जोखिमपूर्ण बन्दै सडक यात्रा, घाइतेसँगै हजारौँको मृत्यु



नन्दराम जैशी । सुर्खेत ।

पछिल्लो समय देशभरको सडक यात्रा जोखिमपूर्ण बन्दै गएको छ । सवारीसाधनको तीव्र वृद्धि, कमजोर सडक पूर्वाधार र लापरबाहीपूर्ण सवारी चलाउने प्रवृत्तिका कारण सडक दुर्घटना गम्भीर समस्याका रूपमा देखिएको हो । तथ्यांकअनुसार आर्थिक वर्ष २०८१–०८२ मा मात्रै सवारी दुर्घटनाका कारण देशभर दुई हजार ३८९ जनाको मृत्यु भएको छ भने ३६ हजार ३५० जना घाइते भएका छन् ।

सवारी दुर्घटनामा एक वर्षमै हजारौँको घाइते र मृत्यु हुनुलाई मानवीय सुरक्षाको दृष्टिकोणले विश्व स्वास्थ्य संगठनले गम्भीर समस्याका रूपमा लिएको छ । संगठनले तयार पारेको आर्थिक वर्ष २०८१–०८२ को तथ्यांकले नेपालभर सवारी दुर्घटनाबाट हुने मानवीय क्षति थप भयावह अवस्थामा पुग्ने देखाएको छ । प्रदेशगत तथ्यांकअनुसार देशका सातवटै प्रदेश र काठमाडौँ उपत्यकामा हजारौँ व्यक्ति घाइते हुनुका साथै सयौँले ज्यान गुमाएका छन् ।

तथ्यांकअनुसार एक वर्षमै सबैभन्दा बढी सवारी दुर्घटनाबाट घाइते हुनेमा मधेश प्रदेशमा १२ हजार १२३ जना रहेका छन् भने मधेशमा ५६४ जनाको मृत्यु भएको छ, जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी मृतक सङ्ख्या हो । मधेशपछि कोशी प्रदेशमा नौ हजार २४१ जना घाइते र ४१८ जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै सात हजार ९०९ जना घाइते हुँदा १९० जनाले ज्यान गुमाएका छन् । उपत्यकामा सवारी दुर्घटनाको मुख्य कारणका रूपमा सवारी चाप, ट्राफिक नियम उल्लघंन र तीव्र गति रहेको छ । प्रदेशगत विवरणअनुसार लुम्बिनी प्रदेशमा पाँच हजार ६९१ जना घाइते र ५०६ जनाको मृत्यु भएको छ भने बागमती प्रदेशमा चार हजार ७५१ जना घाइते र ३०४ जनाको मृत्यु भएको छ ।

यस्तै गण्डकी प्रदेशमा ५३२ जना घाइते र २६६ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशमा दुई हजार चार जना घाइते र १९२ जनाको मृत्यु र कर्णाली प्रदेशमा दुई हजार आठ जना घाइते र १३९ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार तीव्र गति, ओभरलोड, मदिरा सेवन गरी सवारी चलाउने, चालकको दक्षता अभाव तथा कमजोर सडक पूर्वाधारका कारण कर्णालीमा सवारी दुर्घटना हुने गरेका छन् ।

हिमाली र दुर्गम क्षेत्रहरूमा सडकको अवस्था कमजोर हुँदा कम दुर्घटनामै पनि ठूलो मानवीय क्षति हुने गरेको उनी बताउँछन् । ‘सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक नियमको कडाइ, चालक तालिम, सवारीसाधनको नियमित प्राविधिक परीक्षण र सडक स्तरोन्नति आवश्यक छ,’ उनले भने, ‘सम्बन्धित सरोकारवाला निकायले यदि समयमै प्रभावकारी कदम नचालिए सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अझ बढ्न सक्छ ।’

उपलब्ध तथ्यांकअनुसार कर्णाली प्रदेशमा हिमाली क्षेत्र र दुर्गम भूगोल, साँघुरा तथा जीर्ण सडक पनि दुर्घटनाका कारण बनेका छन् भने वर्षायाममा पहिरो र सवारीसाधनको प्राविधिक अवस्था कमजोर हुनु दुर्घटनाका मुख्य कारण रहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । ट्राफिक प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार विशेषगरी कर्णाली राजमार्ग, सहायक ग्रामीण सडक र कच्ची बाटोहरूमा दुर्घटनाको जोखिम बढी देखिएको छ ।

चालकलाई आवश्यक ज्ञानको कमी, ओभरलोड, तीव्र गति र ट्राफिक नियम उल्लघंनका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले निगरानी बढाएको उनले बताए । देशभरका प्रदेश सरकारहरू र सुरक्षा निकायले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम, ट्राफिक चेकजाँच र सडक सुधारका प्रयास अघि बढाए पनि अपेक्षित सुधार हुन भने सकेको छैन । यसबारे सरोकारवाला तथा स्थानीयवासीले सडक स्तरोन्नति, सुरक्षित यातायात नीति र प्रभावकारी अनुगमनको माग गरेका छन् ।

देशका अन्य प्रदेशसँग तुलना गर्दा कर्णालीमा घाइते र मृतकको सङ्ख्या कम देखिए पनि भौगोलिक कठिनाइका कारण यहाँको एक–एक दुर्घटना निकै पीडादायी र गम्भीर हुने गरेको प्रहरीको भनाइ छ । समयमै प्रभावकारी कदम नचालिए कर्णालीमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अझ बढ्न सक्ने कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बम बताउँछन् ।

‘सडकका कारण सवारी दुर्घटना न्यूनीकरण गर्न नेपालमा सडक सुरक्षा कार्यक्रम लागू गरिएको छ । यो कार्यक्रम सन् २०३० सम्म लागू गरेर सडक दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य छ,’ उनले भने, ‘सडक पूर्वाधार निर्माण गर्दा सकेसम्म सवारी दुर्घटना कम कसरी गर्न सकिन्छ भनेर ध्यान दिने गरेका छौँ । सोहीअनुसार धमाधम सडक निर्माणको काम जारी छन् ।’

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार