मिथ्या सूचनाविरुद्ध ‘काठमाडौं सम्मेलन’ सुरु



काठमाडौँ।

मिथ्या सूचनाविरुद्ध दुई दिने ‘काठमाडौं सम्मेलन’ सुरु भएको छ । सम्मेलनमा विज्ञहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी अनलाइन र अफलाइन माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीले संगठित रुपमा पनि मिथ्या सूचना फैलाउन सुरु गरेको बताए ।सम्मेलनमा देशभरी गरिएको अध्ययन निष्कर्षमा नेपालमा करिब २८ प्रतिशत नागरिकले मिथ्या सूचना फेलापार्ने, त्यस्ता सूचना फेसबुकलगायत सामाजिक सञ्जालमा बढी हुने र विशेषगरी राजनीतिक विषयवस्तुमा हुने तथ्यांक प्रस्तुत गरिएको थियो ।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सीएमआर–नेपाल)ले काठमाडौंमा आयोजना गरेको सम्मेलनका वक्ताहरू र कार्यपत्र प्रस्तुत गर्दै अध्येताहरूले मिथ्या सूचनाले जनमतलाई प्रभाव पार्न सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न मिडिया साक्षरता बढाउन जरुरी भएको बताए ।

मणिपाल एकेडेमी अफ ह्यायर एडुकेशनकी प्रा.डा.पद्मा रानीले प्रविधि र पहुँचले गर्दा सही र मिथ्या सूचनाबीचको अन्तर थाहा पाउन जटिल भएको बताईन् । उनले सामाजिक सञ्जालका साथसाथै मूलधारका मिडियाबाट समेत मिथ्या सूचना आउने गरेकाले त्यसकाविरुद्ध मिडिया, नागरिक समाज, विज्ञ, नागरिक समाज, सरकारलगायत लाग्नुपर्ने धारणा राखिन् ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक संकायका कार्यवाहक डिन डा. वामदेव अधिकारीले सामाजिक सञ्जालमार्फत डिजिटल वार भइरहेको उल्लेख गर्दै सत्यतथ्य पहिचान गर्न र आलोचनात्मक ढंगले हेर्न जरुरी भएको बताए ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा।कुन्दन अर्यालले मिडियाको परिदृश्य परिवर्तन भएको बताए । उनले प्रविधि र सामग्रीले जनमत प्रभावित हुने भएकाले मिडियाले समाजको बृहत्तर हित हेर्नुपर्ने धारणा राखे ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार