हुम्ला ।
ताँजाकोट गाउँपालिकामा निर्माणधीन १५ शय्याको अस्पताल निर्माण कार्य अलपत्र अवस्थामा छ । अस्पताल निर्माण कम्पनीले काम अधुरो छोडेर अलपत्र अवस्थामा राखेको छ । पाँच वर्षअघि गाउँपाालिकाको केन्द्र छप्रेलामा निर्माण कार्य सुरु भएको अस्पताल भवन हालसम्म निर्माण हुन सकेको छैन ।
गाउँपालिकाका अध्यक्ष लालकेश जैसीका अनुसार २०७७ सालमा उक्त अस्पताल निर्माणका लागि धुलिखेल निर्माण सेवासँग सम्झौता भएको थियो । संघीय सरकारको लगानीमा अस्पताल भवन निर्माण हुन लागे पनि हाल अलपत्र अवस्थामा रहेको उनले बताए । आरसीसी भवनको डिपिसी गरेर केही माथि गाह्रो लगाउने र झ्यालढोका राखिएको तीन वर्ष भयो ।
तर त्यसपछि कुनै निर्माण कार्य अगाडी बढ्न नसकेको अध्यक्ष जैसीले जानकारी दिए । उनका अनुसार बजेटको अभाव नभएको तर निर्माण कम्पनीको खराब नियतकै कारण काम अगाडी बढ्न नसकेको हो । ‘सो भवन सात करोड बजेटमा निर्माण कार्य पूरा गर्ने गरि निर्माण कम्पनीले गाउँपालिकासँग सम्झौता गरेको थियो,’ उनले भने, ‘म अध्यक्षमा निर्वाचित भइसकेपछि पटक पटक निर्माण कम्पनीलाई लिखित पत्राचार गर्दा पनि कुनै सुनुवाइ हुन सकेको छैन ।’
निर्माण कम्पनीसँग सम्झौता गर्दा २०७९ सालसम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने समयसीमा तोकिएको थियो । तर हालसम्म बाँकी काम अगााडी बढ्न सकेको छैन । अब कालो सूचीमा राख्ने र सम्झौता तोड्ने तयारीमा गाउँपालिका पुगेको अध्यक्ष जैसीले बताए । पहिले सडक नजोडिएको कारण सामाग्री ढुवानी गर्न कठिन हुने कुरा स्वभाविक भए पनि हाल अस्पताल भवन निर्माणस्थलसम्म सडक पुगिसकेको उनको भनाइ छ ।
यसकारण बाहिरबाट ल्याउन पर्ने निर्माण सामाग्री ढुवानीमा समस्या नभएको उनी बताउँछन् । ‘अब मेरो कार्यकालमा गाउँपालिकास्तरको अस्पताल निर्माण कार्य पूरा गरेर सञ्चालनमा ल्याउने तयारी छ,’ उनले भने, ‘निर्माण कम्पनीविरुद्ध पनि अख्तियार दुरुपयोग आयोगमा जाने विचारमा छु । अस्पताल भवनको निर्माण कार्य अगाडी बढ्न नसक्नुको कारणबारे धुलिखेल निर्माण सेवाका प्रतिनिधिहरूसँग बुझ्न खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् ।’









प्रतिक्रिया दिनुहोस्