रास्कोटमा सवारी प्रवेश कर हटाइयो



कालीकोट ।

जिल्लाको रास्कोट नगरपालिकाले सवारी तथा ढुवानीका साधनबाट उठाउँदै आएको पटके सवारी कर हटाउने निर्णय गरेको छ ।नगरसभामार्फत निर्णय गर्दै नगर क्षेत्रमा प्रवेश गर्ने सवारीसाधनबाट लिइँदै आएको कर हटाइएको हो । रास्कोट नगरपालिका–६ अन्तर्गत पर्ने सान्नीगाड प्रवेशद्वारदेखि रास्कोटतर्फ जाने सवारी तथा ढुवानीका साधनबाट सडक सेवा शुल्कका नाममा कर उठाउने गरिएको थियो ।

उक्त कर उठाउने विषयमा सञ्चारमाध्ययमले आवाज उठाउँदै आएपछि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भएको थियो । जिल्ला प्रशासन कार्यालयले चार पटकसम्म पत्राचार गरे पनि नगरपालिकाले प्रशासनलाई छल्ने उद्देश्यले सवारी प्रवेश कर बन्द गरिएको भनी नक्कली पत्र पठाइएको थियो । उक्त पत्र नगरप्रमुख धर्मराज शाहीले पठाएको भन्दै यसबारे समीक्षा गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गर्दै उपसचिव महेन्द्रजङ्ग शाहीले प्रदेशका अन्य स्थानीय तहमा सवारी करको अवस्था अध्ययन गरी यसबारे तत्काल छलफल गर्ने बताएका थिए । त्यसपछि बसेको नगरपालिकाको १७औँ हिउँदे अधिवेशनले सवारी प्रवेश कर हटाउने निर्णय गरेको हो । नगरपालिकाले ग्रामीण पहुँच कार्यक्रम तेस्रो (¥याप–थ्री)अन्तर्गत निर्माण भएको सान्नीगाड–आरसिपी–सेराचौर १८ किलोमिटर सडकखण्डमा सञ्चालन हुने सवारीसाधनबाट कर उठाउने गरेको थियो । यसबारे जिल्ला प्रशासन कार्यालय हुँदै गृह मन्त्रालयसम्म गुनासो पुगेको थियो ।

नगरपालिकाको आर्थिक ऐन २०८२ को अनुसूची–३ अन्तर्गत सवारीसाधन प्रवेश कर लगाइए पनि हटाउने निर्णय गरिएको नगरप्रमुख शाहीले बताए । उनका अनुसार नगरवासी, विभिन्न क्षेत्रका बुद्धिजीवी तथा राजनीतिकर्मीहरूको सुझावका आधारमा पनि यस्तो निर्णय गरिएको हो ।
नगरपालिकाले यसअघि ठूला बसबाट प्रतिदिन २५० रूपैयाँ, मालवाहक गाडीबाट ५०० रूपैयाँ र व्यावसायिक जीपबाट प्रतिदिन १५० रूपैयाँ सडक सेवा शुल्क लिँदै आएको थियो ।

नगरपालिकाको आन्तरिक आम्दानीका लागि ठीक भए पनि चारैतिरबाट गुनासो आएपछि हिउँदे नगरसभाबाट कर हटाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । सवारी करसम्बन्धी निर्णय नगरसभाबाट नै भएको थियो । तर त्यसविरुद्ध सवारी धनी, चालक तथा स्थानीयवासीले विरोध जनाउँदै जिल्ला प्रशासन कार्यालयमा समेत लिखित गुनासो गरेका थिए । सो गुनासो संघीय गृह मन्त्रालयसम्म पुगेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार