बढ्यो गड्यौला मलको माग



गणेश रावत । कोेहलपुर ।

कोहलपुर नगरपालिका–१४ प्रेमनगरका स्थानीय सुधिर सिंहलाई गड्यौलाबाट उत्पादित प्राङ्गारिक मल किसानलाई पु¥याउन हम्मेहम्मे परेको छ । उनले उत्पादन गरेको प्राङ्गारिक मल किसानहरूको मागअनुसार पु¥याउन हम्मेहम्मे परेको हो । उनका अनुसार कच्चा पदार्थ अभावका कारण अहिले गड्यौलाबाट उत्पादित प्राङ्गारिक मलको माग धान्न गाह्रो भएको छ ।

प्रत्येक वर्ष उत्पादन बढाउनलाई कच्चा पदार्थ पर्याप्त मात्रामा नहुँदा किसानहरूको माग धान्न सक्ने अवस्था नरहेको उनी बताउँछन् । प्राङ्गारिक मल उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ अन्य प्रदेशबाट आयात गर्दा निकुञ्जले रोक्ने र स्थानीयस्तरमा कच्चा पदार्थ पाउन समस्या रहेकाले किसानहरूको माग धान्न गाह्रो भएको उनी बताउँछन् ।

त्यसका लागि प्रदेश र संघीय वन मन्त्रालयसम्म पुगे पनि समस्या समाधान नभएको भन्दै उनले दुःखेसो पोखे । धनवर्षा इण्डस्ट्रिज एण्ड बायो टेक्नोलोजी प्रालि दर्ता गरेर गड्यौलाबाट वार्षिक १५ सय मेक्ट्रिकटन प्राङ्गारिक मल उत्पादन गर्ने गरेको उनले जानकारी दिए । विगत नौ वर्षदेखि गड्यौलाबाट उत्पादित प्राङ्गारिक किसानहरूको घरसम्म पु¥याउने गरेको उनले मिसन टुडेलाई बताए ।

‘जैविकशक्ति दानेदार प्राङ्गारिक मल’ नामक ब्राण्ड बनाएर देशभर बिक्री वितरण गरिरहेको उनको भनाइ छ । गुणस्तर परीक्षण गरेर गुणस्तरीय प्राङ्गारिक मल किसानहरूलाई बिक्री वितरण गरिरहेको उनी बताउँछन् । ‘हामीले गुणस्तरीय प्राङ्गारिक मल उत्पादन गरेर किसानलाई बिक्री गर्ने गरेका छौँ,’ उनले भने, ‘त्यसैले पनि उत्पादन गर्न थालेदेखि अहिलेसम्म कुनै किसिमको नराम्रो गुनासो सुन्न परेको छैन् । बरु किसानले मल प्रयोग गरेदेखि माटो राम्रो हुनुका साथै उत्पादन वृद्धि भएको बताउने गरेका छन् ।’

स्वदेशमा केही गर्ने इच्छाशक्ति भएकाले श्रीमान् र श्रीमती मिलेर ३५ हजार लगानीबाट कम्पनी दर्ता गरेर मल उत्पादन सुरु गरेको उनी बताउँछन् । दुवै जनाले कृषि पढेकाले पनि रासायनिक मलको बढ्दो प्रयोगले माटो बिग्रेकाले त्यसलाई रोक्न प्राङ्गारिक मल उत्पादनमा लागिपरेको बताए । अहिले कम्पनी सञ्चालन गरेर २० जनालाई रोजगारी प्रदान गर्नुका साथै माटोलाई बिग्रनबाट थोरै भए पनि बचाउन सफल भएको उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा सूचीकृत प्राङ्गारिक मल उत्पादक संस्था पहिलोसमेत रहेको उनले जानकारी दिए ।
किसानहरू बजारमा प्राङ्गारिक मल खोज्न जाने, तर गुणस्तरीय मल नपाउँदा फर्किने गरेको समेत उनले बताए । किसानहरूले खोजेजस्तै गुणस्तरीय मल सबैलाई पु¥याउन उत्पादन बढाउँदै लैजाने योजना रहेको उनले जानकारी दिए ।

‘हामीले अहिले किसानहरूले माग गरेअनुसार मलको आपूर्ति गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘१५ सय मेक्ट्रिकटन मात्रै उत्पादन गर्न सकेका छौँ । अब यसलाई बढाएर १० देखि १५ हजार मेक्ट्रिकटन उत्पादन पु¥याउनका लागि प्रदेश मन्त्रलायमा अनुमतिका लागि निवेदन पठाइसकेका छौँ ।’

त्यसका लागि आवश्यक पर्ने सामाग्री र कच्चा पर्दाथको तयारी थालेको उनी बताउँछन् । अर्गानिक र शुद्ध कच्चा पदार्थबाट प्राङ्गारिक मल उत्पादन गर्ने गरेको भन्दै उनी यस वर्षको हालसम्म ८ सय ५० मेक्ट्रिकटन मल उत्पादन गरेर बिक्री गरेको बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार