शेरबहादुर ऐर । कैलाली ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कैलालीको राजनीतिक वातावरण मंगलबारदेखि औपचारिक रूपमा तातिएको छ । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता कार्यक्रम केबल प्रशासनिक प्रक्रिया मात्र रहेन, बरु यसले दलहरूको शक्ति प्रदर्शन, राजनीतिक संस्कार र बदलिँदो चुनावी शैलीलाई एकै ठाउँमा उजागर ग¥यो ।
उम्मेदवारी दर्ताको दिनमा नै कार्यालय परिसर र आसपासका क्षेत्र चुनावी नाराले गुञ्जायमान बने । कोही उम्मेदवार र समर्थकहरू नाराबाजी र जुलुससहित पुगे भने कोही शान्त र मौन रूपमा कार्यालय पुगेर उम्मेदवारी दर्ता गराइरहेका देखिन्थे । यही विविधताले कैलालीको राजनीति कति बहुरंगी र प्रतिस्पर्धात्मक छ भन्ने स्पष्ट संकेत दिएको छ । कैलालीको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले उम्मेदवारी दर्तालाई उत्सवकै रूपमा प्रस्तुत ग¥यो ।
पार्टी कार्यालयबाट ‘काँग्रेस जिन्दाबाद’का नारासहित निकालिएको जुलुस मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेको थियो । कार्यकर्ता र नेताहरूको बाक्लो उपस्थितिले काँग्रेस अझै पनि जिल्लामा संगठनात्मक रूपमा बलियो रहेको सन्देश दिन खोजेको देखिन्थ्यो । यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवारी दर्तालाई सांस्कृतिक झाँकीमा रूपान्तरण ग¥यो । परम्परागत नेपाली पोसाकमा सजिएका उम्मेदवार र समर्थकहरू बाजागाजासहित कार्यालय पुगे ।
उनीहरूको यो प्रस्तुति चुनाव केवल राजनीतिक प्रतिस्पर्धा नभई सांस्कृतिक पहिचानको पनि विषय हो भन्ने सन्देशका रूपमा हेरिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तथा समर्थकहरू घण्टी बजाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगे । चुनाव चिन्हलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै उनीहरूले आम मतदातासँग प्रत्यक्ष सन्देश जोड्ने प्रयास गरे । नयाँ राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गरिरहेका रास्वपाको शैली फरक र ध्यानाकर्षक देखिन्थ्यो ।
यसको विपरीत केही साना दलहरू भने कुनै नाराबाजी वा प्रदर्शन नगरी मौन रूपमा कार्यालय पुगेर उम्मेदवारी दर्ता गराइरहेका थिए ।उनीहरूको यो शैलीले स्रोत र संगठन सीमित भए पनि चुनावी प्रक्रियामा आफ्नो उपस्थिति अनिवार्य रहेको सन्देश दिएको छ । उम्मेदवारी दर्ताका क्रममा केही उम्मेदवारले प्रतिनिधिमार्फत पनि मनोनयन दर्ता गराएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट जगन्नाथ चौधरी स्वयम पुगेर उम्मेदवारी दर्ता गराए । राष्ट्रिय जनमोर्चाबाट शोभामणि जोशीले प्रतिनिधि पठाएर उम्मेदवारी दर्ता गराए ।
स्वतन्त्र उम्मेदवारतर्फ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सबैभन्दा पहिला प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता गराउनेमा प्यारेलाल राना रहेका छन् । यसले उम्मेदवारी दर्ता प्रक्रियामा कानुनी व्यवस्था र प्रशासनिक अनुशासन पालना भएको सन्देश दिएको छ । कैलालीका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा गरी कूल ७९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो सङ्ख्या अघिल्ला निर्वाचनको तुलनामा प्रतिस्पर्धा अझै चर्किएको संकेत मानिन्छ ।
कैलाली निर्वाचन क्षेत्र १ मा जम्मा १९ उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । यहाँ प्रमुख उम्मेदवारहरूमध्ये नागरिक उन्मुक्ति पार्टी नेपालबाट रेशमलाल चौधरीले दिएका छन् भने सत्यनारायण भट्टराईले स्वतन्त्र उम्मेदवारका रूपमा छन् । सो निर्वाचन क्षेत्रमा उज्यालो नेपाल पार्टीबाट प्रदिपकुमार चौधरी, नेपाली कम्युनिस्ट पार्टीबाट रामलाल डङ्गौरा थारू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्र कुँवर, नेकपा एमालेबाट द्वारिकाप्रसाद न्यौपानेले उम्मेदवारी दायर गरेका छन् ।
निर्वाचन क्षेत्र २ मा पनि १६ उम्मेदवार मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट केपी खनाल, नेपाल मानवतावादी पार्टीबाट करविरे कडाँरा, नागरिक उन्मुक्ति पार्टी नेपाल पतिराम चौधरी, नेपाली कम्युनिस्ट पार्टीबाट नन्दबहादुर साउद, नेकपा एमालेबाट सुर्यबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतसिंह विसी, नेश्नल रिपब्लिक नेपालबाट दलबहादुर बुचामगर, नेपाल मजदुर सिकान पार्टीबाट लक्ष्मी पुन मगर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट डम्बरबहादुर रावल, नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट दिलबहादुर साउद, मितेरी पार्टी नेपालबाट सम्झना विष्ट थापा, नेपाली काँग्रेसबाट विजयबहादुर स्वाँर उम्मेदवार रहेका छन् भने दिपक रावल, तपेन्द्र शाह, फागुराम थारू, मोहनसिंह राठोर र राजेश मयाल विकले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र ३ मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ पनि विविधता देखिन्छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)बाट गौरिशंकर चौधरी, नेपाल मजदुर किसान पार्टीबाट जुनु महतारा शाही, राष्ट्रिय जनमोर्चाबाट देशराज चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विरेन्द्रबहादुर बम, नेपाली काँग्रेसबाट भिम बडुवाल, नेपाली कम्युनिस्ट पार्टीबाट विरमान चौधरी, मितेरी नेपालबाट शुसिला थापा मगर, चुनाव चिन्हबाट विक्रम चौधरी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अर्जुनप्रसाद कठरिया र नागरिक उन्मुक्ति पार्टीबाट विक्रम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
१७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाल मजदुर किसान पार्टीबाट अमृता भुल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमल रजवार, नेशनल रिपब्लिक नेपालबाट गोपीलाल चौधरी, मितेरी पार्टी नेपालबाट दिनेशकुमार मल्ल, नागरिक उन्मुक्ति पार्टीबाट धनबहादुर सुनार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) भक्तबहादुर शाही, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) मोहनदेव मिश्र, नेकपा एमालेबाट लेखराज भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद रेग्मी, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराम चौधरी, राष्ट्रिय जनमोर्चाबाट हेमराज भट्ट, स्वतन्त्रमा छत्रबहादुर भट्ट खत्री, नेपाल मानवतावादी पार्टीका यज्ञबहादुर टमोटा, उज्यालो नेपाल पार्टीबाट सुभास कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।
कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट यज्ञराज ढुंगाना, नेपाली काँग्रेसबाट नरनारायण शाह (मनु), नेपाली कम्युनिस्ट पार्टीबाट प्रेम आले मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आनन्दबहादुर चन्द, राष्ट्रिय जनमोर्चाबाट शोभामणी जोशी, मितेरी पार्टी नेपालबाट राधिकाकुमारी कार्की, आम जनता पार्टीबाट देवसिंह विष्ट, नागरिक उन्मुक्ति पार्टी नेपालबाट जगन्ननाथ चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन शाही, नेपाल मजदुर किसान पार्टीबाट तृषण पुनमगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट बबरजंग बहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् भने स्वतन्त्रमा प्यारेलाल राना, जनकराज पाठक र इश्वरी विष्टसहित १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेस, नेकपा (विभिन्न घटक), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, मितेरी पार्टी नेपाल, आम जनता पार्टी लगायतका दलहरू मैदानमा छन् । पाँचै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारको उपस्थितिले मतदातालाई वैकल्पिक छनोटको अवसर पनि दिएको छ । सङ्ख्यात्मक रूपमा महिला सहभागिता कम देखिए पनि पाँचै निर्वाचन क्षेत्रमा महिलाको उपस्थिति हुनु सकारात्मक पक्ष मानिन्छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा ३० वर्षीया जुजु महतरा शाही सबैभन्दा कान्छी उम्मेदवारका रूपमा मैदानमा छन् भने निर्वाचन क्षेत्र नम्बर ५ मा शोभामणि जोशी ६२ वर्षको उमेरमा प्रतिस्पर्धामा छन् । महिला उम्मेदवारको यो उपस्थिति आगामी दिनमा राजनीतिक दलहरूले समावेशीताको सवाललाई कसरी लिन्छन् भन्ने बहसको आधार बन्ने देखिन्छ । यसपटकको निर्वाचनमा उमेरका हिसाबले पनि रोचक मिश्रण देखिन्छ । सबैभन्दा कान्छी उम्मेदवार ३० वर्षकी छन् भने सबैभन्दा जेठा उम्मेदवार ६२ वर्षका छन् ।
अधिकांश उम्मेदवार ३५ देखि ५० वर्ष उमेर समूहका छन्, जसले अनुभव र युवापनको संयोजनलाई प्रतिनिधित्व गर्छ । अनुभवी राजनीतिज्ञसँगै पहिलोपटक चुनाव लड्न लागेका नयाँ अनुहारको उपस्थितिले निर्वाचनलाई अझै रोचक बनाएको छ । कैलालीका सबै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार मैदानमा छन् । विशेषगरी निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारको सङ्ख्या उल्लेख्य छ । दलप्रति बढ्दो असन्तुष्टि र व्यक्तिगत छविमा आधारित राजनीति गर्ने प्रवृत्तिले स्वतन्त्र उम्मेदवारलाई मतदाताको विकल्पका रूपमा स्थापित गरिरहेको विश्लेषकहरूको बुझाइ छ ।
उम्मेदवारी दर्ता सम्पन्न भएसँगै अब कैलालीमा चुनावी गतिविधि थप तीव्र हुने निश्चित छ । दलहरू घरदैलो अभियान, आमसभा, सामाजिक सञ्जाल र घोषणापत्रमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्ने तयारीमा जुटिसकेका छन् । फागुन २१ गते हुने मतदानसम्म कैलालीको राजनीतिक तापक्रम अझै बढ्नेछ । मतदाता भने यसपटक विकास, रोजगारी, सुशासन र स्थायित्वका मुद्दामा कसले विश्वास दिलाउन सक्छ भन्ने प्रश्नको उत्तर खोजिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्