राष्ट्रिय निकुञ्जको संरक्षण र जंगली जनावरको त्रास



वनक्षेत्र बाहिर आई मानिस वा घरपालुवा पशुपन्क्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मार्नु पर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न पक्रन वा लखेट्न सकिनेछ भन्ने कानुनी व्यवस्था गरिएको छ । निकुञ्ज वा आरक्ष वा संरक्षण क्षेत्र नरही डिभिजन वन कार्यालय रहेको वन क्षेत्रमा संरक्षित वन्यजन्तुले दुःख हैरानी दिएमा त्यस्तो वन्यजन्तुलाई सम्बन्धित डिभिजन वन अधिकृतले सम्बन्धित जिल्लाको सुरक्षा निकाय र अधिकारीसमक्ष त्यस्तो कुराको सूचना गराई सुरक्षा समितिको निर्णयानुसार त्यस्ता हिंस्रक वन्यजन्तुलाई मार्न सक्ने तथा धपाउन लखेट्न सकिने व्यवस्था रहेको छ ।

नरेन्द्र देवकोटा ‘प्रशान्त’

पृष्ठभूमि

राष्ट्रिय निकुञ्ज भन्नाले प्राकृतिक, अद्र्धप्राकृतिक वा विकसित भूमिलाई संरक्षण गर्नका लागि स्थापना गरिएको एक सार्वजनिक उद्यान हो । यसले प्रायः एउटा सार्वभौम राज्यको भूमिको आरक्षण गर्ने कार्य गर्दछ । विभिन्न राष्ट्रहरूले आ–आफ्नो आवश्यकतानुसार निकुञ्जको स्थापना गर्दछन् । जंगली जनावर, पशुपंक्षी, प्राकृतिक स्रोत साधन, वनस्पति तथा जडीबुटी समेतको संरक्षण गर्न सके भावी पिँढीका लागि ती राष्ट्रिय गौरवको प्रतीक हुने भन्ने मान्यता राखिएको हुन्छ । एकातिर नेपाल विशाल दुई ठूला देश उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतको बीचमा अवस्थित छ । अर्कातिर नेपाल जैविकलगायत वनस्पति र वन्यजन्तुको महत्व बोकेको विविधतायुक्त मुलुकको रूपमा परिचित पनि छ । यस परिस्थितिमा यहाँका महत्वपूर्ण वन्यजन्तु तथा पशुपंक्षीको संगठित रूपमा चोरी शिकार एवं निर्यात हुने र अर्कातर्फ अपराधमा वृद्धि हुँदै राज्य आतंक फैलिने सम्भावना रहेको हुन्छ । नेपाल वनजन्य पशुपंक्षी एवं अन्य महत्वपूर्ण प्राकृतिक स्रोत सम्पदाहरूको गैरकानूनी व्यापार हुने स्थल (त्चबलकष्त क्तबतभ) नबनोस् भन्ने उद्देश्यसमेत राखेको पाइन्छ ।

अवधारणा

राज्यको जैविक विविधतायुक्त वनजन्य पशुपन्क्षी, वनस्पति एवं प्राकृतिक स्रोत साधनको संरक्षण र संवद्र्धन गर्नु पर्ने दायित्व हुन्छ । जैविक विविधतासम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा हुने गैरकानुनी कसुर अपराध नियन्त्रण गर्न सक्षम जनशक्तिको माध्यमबाट अनुसन्धान एवं अभियोजन गरी पशुपंक्षीजन्य आखेटोपहारका कसुरलाई नियन्त्रण गरी अवैध व्यापारको न्यूनीकरण एवं अन्त्य गर्नु पनि राज्यको जिम्मेवारीभित्र पर्दछ ।

राष्ट्रिय निकुञ्ज स्थापनाका मूल्य मान्यता

सामान्यतया जैविक विविधता कायम राख्न र संरक्षणलाई प्रवद्र्धन गर्न, मानव जगतलाई पारिस्थितिकीय प्रणालीको परिचय दिन, महत्व दर्शाउन, मानव–वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न तथा वन्यजन्तु तथा प्राकृतिक स्रोत साधन र सम्पदासम्बन्धी अपराधलाई न्यूनीकरण गर्न, वातावरण स्वस्थ राख्न, प्राकृतिक र जैविक स्रोतहरूको विवेकहिन प्रयोगको अन्त्य गर्न वातावरण सन्तुलन कायम राख्न वनस्पति तथा वन्यजन्तुको संरक्षण आवश्यक रहेको छ । राष्ट्रिय निकुञ्जको व्यवस्था, वन्यजन्तु र यसको वासास्थानको संरक्षण, शिकारमा नियन्त्रण र प्राकृतिक सौन्दर्यको दृष्टिकोणबाट विशेष महत्व राख्ने ठाउँहरूको संरक्षण, संवद्र्धन, विकास तथा उचित व्यवस्था र उपयोग गर्न सर्वसाधारणमा सदाचार र सुविधा कायम राख्न वाञ्छनीय भएकोले यो ऐन ल्याइएको हो भनी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को प्रस्तावनामा उल्लेख छ ।

संवैधानिक व्यवस्था

नेपालको संविधान २०७२ को धारा ५१ (छ) (१)मा प्राकृतिक स्रोत साधनको संरक्षण, संवद्र्धन र उपयोगसम्बन्धी नीतिमा भनिएको छ– राष्ट्रिय हित अनुकूल तथा अन्तरपुस्ता समन्यायको मान्यतालाई आत्मसात् गर्दै देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको संरक्षण संवद्र्धन र वातावरण अनुकूल दिगो रूपमा उपयोग गर्ने र स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिँदै प्राप्त प्रतिफलहरूको न्यायोचित वितरण गर्ने भनिएको छ । यसैगरी सोही धाराको उपधारा (छ) (७)मा प्रकृति वातावरण वा जैविक, विविधतामाथि नकारात्मक असर परेको वा पर्न सक्ने अवस्थामा नकारात्मक वातावरणीय प्रभाव निर्मूल वा न्यून गर्न उपयुक्त उपायहरू अवलम्बन गर्ने समेत भनिएको छ । कानुनी व्यवस्थाः वातावरण संरक्षण गरि मानवसमेतको स्वास्थ्यलाई सन्तुलनमा राख्ने, प्रकृति र मानवबीचको सम्बन्धलाई मजबुत बनाउन तथा दिगो विकासलाई मजबुत बनाउने उद्देश्यले राष्ट्रिय निकुञ्जसम्बन्धी ऐन, २०२९ ल्याएको पाइन्छ । सार्वजनिक उद्यानका लागि ग्रहण गरिने भएकोले प्रायः निश्चित शर्तमा आगन्तुकका लागि खुला रहने मान्यता रहेको हुन्छ । संसारमा राष्ट्रिय निकुञ्ज संरक्षणको महत्त्व र भूमिका बढ्दै गएकाले प्राकृतिक सम्पदाको महत्वद्वारा आम जनतालाई मनोरञ्जन एवं शिक्षित बनाउन राष्ट्रिय निकुञ्जप्रति आकर्षण बढ्दै गएको पाइन्छ ।

नेपालमा राष्ट्रिय निकुञ्ज

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २(क)मा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा राष्ट्रिय निकुञ्ज भन्नाले प्राकृतिक वातावरणको साथै वन्यजन्तु, वनस्पति र भू–दृश्यको संरक्षण व्यवस्थापन र उपयोगको लागि छुट्याइएको क्षेत्र सम्झनु पर्छ भनी परिभाषित गरिएको छ । यसैगरी संरक्षण क्षेत्र भन्नाले सो ऐनमा भएको व्यवस्थाअनुसार प्राकृतिक वातावरणको संरक्षण र प्राकृतिक स्रोतको सन्तुलित उपयोगको लागि एकीकृत योजनाअनुसार व्यवस्थापन गरिने क्षेत्र सम्झनुपर्छ भनिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार हातहतियार भन्नाले जुनसुकै किसिमको बन्दुक पेस्तोल वा यस्तै गोली चलाइने हतियारहरू, धनुषवाण, भाला, पासो, धराप, गुलेली वा चोट पु¥याउन सकिने जुनसुकै हतियारलाई सम्झनुपर्छ भनिएको छ । यसैगरी आखेटोपहार भन्नाले दफा २ (झ) अनुसार, वन्यजन्तुहरूको जीवित वा मृत शरीर वा चिन्हिन सकिने अवस्थामा रहेको तिनीहरूको शरीरको कुनै अङ्गलाई सम्झनु पर्छ भने दफा २ (च)मा वन्यजन्तु भन्नाले घरपालुवाबाहेक जुनसुकै जातिको स्तनधारी जन्तु (म्यामल्स) पन्छी, (एभ्स) घर्सिने जन्तु (रेप्टायल्स), माछा (पीसिज), भ्यागुता जाति, (एन्फिवियन्स) र कीरा फट्याङ्ग्रा (इन्सेक्टस)लाई सम्झनु पर्छ र सो शब्दले फुल पार्ने जन्तुको फुलसमेतलाई जनाउँछ भनिएको छ ।

यसैगरी दफा २ (ज)मा शिकार भन्नाले कुनै वन्यजन्तुलाई जुनसुकै तरिकाले लखेट्ने, पक्रने, दुःख दिने, मार्ने वा सो गर्ने प्रयत्न गर्ने, वा त्यसको शरीरको कुनै अङ्ग झिक्ने, वा नष्ट गर्ने वा त्यसको फुल, गुँड झिक्ने, नष्ट गर्ने वा खलबल गरिदिने कामलाई जनाउँछ भनिएको छ । नेपालमा हाल चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, मकालु–वरुण राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र डोल्फु कार्मारोङ राष्ट्रिय निकुञ्ज (कान्छो निकुञ्ज) रहेका छन् । सिकार आरक्षहरूमा ढोरपाटन सिकार आरक्ष र संरक्षण क्षेत्रहरूमाः अन्नपुर्ण संरक्षण क्षेत्र, कञ्चनजंघा संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, गौरीशंकर संरक्षण क्षेत्र, कृष्णसार संरक्षण क्षेत्र, अपिनप्पा संरक्षण क्षेत्रलगायत कोशी टप्पु आरक्ष रहेका छन् ।

राष्ट्रिय निकुञ्जभित्र गर्न नहुने निषेधित कार्यहरू

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ५ मा अधिकारप्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्याक्तिले त्यस्ता निषेधित कार्य गर्न नपाउने व्यवस्था गरिएको छ । ऐनको अनुसूची १ मा उल्लेख गरिएका संरक्षित वन्यजन्तुको शिकार गर्न, घाइते बनाउन, आखेटोपहार निकाल्न तथा लैजाने जस्ता कार्य गर्न हुँदैन । त्यस्ता निषेधित कार्यहरुमा–वन्यजन्तुको शिकार गर्न, जुनसुकै पदार्थको घर छाप्रो, आश्रय बनाउन वा भोग गर्न, कुनै भूभाग कब्जा गर्न, आवादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, घरपालुवा जीवजन्तु वा पन्क्षी चराउन वा पानी ख्वाउन, रुख बिरुवा झाडी वा कुनै वन पैदावार काट्न ढाल्न हटाउन, आगो लगाउन, वा कुनै प्रकारले हानी नोक्सानी पु¥याउन, खानी खन्न, ढुङ्गा खन्न, वा कुनै खनिज पदार्थ वा अन्य यस्तै पदार्थ हटाउन, वन पैदावार वा वन्यजन्तु पन्क्षी वा जग्गालाई क्षति पु¥याउन हातहतियारखर खजाना वा विष साथमा लैजान वा प्रयोग गर्न, कुनै जीवजन्तु लैजान वा आखेटोपहार लैजान निकुञ्जभित्र बग्ने नदी, खोला वा पानीको कुनै स्रोत थुन्न फर्काउन वा त्यसमा कुनै हानिकारक वा विस्फोटक पदार्थहरु प्रयोग गर्न ।

यसैगरी दफा १० मा यस ऐनको अनुसूची १ मा उल्लेखित वन्यजन्तु संरक्षित वन्यजन्तु मानिनेछन्, र त्यस्ता वन्यजन्तुको शिकार गर्न निषेध गरिएको छ भन्ने उल्लेख छ । ऐनको दफा १० सँग सम्बन्धित अनुसूची १ मा संरक्षित वन्यजन्तुमाः स्तनधारी जन्तु (म्यामल्स)हरूमाः आसामी रातो बाँदर, सालक, हिसपिड खरायो, सोधंस, ब्वाँसो, हिमाली रातो भालु, हाब्रे (रेडपाण्डा) लिङसाङ, हुँडार, चरीबाघ (लेपर्ड क्याट), लिक्स, ध्वाँसे चितुवा, बाघ, हिउँ चितुवा, जंगली हात्ती, गैँडा, सानो जातको बँदेल, कस्तुरी मृग, बाह्रसिंगा, अर्ना, कृष्णसारलगायत पन्क्षीहरूमा कालो÷सेतो स्टर्क, सारस, डाँफे, मोनाल, खरमजूर, सानो खरमुजूर, ठूलो धनेशआदिको सिकार गर्न हुँदैन । यसैगरी घर्सने जातको जन्तु (रेपटायल्स) हरूमाः अजजिङ्गर, घडीयाल गोही र सुनगोहोरी समेतको शिकार गर्न हुँदैन । तर बौलाएको जंगली हात्ती, मानिस खान पल्किएको बाघ र नबाँच्ने किसिमले रोगग्रस्त भएका वा अङ्गभङ्ग भएका वन्यजन्तुलाई तोकिएको अधिकारीको आदेशले मार्न वा पक्रन सकिनेछ भन्ने समेत व्यवस्था गरिएको छ ।

यसका साथै वनक्षेत्र बाहिर आई मानिस वा घरपालुवा पशुपन्क्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मार्नु पर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न पक्रन वा लखेट्न सकिनेछ भन्ने कानुनी व्यवस्था गरिएको छ । अनुज्ञाापत्र प्राप्त नगरी कुनै पनि व्यक्तिले वन्यजन्तुको शिकार गर्न नपाउने व्यवस्था गरिएको छ । यदि कसैले आफूले पाएको अनुज्ञापत्रबमोजिम आखेटोपहार प्राप्त गर्ने व्याक्तिले त्यस्त आखेटोपहार प्राप्त गरेको समयले बाटोको म्यादबाहेक चौबीस घण्टाभित्र अनुज्ञापत्र दिने अधिकारी वा निजले तोकेको अधिकारीसमक्ष पेश गर्नुपर्नेछ । त्यस्तो अधिकारीले पनि लगत राखी तोकिएबमोजिमको निस्सासहित त्यस्ता वन्यजन्तुको सम्पूर्ण शरीर वा अङ्ग पेश गर्ने व्याक्तिलाई नै फिर्ता बुझाइ दिनु पर्छ भन्ने व्यवस्था रहेको छ ।

दण्ड सजायसम्बन्धी व्यवस्था

ऐनको दफा २६ र सोका विभिन्न उपदफाहरूमा दण्ड सजायसम्बन्धी व्यवस्था गरिएको छ । गैरकानुनी तरिकाले गैडा, बाघ, हात्ती, कस्तुरी, मृग, ध्वाँसे, चितुवा, हिउँ चितुवा, वा गौरी गाई मार्ने घाइते बनाउने, खरिद गर्ने बिक्री गर्ने, वा हस्तान्तरण गरि लिने दिने तथा गैँडाको खाग वा कस्तुरीको बिना हिउँ चितुवाको छाला, तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने वा बिक्री गर्ने व्यक्तिलाई पाँच लाख रूपैयाँदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । उपदफा (१क) राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष वा शिकार आरक्ष वा संरक्षण क्षेत्रलाई कुनै किसिमले अतिक्रमण, वा कब्जा गर्ने वा बिक्री गर्ने वा सो प्राकृतिक बनावट वा सौन्दर्यमा कुनै किसिमको हानिनोक्सानी पु¥याउने व्यक्तिलाई दश वर्षसम्म कैद वा दश लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । माथि दफा २६ को उपदफा १ मा उल्लेखित संरक्षित वन्यजन्तुबाहेक अन्य वन्यजन्तु मारेमा वा घाइते बनाएमा एक लाख रूपैयाँ देखि पाँच लाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । कसुर ठहरिने कुनै अपराध गर्ने व्यक्तिलाई जानी जानी मद्दत दिएमा त्यस्ता मद्दत गर्ने मतियारलाई कसुरदारलाई हुने सजायको आधी सजाय हुनेछ भन्ने समेत व्यवस्था गरिएको छ । तर गैँडा बाघ कस्तुरी मृग र हात्तीसित सम्बन्धित कसुर गर्ने व्यक्तिलाई कसुरदारलाई हुने सजाय सरह नै सजाय हुनेछ भन्ने समेत व्यवस्था छ । अन्य कसुरको प्रकृति र मात्राअनुसार कम सजाय हुने व्यवस्था गरिएको छ ।

पुरस्कारको व्यवस्था

उक्त ऐनको दफा २५ मा गैडा, बाघ, हात्ती, कस्तुरी, मृग, ध्वाँसे, चितुवा, हिउँ चितुवा, वा गौरी गाई मार्ने घाइते बनाउने, खरिद गर्ने बिक्री गर्ने, वा हस्तान्तरण गरि लिनेदिने तथा गैँडाको खाग वा कस्तुरीको बिना हिउँ चितुवाको छाला, तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने वा बिक्री गर्ने व्यक्तिलाई पक्राउ गर्नेलाई पचास हजार रूपैयाँसम्म पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै माथि उल्लेखितबाहेक अन्य संरक्षित वन्यजन्तुको शिकार गर्ने वा घाइते बनाउने वा आखेटोपहार राख्ने व्यक्तिलाई पक्राउ गरेमा पच्चीस हजार रूपैयाँसम्म पुरस्कारको व्यवस्था गरिएको छ भने अन्यको हकमा दश हजार रूपैयाँसम्म व्यवस्था गरिएको छ ।

गिरफ्तार, म्याद थप, मुद्दा दायरी र पुनरावेदनसम्बन्धी व्यवस्था

प्रस्तुत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणसम्बन्धी ऐन २०२९ को दफा २४ मा गिरफ्तार गर्नेसम्बन्धी व्यवस्था गरिएको छ । दफा २४ (क)मा म्याद थपसम्बन्धी व्यवस्था गरिएको छ । सम्बन्धित अधिकारीले यस्ता मुद्दामा मानिस पक्राउ गरेको मितिदेखि पैँतालीस दिनसम्म थुनामा राखी अनुसन्धान गर्न सक्ने म्याद दिन सक्नेछ सोपश्चात् दफा ३० मा राष्ट्रिय निकुञ्ज कार्यालय वा आरक्ष कार्यालय वा वन्यजन्तु संरक्षण कार्यालयमा मुद्दा पेश गर्नु पर्नेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को उपदफा (१), (१क) र (२) बमोजिमका मुद्दा सम्बन्धित जिल्ला अदालतमा पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । मुद्दा दायर गर्दा सम्बन्धित अधिकारीले सम्बन्धित जिल्लाको सरकारी वकिलसँग राय परामर्श लिन सकिने समेत व्यवस्था गरेको छ । दफा ३१ मा मुद्दा हेर्ने अधिकारीसम्बन्धी व्यवस्था गरिएको छ । ऐनको दफा २६ को उपदफा (१), (१क) र (२) बमोजिमका मुद्दामा विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ भने यस्ता मुद्दाको जिल्ला अदालतबाट सुरु कारवाही र किनारा हुनेछ । सम्बन्धित अधिकारीले गरेको फैसलाउपर जिल्ला अदालतसमक्ष चित्त नबुझे ३५ दिनभित्रमा पुनरावेदन गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । जिल्ला अदालतले गरेको फैसलाउपर भने माथिल्लो अदालतमा पुनरावेदन गर्नु पर्ने व्यवस्था रहेको छ ।

मानव वन्यजन्तुबीच द्वन्द्वः ऐनमा बौलाएको जंगली हात्ती, मानिस खान पल्किएको बाघ र नबाँच्ने किसिमले रोगग्रस्त भएका वा अङ्गभङ्ग भएका वन्यजन्तुलाई तोकिएको अधिकारीको आदेशले मार्न वा पक्रन सकिनेछ भन्ने समेत व्यवस्था गरिएको छ । खासगरी यस्ता द्वन्द्वमा गैँडा हात्ती, बाघ, भालु, बँदेल, बाँदर, गुना आदिले मानववस्ती, घरेलु खेतबारी र पाखोबारी, पानी घाट, दाउरा घाँसपात र स्याउलो सोत्तर गर्ने बनजंगलमा पसेर त्रासदी आक्रमण गर्ने गरेको पाइन्छ । पछिल्लो समयमा खासगरी भोजन र पानीको खोजी गर्दै जंगली जनावर गाउँवस्तीमा प्रवेश गर्दै धनजनमा क्षति पु¥याएको पाइन्छ । जंगली जनावरका लागि सिमसार क्षेत्र र पानीका स्रोतहरूको अभाव हुँदै गएका छन् । जब जब जंगली जनावरलाई भोजन पानी र संरक्षण क्षेत्रमा अभाव हुन्छ तब यिनीहरूले वस्तीभित्र पस्दै आतंक फैलाउने गरेको पाइन्छ । मानिसहरू पनि वन पैदावार तामा निगुरो जस्ता वस्तुको खोजी गर्न जंगलक्षेत्रमा पस्नुले जंगली जनावरको आक्रमणमा परेको पाइन्छ । वनक्षेत्र बाहिर आई मानिस वा घरपालुवा पशुपन्क्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मार्नु पर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न पक्रन वा लखेट्न सकिनेछ भन्ने कानुनी व्यवस्था गरिएको छ ।

निकुञ्ज वा आरक्ष वा संरक्षण क्षेत्र नरही डिभिजन वन कार्यालय रहेको वन क्षेत्रमा संरक्षित वन्यजन्तुले दुःख हैरानी दिएमा त्यस्तो वन्यजन्तुलाई सम्बन्धित डिभिजन वन अधिकृतले सम्बन्धित जिल्लाको सुरक्षा निकाय र अधिकारीसमक्ष त्यस्तो कुराको सूचना गराई सुरक्षा समितिको निर्णयानुसार त्यस्ता हिंस्रक वन्यजन्तुलाई मार्न सक्ने तथा धपाउन लखेट्न सकिने व्यवस्था रहेको छ । मानव वन्यजन्तुबीच द्वन्द्वका कारण र समस्याः मुख्यगरी जंगली जनावर तथा वन्यजन्तुसँगको द्वन्द्वमा गैँडा हात्ती, बाघ, भालु, बँदेल, बाँदर, गुना आदिले मानववस्ती, घरेलु खेतबारी र पाखोबारी, पानी घाट, दाउरा घाँसपात र स्याउलो सोत्तर गर्ने वनजंगलमा पसेर त्रासदी आक्रमण गर्ने गरेको पाइन्छ । यसैगरी मानिसहरूले पनि वन पैदावार तामा निगुरो जस्ता वस्तुको खोजी गर्न तथा अवैध वन्यजन्तुको चोरी शिकार गर्न जंगल क्षेत्रमा पस्नुले जंगली जनावरबाट आक्रमणमा परेको पाइन्छ । मानव वन्यजन्तु बीचको द्वन्द्वबाट बच्न सकिने उपाय र समाधानः अख्तियारवालाको अनुमतिपत्र नलिई निकुञ्ज तथा संरक्षित क्षेत्रमा प्रवेश गर्न नहुने, हिंस्रक जनावरको आवतजावत हुने ठाउँमा मानिसले आवतजावत र खेतीपाती गर्न नहुने, निषेधित क्षेत्रमा मानिसले वनजन्य पैदावार तामा निगुरो च्याउ, जंगली सागपात जस्ता वस्तु टिप्न एक्लै जान हुँदैन । यसैगरी संरक्षित वन्यजन्तुलाई आवास, खाना र पानीको अभाव नहुन मानिसले आवश्यक व्यवस्था मिलाउन सकेमा संरक्षित क्षेत्रभित्र वा बाहिर वन्यजन्तुलाई लोभ्याउने खानेकुरा राख्न हुँदैन । यसतर्फ सम्बन्धित सबैले सावधानी अपनाउन सकेमा वन्यजन्तुको आक्रमणबाट सुरक्षित हुन सकिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार