कोहलपुरमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी सुरु



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा कृषि मेला प्रदर्शनी तथा सचेतना कार्यक्रम–२०८२ सुरु भएको छ । कृषि बजार व्यवस्थापन समितिको आयोजनामा २७औँ वार्षिकोत्सव, कृषि मेला प्रदर्शनी तथा सचेतना कार्यक्रम–२०८२ सुरु भएको हो । बुधबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले कृषिजन्य उत्पादनमा पानी हालेर ब्यानर पढेर उद्घाटन गरिन् ।

उपप्रमुख सुवेदीले कोहलपुर नगरपालिकाले स्थानीय उत्पादन प्रवद्र्धन र बजारीकरणलाई प्राथमिकतामा राखेको बताइन् । उनका अनुसार नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै हरेक वर्ष बजेट समेत विनियोजन गर्दै आएको छ । कृषि उपज उत्पादनमा आत्मनिर्भर नगरपालिका बनाउनको लागि सोहीअनुसार नगरपालिकाले लगानी गरिरहेको उनले बताइन् ।

यस्तै कृषक परिचयपत्र वितरणको तयारी गरिएको उपप्रमुख सुवेदीको भनाइ छ । ‘अर्गानिक र विषादीरहित कृषि उपज उत्पादनलाई जोड दिनुपर्छ । स्थानीय कृषकद्वारा उत्पादित वस्तु बजारीकरणमा सबैले ध्यान दिन जरुरी छ । स्थानीय सरकारले समेत सोहीअनुसार नीति कार्यक्रम ल्याइरहेको छ । कृषि उजप उत्पादनमार्फत आर्थिक उपार्जन अहिलेको आवश्यकता हो,’ उपप्रमुख सुवेदीले भनिन् ।

अहिले पनि परम्परागत कृषि पेसा यथावत् रहेको भन्दै राज्यले कृषिलाई महत्व दिएकोले कृषि क्षेत्रमा कृषकहरूको आकर्षण बढ्दै गएको उनले बताइन् । कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष उदीराम ओलीले कृषि मेला प्रदर्शनी तथा सचेतना कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने बताए । कृषि मेला प्रदर्शनी तथा सचेतना कार्यक्रम ९ गतेसम्म सञ्चालन हुनेछ ।

उनले भने, ‘समितिको वार्षिकोत्सवको अवसरमा हामीले जिल्लाव्यापी कार्यक्रम गरेका छौँ । कृषि मेला प्रदर्शनी तथा सचेतना कार्यक्रम गरिएको छ । मेलामा कृषिसम्बन्धी सचेतनाका साथै कृषि उपज प्रदर्शनीका लागि राखिएको छ ।’ उनले जिल्लाभरीका किसानहरूको सहभागितामा स्थानीय उत्पादनको प्रदर्शनी समेत राखिएको जानकारी दिए ।

बाँके जिल्लास्तरीय बृहत् कृषि मेला तथा प्रदर्शनी भएकोले जिल्लाभरका कृषकका खेतबारीमा उत्पादित कृषि उपजहरू प्रर्दशनीमा राखिएको अध्यक्ष ओलीको भनाइ छ । प्रदर्शनीमा खाद्यान्न, दलहन, तेलहन, मसला, फलफूल, काउली, आलु, फल तरकारी, जरे तरकारी, साग, च्याउ, माछा, मौरी र रैथाने बाली प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा कूल ९६ वटा स्टल रहेका छन् । यस्तै कृषि औजार तथा प्रविधि प्रदर्शनी, स्थानीय कृषि उपजबाट प्रशोधित उत्पादनहरू राखिएका छन् ।

तीमध्ये उत्कृष्टलाई कार्यक्रम समापनको दिन पुरस्कृत गरिनेछ । यस्तै विषादी तथा जैविक विविधतासम्बन्धी जनचेतनामूलक कार्यक्रम र लोपोन्मुख स्थानीय सांस्कृतिक कला समेत प्रदर्शन गरिने आयोजक कृषि बजार व्यवस्थापन समितिले जनाएको छ । कार्यक्रममा समितिका सदस्य मोहन रिजालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम उद्घाटनमा विभिन्न सांस्कृतिक प्रस्तुति समेत देखाइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार