निर्वाचन भन्दै विकासका काममा ढिलासुस्ती नगर्न निर्देशन



वीरेन्द्रनगर ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आगामी फागुन २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । कर्णाली सरकारका मन्त्रालयहरूको बुधबारदेखि सुरू भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने बताए ।

निर्वाचन देखाएर भइरहेका विकास निर्माणका काम र सेवा प्रवाहमा कुनै कमी हुन नदिन उनको निर्देशन छ । ‘हाम्रोमा बाहाना चाहिएको छ, निर्वाचन देखाएर विकासका काम रोकिनु हुँदैन,’ उनले भने, ‘मन्त्रालयअन्तर्गतका कामहरूको समयतालिका निर्माण गरिएको थियो । तर तालिकाअनुसार काम भएको छैन । यसमा मेरो असन्तुष्टि छ ।’

कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलता परिणामसहित देखिने गरी काम गर्न उनले निर्देशन दिए । विकास निर्माण र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य नहुने भन्दै उनले जनताको अपेक्षाअनुसार कामबाटै उत्कृष्टता प्रर्दशन गर्नुपर्ने बताए । निर्वाचन आचारसंहिताले नयाँ कामलाई रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने उनले स्पष्ट पारे ।

‘स्वीकृत योजना समयमै सम्पन्न गर्न नसक्दा सरकारप्रति जनविश्वास कमजोर बन्छ । विकास आयोजनामा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता गर्नुहुँदैन,’ उनले थपे, ‘तर यस्ता काममा समन्वय र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक छ ।’ आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताए ।

समयमै खर्च र लक्ष्यअनुसार प्रगति हासिल गर्न मन्त्रालय तथा मातहतका कार्यालयबीच समन्वय आवश्यक रहेको उनले उल्लेख गरे । जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताइन् । प्रदेश प्रमुख सचिव विरेन्द्रकुमार यादव, अर्थ सचिव, ऊर्जा सचिव तथा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको समीक्षामा उपस्थिति थियो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार