशकुमार चौधरी प्रतिस्पर्धामा छन्‌ ।

अन्य समूहबाट लोसपाका अध्यक्ष महन्थ ठाकुरले पन उम्मेदवारी दिएका छन्‌ । ठाकुरलाई कांग्रेस र एमाले तथा जसपा नेपालको साथ छ । नेकपाले लक्ष्मण पौडेललाई उम्मेदवार बनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार