चुनाव बहिष्कारबारे नेपालगन्जमा गोष्ठी



नेपालगन्ज ।

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका दलहरूले नेपालगन्जमा विमर्श गोष्ठीको आयोजना गरेका छन् ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमतं), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल लगायत ६ वटा पार्टीहरूले आयोजना गरेको उक्त गोष्ठीमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत दलका प्रतिनिधिहरू पनि सहभागी भए ।

उनीहरूले अहिले निर्वाचनले नै निकास दिनसक्ने भएकोले चुनाव बहिस्कार गर्नु आवश्यक नरहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसबाट जिल्ला सचिव सुधांशु कोइराला, एमालेका नेता कृष्णप्रसाद श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीकी करिष्मा योगी लगायतले आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमतं), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेकपा र समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेताहरूले आसन्न निर्वाचन औचित्यहीन रहेकोले निर्वाचन बहिष्कार गर्नुपरेको बताएका थिए ।

उनीहरूले सर्वपक्षीय सरकार गठन गरी युवा पुस्ता, भूमिहीन, सुकुम्बासीका समस्याहरू समेत समाधान गर्ने गरी नयाँ संविधान निर्माण गर्नुपर्ने धारणा राखेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्य तथा भेरी कर्णाली ३ नम्बर क्षेत्रीय ब्युरो सेक्रेटरी दीपक शाहीको सभापतित्वमा भएको कार्यक्रममा लेख विश्लेषक नरेन्द्रजंग पिटरलगायतले पनि धारणा राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार