कोहलपुर (बाँके) ।
बाल शिक्षा माध्यमिक विद्यालय भरैया र त्रिभुवन माध्यमिक विद्यालय उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । कोहलपुरस्थित कोहलपुर क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा शुक्रबार दुई खेल भएका थिए । सेमिफाइनल समीकरणको पहिलो खेलमा लक्ष्मी माविलाई हराउँदै बाल शिक्षा मावि र सगरमाथा ज्ञानपुञ्ज स्कुललाई हराउँदै त्रिभुवन माध्यमिक विद्यालय फाइनल प्रवेश गरेका हुन् ।
पहिलो खेल बाल शिक्षा माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालयबीच भएको थियो । उक्त खेलमा बाल शिक्षा मावि ६६ रनको विशाल जित निकाल्दै फाइनल प्रवेश गरेको हो । खेलमा लक्ष्मी माविले टस जितेर बाल शिक्षालाई ब्याटिङको निम्तो दिएको थियो । पहिला ब्याटिङ गरेको बाल शिक्षाले निर्धारित १५ ओभरमा पाँच विकेट गुमाउँदै १०२ रन बनायो ।
ब्याटिङतर्फ बाल शिक्षा माविकी लक्ष्मीसिंह ठकुरीले २४ बलमा १७ रन, निशा परियारले २२ बलमा १३ रन, सुजाता खाँणले १६ बलमा ७ रन, मुना बुढाले ७ बलमा ३ रन र सम्झना पुनले ३ बलमा २ रन बनाइन् । बलिङतर्फ लक्ष्मी माविकी करुणा योगीले ३ ओभरमा १६ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिएकी थिइन् ।
बाल शिक्षा मावि भरैयाले दिएको १०३ रनको विशाल लक्ष्य पछ्याएको लक्ष्मी माध्यमिक विद्यालय भने ९.५ ओभरमा अलआउट हुँदै ३६ रन मात्र बनाउन सक्यो । ब्याटिङतर्फ लक्ष्मी माविकी गिता परियारले १५ बलमा सर्वाधिक ११ रन बनाइन् । अन्य ब्याटर भने बाल शिक्षाका खेलाडीको कसिलो बलिङको धरापमा परे । बलिङतर्फ बालशिक्षाकी मुना बुढाले ३ ओभरमा १ मेडेनसहित ९ रन दिएर ३ विकेट लिइन् ।
सुजाता खाँणले २ ओभरमा ९ रन दिएर २ विकेट र कप्तान सम्झना पुनले २ ओभरमा १ मेडेनसहित १ रन मात्रै खर्चिएर २ रन बनाइन् । उक्त खेलमा प्लेअर अफ द म्याच बाल शिक्षा माविकी सुजाता खाँण भइन् । उनलाई राष्ट्रिय भलिबलका रेफ्री महेश चन्दले ट्रफी प्रदान गरेका थिए ।
दोस्रो खेलमा त्रिभुवन माध्यमिक विद्यालय र सगरमाथा ज्ञानपुुञ्ज भिडेका थिए । टस जितेको सगरमाथाले पहिला ब्याटिङ गरेको थियो ।
जसमा सगरमाथाले १०.३ ओभरमा अलआउट हुँदै ५८ रन बनायो । बलिङतर्फ त्रिभुवन माविकी अनिता थापाले ३ ओभरमा १७ रन खर्चिँदै ३ विकेट लिइन् । ममता रानाले १७ बलमा १५ रन, सोना चन्दले २ ओभरमा ६ रन खचिँदै २ विकेट लिइन् । स्वस्तिका हमाल र सृष्टि थारूले समान १/१ विकेट लिएका थिए ।
त्रिभुवन माविले भने ११.१ ओभरमा ५ विकेट गुमाउँदै ५९ रन बनाउँदै सगरमाथालाई ६ विकेटले पराजित गरेर फाइनल प्रवेश गरेको हो ।बलिङतर्फ सगरमाथाकी सुजाता परिवार ३ ओभरमा ९ रन खर्चिँदै २ विकेट लिइन् । करिश्मा शाही र पार्वती बुढाले समान १÷१ विकेट लिए ।
प्रतियोगितामा अपराजित रहँदै बाल शिक्षा मावि र त्रिभुवन माविले फाइनलमा भेट पक्का गरेका हुन् । प्रतियोगिताका खेल संयोजक मदन विकका अनुसार अब प्रतियोगिताको समापन आइतबार बिहान १० बजे कोहलपुर क्रिकेट मैदानमा हुनेछ ।









प्रतिक्रिया दिनुहोस्