नेपालगन्ज रंगशालालाई सहयोग गर्ने मन्त्रीको प्रतिबद्धता



नेपालगन्ज ।

चुनावी सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपालगन्ज रंगशालामा रहेका भौतिक पूर्वाधारको संरक्षणसँगै खेलकुद गतिविधिलाई निरन्तरता दिन आवश्यक सहयोग उपलब्ध गर्ने बताएका छन् । मन्त्री गुप्ताले नेपालगन्ज रंगशालाको स्थलगत निरीक्षणका क्रममा मंगलबार सो कुरा बताएका हुन् ।

उनले खेलकुद क्षेत्रको विकासका लागि सरकारले आवश्यक काम गरिरहेको पनि दाबी गरे । उनले खेलाडीलाई बढीभन्दा बढी प्रशिक्षण र सुविधा दिनुपर्ने आफ्नो प्रयास गरेका पनि बताए । मन्त्री गुप्ताले नेपालगन्ज रंगशालको स्विमिङ पुल, कभर्ड हल, सुटिङ रेन्जलगायत संरचनाको अवलोकन गरेका थिए ।

क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले मन्त्री गुप्तासमक्ष नेपालगन्ज रंगशालामा विद्यमान विभिन्न समस्या, साथै भौतिक पूर्वाधार सुधार तथा नयाँ निर्माणको आवश्यकताबारे अवगत गराएका थिए । उनले करोडौँका खेलकुद पूर्वाधारको संरक्षण तथा रेखदेख गर्न बजेट अभावले समस्या आएको बताएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार