ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता



 मस्को : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै आएका खनिज–सम्पन्न आर्कटिक टापु ग्रिनल्यान्डमा नाटो सेनाको उपस्थितिप्रति रुसले गम्भीर चिन्ता व्यक्त गरेको छ । नाटो सदस्य मुलुकहरूको हालैको तैनाथीले आर्कटिक क्षेत्रमा सुरक्षा सन्तुलन थप जटिल बनाउने मस्कोको धारणा रहेको छ ।
फ्रान्स, स्विडेन, जर्मनी र नर्वेले बुधबार संयुक्त रूपमा घोषणा गर्दै ग्रिनल्यान्डको राजधानी नुकमा जासुसी तथा अनुगमन मिसनको हिस्साका रूपमा आफ्ना सैन्य कर्मचारीहरू तैनाथ गर्ने जानकारी दिएका थिए । वासिङ्टनमा अमेरिका, डेनमार्क र ग्रिनल्यान्डका अधिकारीहरूबीच भएको बैठकले राष्ट्रपति ट्रम्पको ग्रिनल्यान्ड नियन्त्रण गर्ने महत्त्वाकांक्षालाई रोक्न असफल भएपछि यो घोषणा आएको हो ।
राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्ड अमेरिकी सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको दाबी गर्दै आएका छन् ।  राष्ट्रपति ट्रम्पका अभिव्यक्तिहरूले दोस्रो विश्वयुद्धयता पश्चिमी सुरक्षाको मेरुदण्ड मानिँदै आएको नाटो गठबन्धनभित्र अभूतपूर्व तनाव सिर्जना गरेको रूसी दूतावासको टिप्पणी छ ।  ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार