‘डल्फिन फिड्स’मा भेटिएको अखाद्य मकै नष्ट



बाँके ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाँके कोहलपुरस्थित एक उद्योगमा भेटिएको २ हजार ५ सय किलो (साढे २ टन) अखाद्य मकै नष्ट गरेको छ । विभागअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले कोहलपुर नगरपालिका–७ स्थित ‘डल्फिन फिड्स प्रालि’मा भेटिएको उक्त परिमाणको मकै नष्ट गरेको हो ।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार १७ मंसिरमा उद्योग अनुगमन गर्दा त्यहाँ ९३ बोरा मकैमा उद्योगले नै ‘कैफियतयुक्त’ भनी ट्याग टाँसेर राखेको पाइएको थियो । उक्त ९३ बोरा मकैको प्रयोगशाला परीक्षण गर्दा ५० बोरा मकैमा कैफियत (खराबी) देखिएको र बाँकी ४३ बोरा भने प्रयोगका लागि अनुकूल पाइएको थियो ।

प्रयोगशाला रिपोर्टका आधारमा शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, कोहलपुर–७ का वडाध्यक्ष र डल्फिन फिड्सका सञ्चालकको रोहबरमा कैफियत देखिएका ५० बोरा मकै नष्ट गरिएको हो । ५० किलोका दरले हुने जम्मा २ हजार ५ सय किलो उक्त मकैको मूल्य ८२ हजार ५ सय रूपैयाँँ बराबर रहेको विभागले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार