नेपालगन्ज ।
नेपालगन्जमा बुधबारबाट आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ सुरु हुँदैछ । महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा बाँकेको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगन्ज उपमहानगरपालिका समितिको सहआयोजनामा हुन लागेको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ ।
नेपालगन्जस्थित सडक डिभिजन परिसरमा सञ्चालन हुने महोत्सव आयोजक मूल समितिका संयोजक समरबहादुर खत्रीका अनुसार महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सिता चौधरीले गर्नेछिन् । उद्घाटनअघि विभिन्न समुदायको झाँकीसहितको साँस्कृतिक ¥याली धम्बोझी चोकबाट सुरु भई पुष्पलाल चोक, कारकाँदो चोक हुँदै सडक डिभिजन परिसरमा पुग्ने उनले जानकारी दिए ।
स्थानीय उत्पादनको प्रवद्र्धन, घरेलु तथा साना उद्योगको बजार विस्तार, कृषि तथा पर्यटन क्षेत्रको विकास र उपभोक्तालाई नयाँ प्रविधिसँग परिचित गराउन महोत्सव गर्न लागिएको आयोजकको भनाइ छ । महोत्सवको मुख्य आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने पनि आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न प्रकारका व्यापारिक स्टल, घरेलु तथा साना उद्योगका उत्पादन, कृषि सामग्री, सूचना प्रविधिसम्बन्धी सामाग्री प्रदर्शनी पनि अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । महोत्सवमा विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता पनि आयोजना गरिने भएको छ ।









प्रतिक्रिया दिनुहोस्