सिंजा – इतिहास, भाषा र लोक संस्कृतिको अनुपम खजाना



राजेन्द्र प्रसाद धिताल
आधुनिक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नक्शामा कर्णाली प्रदेशको जुम्ला जिल्लामा पर्ने सिंजा क्षेत्र हिमा नदीको किनारमा अवस्थित सुन्दर हिमाली उपत्यका हो । प्राचिन खस साम्राज्यको राजधानीको गौरब बोकेको सिंजा उपत्यका र त्यस क्षेत्र सेरेफेरोको भूभागलाई वर्तमान राज्य संरचनाको विभाजन अनुसार हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका गरी तीन वटा पालिकामा विभाजन गरिएको छ । हिमा नदीको किनार भएर होला अथवा नदीले चिरा पारेका भूभाग भएर होला यसलाई स्थानिय भाषामा कतै सिंजा दरा तथा कतै सिंजा खोला भनिएको पाइन्छ । विगतमा यस क्षेत्रको प्रशासनिक विभाजन पाखा, दरा र गाउँको रुपमा गरिएको पाइन्थ्यो यस अघि सिंजा क्षेत्रलाई ११ वटा गा.वि.स.मा विभक्त गरिएको थियो ।  हिमाली सौन्दर्य र फलफूल एवं जडीवुटीको सुगन्धले भरिएको सुन्दर सिंजा उपत्यकालाई सिजा, सिञ्जा, सिंजा त कतै सेंजा पनि भनिएको पाइन्छ । सिंजा शब्दको अर्थ र व्युत्पत्तिका सम्वन्धमा ठोस प्रमाणित अभिव्यक्ति भेटिदैन । यस क्षेत्रका प्राचीन शासकहरुलाई कतै सिंजापति त कतै सेंजाधिपति भनिएको ऐतिहासिक तथ्य आधारमा यो क्षेत्र सिंजा क्षेत्र अथवा सेंजा क्षेत्र रहेको स्पष्ट हुन्छ ।
तिब्बती भाषामा सिंजालाई याँचे भनिएको छ । यसको अर्थ तपोभूमि अथवा ध्यान गर्न योेग्य स्थल भन्ने बुझिन्छ । शिव तथा जालन्धर सभ्यताको संगमस्थल भएकोले यस क्षेत्रलाई सिंजा भनिएको किंवदन्ती समेत यहाँ पाइन्छ । कतै कतै चिनको सिंजियान वा सिगात्सेसँग जोडेर पनि यसको नामाकरण भएको भन्ने जनश्रुति पाइन्छ । नेपाली मूल सभ्यता खस आर्य सभ्यताको केन्द्र सिंजा क्षेत्र सपादलक्ष्य र जावेश्वरका नामले समेत चिनिन्छ ।
ऐतिहासिक पृष्ठभूमिमा  सिंजा
नेपाली सभ्यतामध्ये कर्णाली सभ्यता एक समृद्ध सभ्यता मानिन्छ । प्राचीन कालमा कर्णाली प्रदेशलाई स्वर्णस्थल भनिन्थ्यो । वि.सं. एघारौं शताब्दीको मध्येदेखि खस सम्राट नागराजले शुरुमा मानव भूतल, त्यसपछि कुन्दलवन–यारी र त्यसपछि सिंजा लामाथाडामा आई सिंजा क्षेत्रलाई खस साम्राज्यको मुख्य गढको रुपमा कायम गरेको र त्यसपछि यस भूमिलाई सपादलक्ष्य अर्थात सवा लाख गाउँ भएको भूमि भनिएको कुरा लेखक रत्नाकर देवकोटाले आफ्नो पुस्तक जुम्ला राज्यको ऐतिहासिक विवेचनामा उल्लेख गरेका छन् । यस विशाल खस साम्राज्यको पूर्वमा बेत्रावती नदी, पश्चिममा स्पितिलदहौल–लवणिका, दक्षिणमा गंगा नदी र उत्तरमा तिब्बतसम्म फैलिएको कुरा लेखक देवकोटाले उल्लेख गरेका छन् । भारतको कश्मिरबाट कुमाउ गढवाल हुँदै उत्तरतिर हिँडेका खसहरुले तत्कालिन तिब्बतको राजनैतिक अस्थिरताको लाभ उठाउँदै कुटनैतिक चातुर्य र सैन्यशक्तिको बलमा नागराजलाई शक्तिशाली सम्राट बनाएका थिए । त्यतिनै बेला ऐतिहासिक सिंजा उपत्यका खस साम्राज्यको राजधानी बन्न पुगेको थियो । नागराजको मृत्युपछि उनका छोरा चाप सिंजाका राजा भए । त्यसपछि क्रमश चापिल्ल, क्राशीचल्ल, क्राधीचल्ल, क्राचल्ल र अशोक चल्लले सिंजा साम्राज्यमा शासन गरे । अशोक चल्लको देहावसान पछि जितारी चल्ल गद्दीमा बसे । यिनै जितारी चल्लले आफ्नो नामको अगाडी मल्ल लेख्न शुरु गरे यिनको शासनकालमा सिंजा साम्राज्य निकै शक्तिशाली रहेको तथ्य इतिहासकारहरुले उल्लेख गरेका छन् । जितारी मल्लले काठमाण्डौं उपत्यकामा तीन पटक हमला गरेको तथ्य इतिमा पढ्न पाइन्छ ।
उनले पहिलो पटक हमला गर्दा काठमाण्डौंमा अनन्त मल्ल शासन गर्दथे । जितारी मल्लपछि यिनका भाई रिपु मल्ल राजा भए । त्यसपछि क्रमश आदित्य मल्ल, पुन्य मल्ल, पृथ्वी मल्ल, सुर्य मल्ल र अभय मल्लले सिंजा साम्राज्यको शासन गरे । अभय मल्ल वि.सं. १४३४ देखी १४४० का विचमा सिंजाका राजा भएको अनुमान इतिहासकारहरुले गरेका छन् । राजा अभय मल्लका पालामा सिंजा दरवारमा वर्मा थर भएका भारदारहरु निकै शक्तिशाली भए । यिनै बर्मा मध्येका नलै बर्माले राजा अभय मल्ललाई अपदस्थ गरी आफू राजा भए । बर्माहरुको आदिपत्य पश्चात सिंजा साम्राज्य खण्डित बन्न पुग्यो । यसअघि यो साम्राज्य निकै शक्तिशाली, एकीकृत र सुदृध रहेको बुझिन्छ । खस मल्ल राजाको पतन पछि राजा बनेका नलै बर्माले आफ्नो राजधानी हाल कालिकोट जिल्लामा पर्ने ठाँडाचक्रमा बनाए । यिनकी छोरी माल्लादेवीसँग जुम्ला कालै गाउँका सामन्त उत्तमराजका छोरा बलीराजको विवाह भयो । नलै बर्माले उक्त कालै गाउँ र जुम्ला क्षेत्र बलिराजलाई दानअंंश स्वरुप प्रदान गरे। केही समयसम्म बलीराज र उनका जेठान मेदिनी बर्माले जुम्लामा संयुक्त शासन गरे । मेदिनी बर्माको मृत्यु भएपछि उनी निसन्तान भएकोले बलीराज जुम्लाका शासक भए । यिनी जुम्लाका प्रभावशाली शासक थिए । सिंजा क्षेत्र यिनकै मातहतमा थियो । नागराजद्धारा स्थापित पश्चिम नेपालको ऐतिहासिक खस मल्ल राज्य क्रमश धरासायी भएर टुक्रा टुक्रामा विभाजित हुन पुग्यो ।
वि.सं. १५०९ मा बलीराज शाहीको मृत्युपछि बच्छराज जुम्लाको राजगद्दीमा बसे । त्यसपछि क्रमश विजय राज, विशेष राज, विवोष राज, मणिराज, भानराज (भान शाही), सलेन शाही, विक्रम वहादुर शाही, विरभद्र शाही, पृथ्वीपति शाही, सुरभ शाही, सुदर्शन शाही र सुर्यभान शाही जुम्लाका राजा भएका देखिन्छन् । सुर्यभान शाही जुम्लाका अन्तिम राजा हुन । यता गोर्खाका राजा पृथ्वीनारायण शाहले वि.सं. १८०१ वाट नेपाल एकीकरण अभियानको थालनी गरिसकेका थिए । जुम्लामा सुर्यभान शाहीले राजगद्दी सम्हालेका बेलासम्म गोर्खा राज्य शक्तिशाली भैसकेको थियो । चौविसी राज्यहरु र काठमाण्डौं उपत्यकाका तिनै राज्य जितिसकेपछि गोर्खाली फौज बाइसी राज्य हान्ने अभियानमा पश्चिमतिर वढीरहेको थियो । यसैक्रममा १८४१ आश्विन ३ गते गोर्खाली फौज जुम्लातिर बढ्यो । जुम्लाका तत्कालिन राजा सुर्यभान शाही पनि शक्तिशाली थिए तर उनको छिमेकी राज्यसँग राम्रो सम्वन्ध थिएन । त्यतिवेलाका जुम्लाका प्रधानमन्त्री तथा सेनानायक सोभान शाही योग्य, चतुर र कुशल थिए । इतिहासकारहरुले सोभान शाही राजा सुर्यभान शाहीका काका रहेको अनुमान गरेका छन् । उता नेपाली राजगद्दीमा पनि राजा रणवहादुर शाह थिए भने उनका काका बहादुर शाहले नायवी चलाएका थिए । यिनै वहादुर शाहको शासनकालमा १८४६ मा जुम्ला राज्य नेपालमा एकीकृत भएको थियो । एकीकृत नेपालमा जोडिएका जुम्ला र ऐतिहासिक सिंजा क्षेत्रले मुलुकको केन्द्रिकृत शासन व्यवस्थाभित्र कहिल्यैपनि न्याय र समानताको अनूभूति गर्न सकेनन् । तत्कालिन विशाल खस साम्राज्य भएको कर्णाली प्रदेशले निरन्तर उत्पीडनका अनुभूति गरिरहेको तितो यथार्थ हाम्रो सामू छ ।
सिंगो नेपालको ऐतिहासिक पृष्ठभूमिलाई नियाल्ने हो भने नेपाली राष्ट्रमा आजसम्म खडा भएका साम्राज्यहरु मध्ये सवैभन्दा ठूलो साम्राज्य सिंजाको खस साम्राज्य मानिन्छ । नेपालमा शासन गरेका लिच्छिवी, मल्ल र शाह बंशीय राज्यको तुलनामा खस साम्राज्य विशाल रहेको इतिहासकारहरुको मत रहेको छ । सिंगो हिमवत क्षेत्रमा फैलिएको विशाल खस साम्राज्य अन्तर्गत गण्डकी प्रदेश, कर्णाली प्रदेश, खारी प्रदेश, केदार खण्ड (कुमाउ गढवाल) र लद्दाख समेत समाविष्ट भएको तथ्य इतिहासमा पाइन्छ । कर्णाली प्रदेशका राजाहरुले आफ्नो राजधानी सिंजा, दुल्लु, सुरखेत, बर्दिया (दानव ताल÷दानव भूतल) र तिव्वतको धियानझुनमा पनि बनाएका थिए भन्ने कुरा इतिहासकार राजाराम सुवेदीले अछामको इतिहास नामक पुस्तकमा उल्लेख गरेका छन् । नेपालका धेरैजसो भूभागमा खसहरुले लामो समय शासन गरेको हुँदा उनीहरुको भाषा संस्कृति, धर्म, रहनसहन नेपाल र नेपाल बाहिर समेत फैलिएको देखिन्छ । यसबाट प्राचिन खस सभ्यताको केन्द्रको रुपमा रहेको सिंजा उपत्यकाको ऐतिहासिक गौरव र महत्व स्पष्ट झल्किन्छ ।
नेपाली भाषाको उद्गम स्थल सिंजा 
नेपाली भाषा भारोपेली भाषा परिवारका अनेक शाखाहरुमध्ये आर्य इरानेली शाखा अन्तर्गत संस्कृत भाषाबाट प्राकृत र खस अपभ्रंश हुँदै विकसित भएर आधुनिक स्वरुपमा आइपुगेको भाषा शास्त्रिहरुको मत छ । ईसापूर्व १५०० देखी ईसापूर्व ५०० सम्म संस्कृत भाषा नै बोलचालको भाषा रहेको अनुमान गरिन्छ । ईसापूर्व १५०० पछिका दिनहरुमा संस्कृत भाषामा परिवर्तन देखिन थाल्यो । प्राचिन भारतिय प्रायदीपमा मागधी, अर्धमागधी, सौरसेनी र महाराष्ट्री गरी चार प्रकारका प्राकृत भाषाहरु देखा परे । प्राकृत ब्याकरणमा यि चार प्रकारका भाषाका अतिरिक्त पैशाचि प्राकृतको पनि परिचर्चा भेटिन्छ । आधुनिक भाषा शास्त्रीहरुले उपर्युक्त पाँचवटा प्राकृतका अतिरिक्त खस प्राकृतको अस्तित्वलाई पनि स्वीकार गरेका छन् । पहाडी भूखण्डमा अस्तित्वमा रहेको खस प्राकृत भाषामा निरन्तर परिवर्तन देखिन थाल्यो । ईसाको छैठौ शताब्दीतिर आउँदा परिवर्तित प्राकृत भाषालाई अपभ्रंश भनिएको पाइन्छ । भाषाको एतिहासिक विकासलाई हेर्ने हो भने  संस्कृत भाषा प्राकृत र अपभ्रंस भाषाका रुपमा विकसित हुँदै जाँदा धेरै आधुनिक भाषाहरु देखा परेका छन् । नेपाली भाषा कुन प्राकृत अपभ्रंसबाट विकसित भएको हो भन्ने कुरामा अझै एक मत भेटिन सकेको छैन । नेपाली भाषाको उदुभव प्रकृयाको बारेमा भाषाविद ग्रियर्सनको मत उल्लेखनीय छ । उनले नेपाली लगायतका कुमाउनी, गढवाली र हिमाञ्चल क्षेत्रका भाषाहरुलाई खस पहाडी समुदायमा राखी यि भाषाहरुलाई दरत पैसाची मूलमा राखेका छन् । भारतीय विद्धान विरेन्द्र बर्माले पहाडी समुदायका यि भाषाहरुलाई सौरसेनी अपभ्रंससँग निकट देखेका छन् भने नेपाली भाषा शास्त्री बालकृष्ण पोख्रेलले नेपाली भाषालाई सौरसेनीबाट जन्मेको हो भनेका छन् । आधुनिक भाषा शास्त्रीहरुले भाषिक पुननिर्माण मार्फत नेपाली भाषालाई पहाडी खस अपभ्रंसबाट विकसित भाषाका रुपमा चर्चा गरेका छन् ।
नेपाली भाषाको उद्भव ईसाको ११औं शताब्दीबाट भएको मानिन्छ । अन्वेशक विद्धान पूर्णप्रकाश नेपाल यात्रीले राजा दामुपालको दुल्लु (दैलेख) अभिलेख (वि.स.. १०३८) लाई पहिलो प्रमाणिक अभिलेखका रुपमा चर्चा गरेका छन् । (ओं ……………… दमे हुँ । दामुपाल भुपाल रेष भई ।) तर अन्वेशक सुर्यमणि अधिकारीले यो अभिलेखको मितिलाई सन्देहास्पद भनेका छन् । भाषा शास्त्री बालकृष्ण पोख्रेलले आफ्नो कृति “पाँच सय वर्ष”को दोस्रो संस्करणमा वि.सं. १७०० तिर भनिएको बाजपरिक्षा नामक ग्रन्थलाई तेस्रो संस्करणमा वि.सं. १००० तिरको भनि समावेश गरेको छन् । यसैगरी अन्वेशक मोहन प्रसाद खनालले वि.सं. १३१२ मा खस राजा अशोकसँगको हाम्रा आली अटाली करी अक्र्याछ (हाम्रो देशको सिमाना दिगो गरेका छौ) भन्ने सिलालेखको चर्चा गरेका छन् । यो अभिलेखको प्रमाणिततामा पनि विद्धानहरुले आशंका गरेका छन् । मोहन प्रसाद खनालद्धारा प्रकाशित राजा अशोक चल्लकालिन (वि.सं. १३१७ – १३३७) को दुल्लु बौद्ध शिला स्तम्भमा लेखिएको शिलालेखलाई नेपाली भाषाको पहिलो प्रमाणित शिलालेख मानिएको छ । (अं नमो बुधायः । श्री अशोक चल्ल देवास्थिर जयतु । साउना कार्की साउना कक्र्यानीको देवल ।) यसपछि सिंजाली खस राजाहरुको अभिलेखहरु निरन्तर भेटिएका छन् । ईसाको ११औं शताव्दीबाट प्राचिन खस साम्राज्यमा सिंजाली भाषाले राजकीय भाषामा मर्यादा प्राप्त गरेको भेटिन्छ । ईसाको १४औं शताब्दीमा खस साम्राज्यको विघटन भएपनि यस क्षेत्रका सवैजसो भुरे टाकुरे राजाहरुले सिंजाली खस भाषालाई नै सम्पर्क भाषाको रुपमा प्रयोग गर्न थाले यो भाषा नेपाली जनसमाजको अभिन्न अंग बन्दै आजको अवस्थामा आईपुगेको छ । नेपाल राष्ट्रलाई एकताको सुत्रमा जोड्ने सम्पर्क भाषाको रुपमा रहेको नेपाली भाषाको उद्गम क्षेत्र सिंजा भाषाका विद्यार्थी, विद्वान, अन्वेशक र भाषा प्रेमीहरुका लागि समेत एक महत्वपूर्ण गन्तव्य हो भन्दा अन्यथा हुँदैन ।
लोक संस्कृतिको अनुपम राजधानी सिंजा
कुनैपनि क्षेत्रको सामाजिक अवस्था र त्यहाँको लोक संस्कृतिको विचमा घनिष्टतम सम्वन्ध रहेको हुन्छ । जुन ठाउँमा समुन्नत लोक संस्कृति विद्यमान हुन्छ त्यस स्थानमा उच्चस्तरको लोक साहित्यले पुष्पित र पल्लवित हुने अवसर प्राप्त गरेको हुन्छ । सामाजिक जनजीवन र लोकसंस्कृति दुवैले एकअर्काेलाई प्रेरित र प्रभावित पारिराखेका हुन्छन् । दुवै पक्षको मिश्रणबाट नै कुनै पनि ठाउँ, गाउँ, जाति र देशको सभ्यता निर्माण भएको हुन्छ । त्यसै सभ्यताले नै त्यहाँको रितिरिवाज, रहनसहन, बसोवास, जातिपाति, धार्मिक, सांस्कृतिक, राजनीतिक आदि कुराहरुको यथार्थ चित्र गरिदिएको हुन्छ ।  सांस्कृतिक रुपमा हेर्दा सिंजा क्षेत्र आर्य र मंगोल संस्कृतिको संगमभूमिको रुपमा देखा पर्दछ । “स्थानको रुपमा” यहाँ प्रशस्त स्थानिय देवस्थलहरु रहेका छन् । मन्दिर, देवल, चैत्य र गुम्वाहरुले यहाँको पवित्रतालाई प्राचिनकाल देखी नै झल्काइरहेका छन् । नेपाली सांस्कृतिक जगतमा सिंजा सभ्यता मौलिक र रमणीय सभ्यताको रुपमा देखापर्दछ । सिंजाक्षेत्र लोकसंस्कृतीको सुन्दर राजधानीका रुपमा मनमोहक छ । मागल, रत्यौली, दाङ्ली शारदाका गीत, तुलछा, दोहोरी, देउढा गीत, बाह्रमासे, भैली, दशैंको गीत, भजन, दाँई गीत, पढेली, भाकल गीत, जाडोका गीत, पशुपन्छीका गीत, रुनेधुने गीत, भूओ खेलको गीत जस्ता थुप्रै गीतहरुले यहाँको जनजीवनलाई मनोहर बनाएका हुन्छन् र यी लोक गीतहरु यस क्षेत्रका जनताका अभिन्न अंग बनेका हुन्छन् ।
लोक गीत झैं लोक गाथाले पनि सिंजा क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेको पाइन्छ । लोकगाथाहरु अप्रत्यक्ष रुपमा स्थानिय कविहरुका लोककाव्यझै महिमामय छन् । साइमल साँईको चाँचरी, पैकलाको गाथा, सोभन साईको विरह, काँशीराम पैकलाको कथा, लाटीदेउतीको पढेली र यस्तै अनेकथरी लोक काव्यहरुले यहाँको जनजीवनलाई काव्यमय बनाएका हुन्छन् र मानिसहरुमा नैतिक भावना अभिप्रेरित गरिराखेका हुन्छन् । यसैगरी सिंजा क्षेत्रमा आफ्नै मौलिक नाचहरु छन् । ढोली नाच, मुगाली नाच, देउढा नाच, भुड्का नाच, चाँचरी नाच, ढाल नाच र चोपाउँदाका नाचहरु यस क्षेत्रमा प्रसिद्ध नाचको रुपमा स्थापित छन् । सिंजा क्षेत्रमा प्रचलित यी लोक नृत्यहरुले संसार भरिकै नृत्य प्रेमीहरुको मन सहजै आकर्षित गर्न सक्छ ।  सिंजा क्षेत्र लोककथाहरुको विशाल भण्डार नै हो । यहाँ विभिन्न प्रकारका लोककथा (साइतर) प्रचलनमा छन् । बाजे बज्यै पुस्ताले मोहक तरिकाले आफ्नो सन्ततीलाई वर्णन गर्ने यी साइतरहरु सिंज क्षेत्रमा निकै लोकप्रिय छन् । चुफ्या, छिछिँन लामा, पाटनको भूत, लाटा र बाठा, बुद्धिबिचार, कुच बुढा आदिका साइतरहरु यहाँका अग्रज पुस्ताका जनजिब्रोमा झुण्डिएर रहेका हुन्छन् ।  सिंजा क्षेत्रको लोक साहित्यिका भण्डारमा अनेकौं खजानाहरु छन् । रोचक उखान टुक्काहरु, गाउँखाने साइतरहरु, आफ्नै प्रकारका लोक बाजाहरु, लुगा गहना र सृङ्गार पटारका आफ्नै विशिष्ट ढाँचाहरु, छैठ, पैठ, चाड, मेला, भूतप्रेत, देवता र वाहनसँग सम्वन्धित अनगिन्ति किस्सा र कहानीहरु सपना र मृतकसँग जोडिएका विश्वासहरु बालसाहित्यका रोचक सामग्रीहरु सिंजा क्षेत्रको जनजीवनहरु यत्रतत्र छरिएर रहेका छन् । जीवनको उषा देखी मृत्युको निशासम्म त्यहाको जनजीवनलाई लोक साहित्यले अंगालो हालेको हुन्छ । साहित्य संगित र कलाका दृष्टिले यहाँको लोक जीवन समृद्ध र गौरवशाली छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार