शिवु खनाल । दाङ ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट चौधजनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । दुईजनाले भने स्वतन्त्रबाट उम्मेदवारी मनोनय दर्ता गराएका हुन् । निकै प्रतिस्पर्धात्मक रूपमा चासोका साथ हेरिएको यो क्षेत्रमा मंगलबार निर्वाचन अधिकृतको कार्यालय लमहीमा पुगेर दाङ क्षेत्र नम्बर १ बाट विभिन्न पार्टीका राजनीतिक दल र स्वतन्त्र गरी चौधजनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ताका क्रममा स्थानीय पहिचान झल्किने गरी विभिन्न जातजातिका झाँकीसहित उम्मेदवारी दर्ता गराएका हुन् । पञ्चेबाजा, स्थानीयहरूको सांस्कृतिक टोली र समुदायका झाँकी प्रदर्शन गरिएको थियो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मेटमणी चौधरीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । त्यसैगरी नेपाली काँग्रेसका नेता योगेन्द्र चौधरीले उम्मेदवारी मनोनयन दर्ता गराए ।
नेकपा एमालेबाट रेवतीरमण शर्माले मनोनयन दर्ता गराएका छन् । सन्तुलित विकासको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न आफूले उम्मेदवारी दिएको शर्माको भनाइ छ । शर्मा दाङ १ (ख)बाट २०७४ को निर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । क्षेत्र नम्बर १ मा असल नेताको परिचय बनाएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मेटमणी चौधरीसहित नेपाली काँग्रेसका योगेन्द्र चौधरी र नेकपा एमालेका रेवतीरमण शर्माले पनि मतदातालाई आकर्षित गर्न सक्ने बताइएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट देवराज पाठकले उम्मेदवारी मनोनय दर्ता गराएका छन् । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले मेटमणी चौधरीलाई टिकट दिएपछि पूर्वमाओवादी पक्ष असन्तुष्ट छ । उम्मेदवारी दर्तापछि केसीले देउखुरीमा प्रदेश राजधानी स्थापना गरेर इतिहास रचेको र अब समग्र विकासमा साझा नेतृत्वको रूपमा आफूले योगदान गर्न चाहेको बताए ।
यस्तै मंगोल नेशनल अर्गनाइजेसनबाट खुमबहादुर गाहा मगर, राष्ट्रिय जनमोर्चाबाट गणेश आचार्य, नेशनल रिपब्लिकबाट मिनबहादुर ठेडी मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय विसी, नेपाल कम्युनिस्ट पार्टीबाट (विप्लव समूह) प्रकाश शाही, जनता समाजवादी पार्टीबाट भरतलाल चौधरी, आम जनता पार्टीबाट सिताराम यादव, राष्ट्रिय परिवर्तन पार्टीबाट रञ्जित चौधरी र स्वतन्त्रबाट मालिकराम यादवले उम्मेदवारी मनोनय दर्ता गराएका निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए ।
यो निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता मेटमणी चौधरी, नेपाली काँग्रेसका नेता योगेन्द्र चौधरी र नेकपा एमालेका रेवतीरमण शर्माबीच प्रतिस्पर्धा हुने देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्