नेपालगन्जमा खुल्यो सफल मार्ट



नेपालगन्ज (बाँके) ।

होटेल रेस्टुरेन्टहरूलाई आवश्यक पर्ने खाद्यान्नलगायत सम्पूर्ण सामाग्रीहरू एकै ठाउँबाट सहज रूपमा उपलब्ध गराउने लक्ष्यका साथ बिहीबारदेखि नेपालगन्जको सुर्खेत रोडमा सफल मार्टको छैटौँ शाखा सञ्चालनमा ल्याइएको छ । मार्टमा खाद्य सामाग्रीका अतिरिक्त होटेल, रेस्टुरेन्टका साथै घरायसी प्रयोजनमा प्रयोग हुने करिब १७ हजार प्रकारका सामाग्रीहरू उपलब्ध हुने बताइएको छ ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले एक समारोहका बीच मार्टको शुभारम्भ गर्दै मार्ट सुरु भएपछि नेपालगन्जमा खाद्यान्नलगायत घरायसी प्रयोजनका गुणस्तरीय सामाग्रीहरू एकै ठाउँबाट सहज रूपमा खरिद गर्न सुविधा उपलब्ध हुने बताए । करिब २ करोड ५० लाखको लगानीमा सुरु भएको मार्टमा खाद्य सामाग्रीका अतिरिक्त होटेल, रेस्टुरेन्टका साथै घरायसी प्रयोजनमा प्रयोग हुने करिब १७ हजार प्रकारका सामाग्रीहरू उपलब्ध हुने सफल मार्ट प्रालिका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए ।

होटेल रेस्टुरेन्टहरूलाई आवश्यक पर्ने खाद्यान्न लगायतका सामाग्रीहरू एकै ठाउँमा उपलब्ध नहुँदा व्यवसायीहरूलाई दर्जनौँ पसलहरूमा पुग्नु पर्ने, बार्गेनिङ गर्नु पर्ने, कतिपय पसलबाट खरिद गर्दा भ्याट बीलसमेत नपाउने जस्ता समस्या खेप्नु पर्ने अवस्थाको अन्त्य हुने उनले बताए ।सफल मार्टले एकै ठाउँबाट करिब १७ हजार प्रकारका सामाग्रीहरू उपलब्ध गराउन सुरु गरेपछि होटेल रेस्टुरेन्ट सञ्चालकदेखि गृहणीहरूले सहज रूपमा सुपथ मूल्यमा होम डेलिभरीसहितको सुविधा पाउने छन् ।

विगत ३३ वर्षदेखि खाद्यान्नको कारोबार गर्दै आएका गुल्मीका ५० वर्षीय लक्ष्मण भण्डारीसहितको टिमले सफल मार्ट सञ्चालन गर्दै आएको छ ।
डेढ दशकसम्म खाद्यान्नको होलसेल कारोबार गरेपछि भण्डारीले २०७० सालदेखि काठमाडौँको शंखमुलबाट मार्ट सुरु गरेका थिए । सुरुका वर्षहरूमा लुम्बिनी मार्टबाट काठमाडौँको शंखमुल, पेप्सीकोला, कोटेश्वरमा मार्ट सञ्चालन गर्दै आएका भण्डारीले थप लगानी र साझेदारहरू बढाएर गत वर्षदेखि सफल मार्टको रूपमा मार्ट व्यवसायलाई तीव्र गतिमा विस्तार गरेका छन् ।

पछिल्ला ६ महिनाको अवधिमा चितवनको संगम रोड, बुटवलको कालिका नगर र नेपालगन्जको सुर्खेत रोडमा गरी तीनवटा शाखा विस्तार गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । छवटा मार्टमा हालसम्म करिब १५ करोड लगानी भएको र करिब ८५ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार