आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार श्रीलंका ‘ए’ लाई सात विकेटले हराएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका ‘ए’ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले १६.२ ओभरमै केवल तीन विकेट गुमाएर एक सय ३४ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।

नेपाली टोलीको जितमा कुशल भुर्तेलले ३५ बलमा ४९ रनको योगदान गरे । आरिफ शेखले २२ बलमा अविजित २४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले पनि केवल १५ बलमा अविजित २२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले १९ रन बनाए । आसिफ शेखले पनि टोलीको खातामा ११ रन थपे । त्यसअघि, श्रीलंका ‘ए’ का लागि करुणारत्नेले २३ बलमा ३८ रन बनाए । डिकवेलाले पनि २७ बलमा ३३ रनको योगदान गरे ।
नेपाली टोलीका बलर शेर मल्लले चार विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै २० रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहित पौडेल र नन्दन यादवले एकरएक विकेट हात पारे ।









प्रतिक्रिया दिनुहोस्