बाँके–२ मा इश्तियाक राईसँग सहकार्यका लागि छलफल चल्दैछ : एमाले बाँके अध्यक्ष गुरुङ



नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले बाँके क्षेत्र नम्बर २ मा उम्मेदवारीका लागि पूर्व मन्त्री तथा जनता समाजवादी पार्टीका नेता इश्तियाक राईसँग छलफल भइरहेको पुष्टि गरेका छन् । गुरुङले राईसँग उम्मेदवारीमा सहकार्य गर्नका लागि संवाद भइरहेको मिसन टुडेलाई जानकारी दिए । यद्धपि सहकार्य हुने नहुने भन्ने निर्क्यौल केन्द्रबाटै हुने र सोमबार मात्रै टुंगो लाग्ने उनले बताए । राई एमालेमै आउने भन्ने चर्चाबारे जिज्ञासा राख्दा गुरुङले त्यसबारेमा आफूलाई एकिन जानकारी नभएको बताए । गुरुङले मिसन टुडेसँग भने, ‘पार्टीमै प्रवेश गर्ने भन्ने विषय हाम्रो जानकारीमा छैन । तर, उहाँसँग गठबन्धन र सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ । भोलिमात्रै टुंगो लाग्छ ।’

राई एमालेमा प्रवेश गर्ने नभए एमालेको समर्थन लिएर चुनाव लड्ने चर्चा केही समयदेखि चल्दै आएको थियो । यद्धपि एमालेको जिल्ला कमिटीले बाँके क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्षसमेत रहेका निरक गुरुङ, क्षेत्रीय समन्वय कमिटी सदस्य कृष्णप्रसाद श्रेष्ठ र लुम्बिनी प्रदेश सदस्य अक्षरी पोखरेलको नाम सिफारिस गरेको थियो । सिफारिस भएका श्रेष्ठले आफ्‌नो पक्षमै पार्टीबाट निर्णय आउने पर्खाईमा रहेको बताएका छन् । उनले पनि राईसँग छलफल चलिरहेको सुन्नमा आएपनि एकिन जानकारी नरहेको बताए ।

नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाउँदा बाँके क्षेत्र नम्बर २ सहित केही निर्वाचन क्षेत्रमा अध्यक्षले टुंगो लगाउने भनेर उम्मेदवार यकिन गरेन । अध्यक्षले टुंगो लगाउने भनिएको यस क्षेत्रमा जसपाका नेता तथा पूर्व मन्त्री मोहम्मद इश्तियाक राईलाई उम्मेदवार बनाउन लागेका चर्चा सामाजिक सन्जालमा पनि चलिरहेको छ । बाँके निर्वाचन क्षेत्र नम्बर २ नेपालगन्ज सहर भएको क्षेत्र हो । यस क्षेत्रमा डुडुवा गाउँपालिकासमेत पर्दछ ।

एमालेले अघिल्लो निर्वाचनमा यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा आफ्‌ना उम्मेदवार नउठाएर राप्रपाका डा. धवलशमशेरलाई समर्थन गरेको थियो । डा. राणा विजयी भएर प्रतिनिधिसभा सदस्यसमेत भए । यसपटक पूर्व मन्त्री तथा एमालेले यस क्षेत्रका लागि जनता समाजवादी पार्टीका महासचिव मो. इश्तियाक राईलाई पार्टीमा भित्र्याएर उनैलाई उम्मेदवार बनाउन लागेको चर्चा चलिरहेको छ । राई अहिले एमालेका नेताहरु र अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता भइरहेको छ ।

अघिल्लो निर्वाचनमा राई बाँके निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. राणासँग पराजित भएका थिए । राईले राणाभन्दा ६ हजार ५७ कम मत पाएका थिए । राणाले २९ हजार पाँच सय ७७ मत ल्याएका थिए भन राईले २३ हजार पाँच सय २० मत ल्याएका थिए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले चार हजार चार सय तीन मत प्राप्त गरेका थिए ।

राईले २०७४ को निर्वाचनमा भने २१ हजार पाँच सय ७५ मत प्राप्त गरेका थिए । त्यतिबेला तत्कालीन एमाले र माओवादीसहितको वाम गठबन्धनका उम्मेदवार थिए पशुपतिदयाल मिश्रलाई राईले पाँच हजार ६ सय २४ मतान्तरले पराजित गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार