काठमाडौँ :राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अनुरोध गरेका छन् ।

बाग्लुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले विद्यालय परिसरमा आयोजना गरेको हीरक महोत्सवमा उनले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकांक्षा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताउनुभएको उनको सचिवालयले जनाएको छ ।
जनताको हित र सेवालाई केन्द्रमा राखेर सुशासनको माध्यमबाट भ्रष्टाचार, ढिलासुस्ती, विकृतिको अन्त्य गरी विकासको गतिलाई तिव्रता दिनु आजको आवश्यकता भएको बताउँदै राष्ट्रपतिले परिवर्तित सन्दर्भमा नवपुस्ता र जनचाहनाअनुसार मुलुकलाई निकास दिने अहिलेको सर्वोत्तम उपाय निर्वाचन भएकोमा जोड दिए ।
राष्ट्रपति पौडेलले मुलुकलाई राजनीतिको दुष्चक्रमा पर्न नदिन आपसी समझदारी, समवन्य र सहकार्यबाटै निर्वाचनको महायज्ञलाई सफल पार्न आग्रह गरे ।
राष्ट्रपति पौडेलले बदलिँदो विश्वमा गुणस्तरीय, प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीप र संस्कार सिकाउनुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्