हाम्रो एकीकृतको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न



दीपेन्द्र खड्का । बाँसगढी (बर्दिया) ।

बर्दियाको बाँसगढीमा रहेको हाम्रो एकीकृत कृषि सहकारी संस्था लिमिटेडको ५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच संस्थाको ५औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष गोविन्दप्रसाद उपाध्यायले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नाराका साथ संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको जानकारी दिए ।

स्थापनाकालदेखि सहकारीले कृषि क्षेत्रमा विशेषगरी काम गर्दै आएको उनले बताए । पछिल्लो समय बजारमा सहकारीप्रति हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएकाले त्यसलाई चिर्न आवश्यक रहेको भन्दै उनले संस्थाले संस्थामा आबद्ध सदस्यहरूलाई कृषि लगायतका उत्पादनमा सहयोग पु¥याउँदै आएको दाबी गरे ।

‘आफ्नो भविष्य निर्माण गर्न हामी आफैँ सक्षम छौँ’ भन्ने मूल नाराका साथ सहकारीले काम गरिरहेको उनले बताए । जसका कारण अहिले सहकारीका सदस्यहरू सक्षम बन्दै गएको र सन्तुष्टि रहेको उनको भनाइ थियो । सरकारको तीनखम्बे नीतिमध्येको एक सहकारी रहेको उद्योग वाणिज्य संघ बाँसगढीका अध्यक्ष बद्रीनाथ बरालले बताए । सहकारीलगायत नीजि क्षेत्र सक्षम र बलियो भए मात्रै देशको अर्थतन्त्र सुधार हुँदै जाने उनको भनाइ थियो ।

बर्दिया कृषि क्षेत्रमा सम्भावना बोकेको उर्वरभूमि रहेकाले हाम्रो एकीकृत कृषि सहकारी संस्था लिमिटेडले कृषि क्षेत्रमा गरेको लगानी सराहनीय रहेको भन्दै उनले आगामी दिनहरूमा पनि कृषि क्षेत्रमा लगानी वृद्धि गर्दै जान संस्थालाई आग्रह गरे ।

पुनः उपाध्यायको नेतृत्व

हाम्रो एकीकृत कृषि सहकारी संस्था लिमिटेडको ५औँ वार्षिक साधारणसभा तथा चुनावी सभाबाट पहिलेकै अध्यक्ष गोविन्दप्रसाद उपाध्यायको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको छ । उपाध्यक्षमा इन्द्रजीत बुढा, सचिवमा कृष्णराज अधिकारी र कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन भएका हुन् । यस्तै सदस्यहरूमा राजगोपाल अधिकारी, टंकप्रसाद शर्मा, कमलनाथ थारू, रामसहायन थारू र रमेश कुमार यादव रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार