नेपाल विभिन्न किसिमका बहुविपद् जोखिमयुक्त देश हो । विभिन्न समयमा नेपालमा विपद्जन्य घटनाहरू दोहोरिइरहेका हुन्छन् । नेपाल भूकम्पीय जोखिमको उच्च खतरा रहेको देश पनि हो । भौगर्भिक रूपमा नेपाल भारतीय प्लेट र युरेसियन प्लेट (एशियाली प्लेट)को बीचको भूगर्भमाथि अवस्थित छ । ती दुवै प्लेटहरू विस्तारै एकअर्कामा ठोक्किइरहेका छन् । त्यही टकरावले संसारको सबैभन्दा अग्लो पर्वत श्रृंखला हिमालय बनाएको हो । तर यो टकराव अझै रोकिएको छैन, जसले भूगर्भमा ठूलो तनाव जम्मा गरिरहेको छ । त्यही तनाव अचानक फुट्दा ऊर्जा उत्पन्न हुन्छ र भूकम्प जान्छ । यी दुईवटा प्लेटको टकराव हिमालयन थ्रस्ट नामक भूमिगत दरारमा भइरहेको छ । जुन दरार नेपालको दक्षिणी भाग (तराई)देखि उत्तरी भाग (तिब्बत)सम्म फैलिएको छ । पछिल्ला वर्षहरूमा भएका केही अध्ययनहरूले नेपालमा भूकम्पको जोखिमलाई वैज्ञानिक रूपमा मूल्यांकन गरेका छन् । ती अध्ययनले नेपाल सधैँ ठूलो भूकम्पको जोखिममै रहेको देखाउँछ । जिओइन्भाइरोमेन्टल डिजास्टरमा २०२५ मा प्रकाशित एक अध्ययनले नेपालको मध्य र पश्चिमी भागमा ठूला भूकम्पहरू जाने उच्च सम्भावना रहेको देखाएको छ ।
भूकम्पको जोखिम मापन गर्ने तरिकाहरूको समीक्षा गरिएको उक्त अध्ययनले नेपालको मध्य र पश्चिमी क्षेत्रमा भूमिगत दरारहरू लामो समयदेखि नचलेर स्थिर अवस्थामा रहेका देखाएको छ ।
काठमाडौँजस्ता ठूला सहरहरूमा भूकम्पको झट्का धेरै बलियो हुन सक्ने र त्यसले भवनहरू ढलाउने खतरा बढाउने उक्त अध्ययनमा उल्लेख छ । यस्तै सन् २०२१ मा अप्लाइड कम्प्युटिङ एण्ड जिओसाइन्सेस जर्नलमा प्रकाशित एक अध्ययनले नेपालमा भूकम्पीय जोखिमको वर्तमान अवस्था मापन गर्न ‘अर्थक्वेक नाउकास्टिङ्ग’ नामक विधि प्रयोग गरेको थियो । उक्त अध्ययनले सन् १९७० देखि २०२० सम्मको भूकम्पीय तथ्यांकहरूबाट देशका २४ वटा प्रमुख सहरहरूमा भूकम्पको जोखिम ‘अर्थक्वेक पोटेन्सियल स्कोर’ (ईपीएस)मा मापन गरेको छ । जसले नेपालका बढी जनघनत्व भएका सहरहरूमा ५९ देखि ९९ प्रतिशतसम्म ईपीएस रहेको देखाएको छ । ९० प्रतिशतभन्दा बढी ईपीएस रहेका सहरमध्ये उक्त अध्ययनले सुर्खेतको वीरेन्द्रनगर ९९ प्रतिशत, नेपालगन्ज र तिलोत्तमा ९७ प्रतिशत, बुटवल ९६ प्रतिशत, काठमाडौँ, ललितपुर, जनकपुर ९५ प्रतिशत जोखिममा रहेको देखाएको छ । यसैगरी, कञ्चनपुर, धनगढी ९४ प्रतिशत जोखिममा रहेको छ भने ९० प्रतिशत बढी जोखिममा रहेका अन्य सहरहरूमा वीरगन्ज, भरतपुर, दमक, धरान, हेटौँडा, इटहरी, पोखरा, बारालगायत रहेका छन् । यो तथ्यांकले नेपालको पश्चिमी क्षेत्र अझै पनि भूकम्पको उच्च जोखिममा रहेको देखाउँछ ।
यसैगरी अमेरिकाका विभिन्न विश्वविद्यालयको सहकार्यमा ६ वर्ष लगाएर गरिएको एक अर्काे अध्ययनले पश्चिम नेपालको एक सय ५० माइल लामो दरार प्रणालीमा पछिल्लो १०,००० वर्षमा तीनवटा ठूला सतह–फुट्ने भूकम्प गएको देखाएको छ । यसबाहेक १४ वटासम्म ठूला भूकम्पहरूको गएको उक्त अध्ययनले देखाएको छ । भूकम्पको जोखिम उच्च रहँदा २०७२ सालको गोरखा भूकम्पपछि नेपालमा भूकम्पप्रतिको पूर्वतयारी र क्षति न्यूनीकरणमा केही सुधार भएको एक अर्काे अध्ययनले देखाएको छ । सन् २०२४ मा प्रकाशित उक्त अध्ययन प्रतिवेदनले गोरखा भूकम्पपछि केही नीतिगत तथा कार्यगत सुधारका कामहरू भएको उल्लेख गरेको छ । भूकम्पीय सुरक्षासम्बन्धी कामहरूको जिम्मेवारी संघीय, प्रादेशिक र स्थानीय सरकारमा बाँडिएको उक्त प्रतिवेदनमा उल्लेख छ । यद्यपि अझै पनि समन्वयको कमी, स्रोतसाधनको अभाव र सामाजिक असमानता चुनौतीका रूपमा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ । यसैगरी नीतिगत व्यवस्था र कार्यान्वयनको वास्तविकता भने मेल नखाइरहेको उक्त प्रतिवेदनले औँल्याएको छ । उक्त प्रतिवेदनले विपद्को जोखिममा रहेका समुदायहरूलाई सचेत बनाउने, विपद् प्रतिकार्यमा सहज बनाउने क्रियाकलापहरूलाई प्रोत्साहन गर्ने तथा नेपालको अवस्था अनुसारका प्रविधिहरूको प्रसारलाई बढावा दिनुपर्ने सुझाव पनि दिएको छ । सम्भावित भूकम्पको जोखिमबाट बच्नका लागि पूर्वतयारी आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्