‘दलका नेताहरू असफल’



बुटवल ।

विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी माओवादीले सञ्चालन गरेको समाजवादी युवा जागरण अभियान पश्चिम कमाण्डका नेता पे्रम दर्नालले दलका नेताहरू असफल भएको बताएका छन् । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी देश चलाएका दल र ति दलका नेताहरू असफल भएकाले देश बनाउने गरी नेपाल कम्युनिस्ट पार्टी माओवादीले आफ्ना गतिविधि सञ्चालन गरेको बताए ।

उनले सुशीला कार्की नेतृत्वको सरकार विघटन गरेर सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताउँदै यो सरकार जेनजी आन्दोलनको मर्मअनुसार नचलेको दाबी गरे । कार्की नेतृत्वको सरकारले देशको आवश्यकता र जेनजीको भावनाअनुसार नचलेकाले विघटन गरेर नयाँ ढंगले सर्वपक्षीय नयाँ सरकारले मात्रै देशलाई निकास दिन सक्ने उनको तर्क छ ।

उनले संविधान संशोधन गर्नुपर्ने र राज्यको पुनर्संरचना गर्न आवश्यक रहेको बताउँदै देशलाई निकास दिने गरी अघि बढ्नुपर्नेमा जोड दिए । उनले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीको नीति, सिद्धान्त, कार्यक्रम जनताको बीचमा लैजान र चुनावी अभियानलाई सहयोग गर्ने गरी समाजवादी युवा जागरण अभियान सञ्चालन गरिएको बताए ।

देशमा भएको व्याप्त प्रकारको भ्रष्टाचार, अराजकता, बेथितिको विरुद्ध र सुशासनको पक्षमा पूर्वदेखि पश्चिमसम्म समाजवादी युवा जागरण अभियान चलाइएको उनको भनाइ थियो । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार यही पुस २० गतेदेखि देशका तीन स्थानबाट जागरण अभियान चलाइएको उनले बताए ।

समाजवादी युवा अभियान पश्चिम कमाण्डको टोलीले शनिबार रुपन्देहीको मुर्गिया, बुटवल र देवदहमा सभाको आयोजना गरेको रुपन्देही पार्टी अध्यक्ष वीरेन्द्र सीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार