भयमुक्त वातावरणमा निर्वाचन हुन्छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी



काठमाडौँ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुने बताएका छन् । मनोनयन दर्ताको पूर्वसन्ध्यामा सार्वजनिक अपिल गर्दै उनले निर्वाचनको विकल्प निर्वाचन नै भएकाले निर्वाचनमा सबै क्षेत्रबाट सहयोग प्राप्त हुने अपेक्षासमेत गरेको बताइन् ।

निर्वाचन घोषणा भएसँगै आयोगले कार्यसम्पादन गर्नुपर्ने विषयलाई कार्यतालिका बनाई अघि बढेको बताए । उनले भने, “कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरेर अब भोलिअर्थात् माघको ६ गते जो–जो चुनिन चाहन्छ उनीहरुको मनोनयन पत्र दाखिल गर्ने समय आएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन हुँदैछ ।”

कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले गए राति १२ः०० बजेदेखि आचारसंहिता लागू भएको अवगत गराउँदै यी सबै कार्यक्रम चार महिना अगाडि प्रकाशित भएको कार्यतालिकाअनुसार कार्यसम्पादन भइरहेको बताए । “अब कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम हुँदैनन् । तोकिएकै समयमा मनोनयन पत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ, आयोग यसैमा ढुक्क छ”, उनले भने ।

आयोगले निर्धारण गरेको निर्धारित समयभित्र मनोनयन पत्र दाखिल हुनुपर्ने र दाखिला भइसकेपछि जाँचबुझ गर्नेलगायतका कानुनी प्रक्रिया अघि बढ्ने उनको भनाइ थियो । उनले निर्वाचनका विषयमा अदालतले आदेश गरिसकेपछि त्यो सबैले मान्नुपर्ने उल्लेख गर्दै आयोगले अदालतमा रहेको विषयवस्तुलाई अहिले विश्लेषण गरेर यो हुन्छ र त्यो हुन्न भनेर भन्न नमिल्ने स्पष्ट पारे ।

“मनोनयन पत्र दाखिला गर्नुपर्ने उम्मेदवार मनोनयनस्थल पुग्न सक्नुभएन भने आफ्नो वारेसमार्फत मनोनयन दाखिला गर्ने कानुनले व्यवस्था दिएकै छ । हामीले विभिन्न निर्देशिकामार्फत यसको जानकारी गराएका छौँ”, कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने । –रासस

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार