के बाँके–२ मा एमालेले इश्तियाक राईलाई उम्मेदवार बनाउन लागेको हो ?



नेपालगन्ज, ४ माघ
नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाउँदा बाँके क्षेत्र नम्बर २ सहित केही निर्वाचन क्षेत्रमा अध्यक्षले टुंगो लगाउने भनेर उम्मेदवार यकिन गरेन । अध्यक्षले टुंगो लगाउने भनिएको यस क्षेत्रमा एमालेले जसपाका नेता तथा पूर्व मन्त्री मोहम्मद इश्तियाक राईलाई उम्मेदवार बनाउन लागेका चर्चा सामाजिक सन्जालमा चलिरहेको छ । बाँके निर्वाचन क्षेत्र नम्बर २ नेपालगन्ज सहर भएको क्षेत्र हो । यस क्षेत्रमा डुडुवा गाउँपालिकासमेत पर्दछ ।

एमालेले अघिल्लो निर्वाचनमा यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा आफ्‌ना उम्मेदवार नउठाएर राप्रपाका डा. धवलशमशेरलाई समर्थन गरेको थियो । डा. राणा विजयी भएर प्रतिनिधिसभा सदस्यसमेत भए । यसपटक एमालेले यस क्षेत्रका लागि पूर्व मन्त्री तथा जनता समाजवादी पार्टीका महासचिव मो. इश्तियाक राईलाई पार्टीमा भित्र्याएर उनैलाई उम्मेदवार बनाउन लागेको चर्चा चलिरहेको छ । राई अहिले एमालेका नेताहरु र अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा रहेको स्रोतले बताएको छ । राई एमालेमा प्रवेश गर्ने नभए एमालेको समर्थन लिएर चुनाव लड्ने चर्चा केही समयदेखि चल्दै आएको थियो ।

अघिल्लो निर्वाचनमा राई बाँके निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. राणासँग पराजित भएका थिए । राईले राणाभन्दा ६ हजार ५७ कम मत पाएका थिए । राणाले २९ हजार पाँच सय ७७ मत ल्याएका थिए भन राईले २३ हजार पाँच सय २० मत ल्याएका थिए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले चार हजार चार सय तीन मत प्राप्त गरेका थिए ।

राईले २०७४ को निर्वाचनमा भने २१ हजार पाँच सय ७५ मत प्राप्त गरेका थिए । त्यतिबेला तत्कालीन एमाले र माओवादीसहितको वाम गठबन्धनका उम्मेदवार थिए पशुपतिदयाल मिश्रलाई राईले पाँच हजार ६ सय २४ मतान्तरले पराजित गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार