सगरमाथा टोल विकास संस्थामा नयाँ कार्यसमिति



बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित सगरमाथा टोल विकास संस्थाको आठाँै साधारणसभा तथा चौथौ अधिवेशन सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनले पुनः ध्रुव पाण्डे अध्यक्ष रहेको नयाँ कार्यसमिति गठन गरेको छ । संस्थाको उपाध्यक्ष देवी न्यौपाने, सचिव अरुण अर्याल, सहसचिव कमला पोखरेल आचार्य र कोषाध्यक्षमा विष्णु गौतम निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक तुल्सीराम भण्डारीले जानकारी दिए ।

त्यस्तै समितिको सदस्यहरूमा सरु थापा, मधुकृष्ण पौडेल, सिता गौतम, नारायण अर्याल, हरि चापागाई, सन्तोष पोखरेल रहेका छन् । लेखा समितिको संयोजकमा विष्णु भण्डारी र सदस्यमा ज्योती पोखरेल, मोहनप्रसाद सापकोटा चयन भएका छन् । उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर २ का अध्यक्ष डिलबहादुर भट्टराईले टोल तथा गाउँको विकासका लागि सबै एकताबद्ध हुनुपर्ने बताए ।

वडाध्यक्ष भट्टराईले टोलवासी सबै मिलेमा टोलको विकास हुन सक्ने बताउँदै आआफ्ना टोलको विकासका कामदेखि सरसफाइ, खानेपानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा सक्रिय भएर लाग्न टोलवासीलाई आग्रह गरे । कार्यक्रममा उपाध्यक्ष देवी न्यौपाने, सचिव सिर्जना अर्याल, अरुण अर्याल, विष्णु भण्डारी, शारदा नेपाल, टोल सञ्जालका अध्यक्ष सुरज गौतम लगायतले बोलेका थिए ।

संस्थाले तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकमबाट डिजिटल टोल बनाएको छ । २ सय ४० घर रहेको सगरमाथा टोलको विभिन्न ठाउँमा आधुनिक सीसीटिभी क्यामराहरू जडान गरिएको छ ।

देउसी भैलोबाट जम्मा भएको ६ लाख ७० हजारमा जोडिएका १९ वटा क्यामेरा जडान गरेर घरमै बसेर सबै टोलवासीका घरहरू अवलोकन गर्न सकिने संस्थाका अध्यक्ष पाण्डेले बताए । उनले सगरमाथा टोलको क्रियापुत्री भवनमा फ्रि वाइफाईको सुविधासमेत उपलब्ध गराइएको बताए । संस्थाले उत्कृष्ट काम गरेकाले नगरपालिकाबाट पुरस्कृत समेत भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार