वृद्धवृद्धा, विद्यार्थी र असल ऋणीलाई सम्मान



बुटवल ।

बुटवलको धौलागिरी बहुउद्देश्यीय सहकारीले वृद्धवृद्धा, विद्यार्थी र असल ऋणीहरूलाई सम्मान गरेको छ । सहकारीले आफ्नो २६औँ वार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो । उत्कृष्ट अंक ल्याउने विद्यार्थी १८ जना, ४ जना वृद्धवृद्धा र २ जना असल ऋणीलाई सम्मान गरिएको सहकारीका सचिव ठाकुर घिमिरेले बताए ।

करिब १५ सय सेयर सदस्य र करिब २६ करोड कूल बजेट रहेको धौलागिरी सहकारी बुटवल क्षेत्रको पुरानो सहकारी हो । सहकारीका संस्थापक अध्यक्ष तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले सहकारीको माध्यमबाट देशमा गरिबी निवारण गर्न सकिने बताए । रुपन्देही जिल्ला सहकारी संघका अध्यक्ष भीम तुलाचनले नियमअनुसार सहकारी सञ्चालन गरे समस्या नआउने बताउँदै केही सहकारीले बदमासी गर्दा सबै सहकारीलाई मुछ्न नहुने बताए ।

आम्दा अस्पताल बुटवलका मेसु डा. विनोद पराजुली, सहकारीका उपाध्यक्ष देवप्रसाद खनाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, वडाध्यक्ष यज्ञ पंगेनी लगायतले बोल्दै सहकारीका सिद्धान्तहरू पालना गरेर मात्रै सहकारी चलाउन सञ्चालक समितिलाई सुझाव दिएका थिए ।

साधारणसभामा सहकारीका अध्यक्ष गोविन्द खनालले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष शान्तिसिंह मल्लले आर्थिक प्रतिवेदन, ऋण उपसमितिका संयोजक राजेन्द्रप्रसाद न्यौपानेको प्रतिवेदन, लेखा समिति संयोजक मनोज आचार्यको लेखा समितिको प्रतिवेदन पास भएको सचिव ठाकुर घिमिरेले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार