इजाजतप्राप्त हातहतियार बुझाउन बाँके प्रशासनको निर्देशन



नेपालगन्ज ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले प्रशासनले यो कदम चालेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा इजाजतप्राप्त गरेका हातहतियार तथा खरखजाना राखेका व्यक्तिहरूले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन भनिएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङद्वारा हस्ताक्षरित सूचनामा कसैले अवैध रूपमा हातहतियार तथा खरखजाना राखेको जानकारी भएमा तुरुन्त नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सूचना दिन समेत सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेसँगै सुरक्षा व्यवस्थालाई कडा बनाउन सुरु गरेको छ । निर्वाचन आयोगले यसअघि नै निर्वाचन आचारसंहिता र मतदानस्थलहरूको सुरक्षा संवेदनशीलताका विषयमा तयारी सुरु गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार