संस्थापन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका नाममा विधानविपरीत भेला गरिएको आरोप लगाउँदै त्यसले पार्टी अप्ठ्यारोमा परेको बताएका छन्। शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले गगन थापा पक्षको नवनिर्वाचित कांग्रेस कार्यसमिति अवैधानिक भएको जिकिर गरेका हुन्।
उनले भने, ‘पार्टीका केही व्यक्तिले विशेष महाधिवेशनका नाममा पार्टी अनुशासन विपरीतका भेला बोलाएर पार्टीको विधानविपरीत निर्वाचन आयोगमा पुगेको हामीले सञ्चारमार्फत थाहा पायौँ।’ त्यसबारे आज बिहान निर्वाचन आयोग पुगेर विधान र वैधानिक विषय उठाएर आयोगको ध्यानाकर्षण गराइएको उनले बताए।
‘आज सिंगो केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा गएर आफ्ना वैधानिक कुराहरु, अधिकारका कुरा र विधानको कुराहरु निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण हुने राखेका छौँ। नेपाली कंग्रेसको विधानले कुनै पनि किसिमको महाधिवेशन, अधिवेशन गर्ने गराउने अधिकार केन्द्रीय समितिलाई मात्र दिएको छ। कांग्रेसका कुनै पनि पदाधिकारी र सदस्यलाई महाधिवेशन गराउने अधिकार विधानले दिएको छैन,’ उनले भने।
तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको क्रियाशील सदस्यताको काम गर्न नसक्दा नियमति महाधिवेशन पुस २६–२८ मा सम्भव नभएको जिकिर उनले गरे।
मुलुकको प्रतिकुल पस्थितिमा कांग्रेसले नेतृत्व गरोस् भनेको बेला विशेष महाधिवेशनको नाममा भेला बेलाएर निवर्तमान महामन्त्रीहरुले नागरिकको विश्वास र भरोसामा ठेस पुर्याउने काम गरेको आरोप खड्काले लगाएका छन्।









प्रतिक्रिया दिनुहोस्