शिक्षण सिकाइमा आत्मीयता कि एआई ?



गाह्रो पनि र निकालिसकेपछि सदावहार पनि । यसका लागि शिक्षकमा रुचि र लगानी दुवैको आवश्यकता पर्दछ । अर्को शब्दमा भन्नु पर्दा शिक्षकमा रुचि हुनु प¥यो र सरकारले शिक्षकका निम्ति पर्याप्त लगानी पनि गर्नुप¥यो । जोन हल्टको अनुसन्धानका आधारमा भन्नुपर्दा अहिले कतिपय शिक्षकहरू यसरी कक्षामा गएका छन् जसको पेसा बालबालिकालाई शिक्षण गर्नु भए पनि उनीहरूलाई बालबालिका र उनीहरूको स्वभाव प्राकृतिक हिसाबले नै मन पर्दैन ।

जीतबहादुर शाह

हामीले राम्रो कर्म गर्दा खुसी हुन्छन् हाम्रा गुरू
हामीले गल्ती गर्दा हाम्रा गुरू रुन्छन् धुरुधुरु

गत शनिबारको दिन विज्ञान विषयका शिक्षक एवम् साहित्यकार बद्रि ढकाल हिरामणीको लघुकथा सङ्ग्रह विमोचनको कार्यक्रम चलिरहेको थियो । उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत बालिकाहरूले आफ्ना शिक्षकहरूप्रति समर्पित एउटा बालगीतलाई स्वागत गीतको रूपमा प्रस्तुत गरे । माथि उल्लेख गरिएका पङ्क्तिहरू तिनै गीतबाट साभार गरिएका हुन् । गीतमा नानीहरूले आफ्नो मिठो स्वर भरेर गाएका थिए । त्योभन्दा पनि मलाई मीठो गीतको भाव लाग्यो । गीतमा समेटिएको परिकल्पना लाग्यो । जुन परिकल्पनामा विद्यार्थीहरूको दुःख र पीडामा आहत भएर रुने र विद्यार्थीहरूको खुसीमा बेहदका साथ रमाएर खुसी प्रकट गर्ने शिक्षकहरूको व्यवहारको बारेमा सुन्दर शब्दहरू लगानी गरिएको रहेछ । साँच्ची हाम्रा सबै शिक्षकहरूले माथिको गीतमा उल्लेख गरिएझैँ विद्यार्थीहरूसँग यसरी नै आत्मीय व्यवहार गरिरहेका हुन्छन् त ? के सबै शिक्षकहरू विद्यार्थीहरूलाई देख्नेबित्तिकै हुरुक्क हुने स्वभावका हुन्छन् त ? के विद्यार्थीहरू पनि सबै शिक्षकहरूलाई देख्नेबित्तिकै खुसी हुन्छन् त ? यस्ता गम्भीर सवालहरूमा मन्थन र विचारविमर्श गर्न जरुरी महसुस भएको छ ।

अनुसन्धानबाट पुष्टि भएका तथ्यहरूलाई जोन हल्टले आफ्नो पुस्तक हामी बालबालिकामा लेखेका छन् कि यदि हामी बालबालिकाप्रति इमान्दार रहँदैनौँ भने हामीले उनीहरूलाई हामीप्रति इमान्दार रहनबाट रोकिरहेका हुन्छौँ । त्यसरी नै हामीले उनीहरूलाई यस्तो भन्न सिकाइरहेका हुन्छौँ कि स्कुल एउटा अचम्मको संसार हो, जहा बालबालिकाले हरेक क्षण आनन्द लिइरहेका हुन्छन् । बालबालिकाहरूमा अभिभावक र शिक्षक सबै लागेर यस्तो मनोविज्ञानको विकास गरिएको हुन्छ कि आफूलाई के कुरा राम्रो लाग्छ र के कुरा राम्रो लाग्दैन सो कुरा भन्नु हुँदैन । अन्ततः वयष्क भएपछि त्यसकारण पनि आफ्ना मन पर्ने र मन नपर्ने कुराहरू खुलेर व्यक्ति गरिरहेका हुन्छन् । बालमनोविज्ञानको परामर्शदाताले समेत बालबालिकालाई गर्ने उपचार र प्रदान गर्ने परामर्श भनेको उनीहरूलाई जति बोल्छन् र जति कुरा खोल्छन् खोल्न दिने र खोल्न दिने गर्दछन् । कहिलेकाहीँ बोल्न दिनु पनि उपचार हो भने बोल्न नदिनु एकप्रकारको रोग हो । यस आलेखमा उल्लिखित विषयवस्तुको बारेमा विषयवस्तुको उठान र चर्चा गर्ने जमर्को गरिएको छ ।

हामीले बालबालिकाहरूलाई यो गर्नु हुँदैन र त्यो गर्नु हँुदैन भन्दै उसले गर्नु पर्ने भन्दा नगर्नु पर्ने कामको ठूलो चाङ बनाएर प्रस्तुत गरिरहेका हुन्छौँ । कतिपय नगर्नु पर्ने भनिएका कामहरू भने हामी आफैँले पनि गरिरहेका हुन्छौँ । बालबालिकाहरूलाई यस्तो लाग्छ कि ‘हामीले गर्नुहुँदैन भनेका काम शिक्षकहरूले किन गरिरहेका छन् ?’ ‘के उनीहरूले गर्न हुने र हामीले गर्न नहुने पनि कामहरू हुन्छन् र ?’ ‘के हामीलाई ‘गर्नुहुँदैन’ भनेका काम उनीहरूले पनि नगर्नु पर्ने होइन र ?’ ‘के उनीहरू हामीप्रति इमान्दार हुनु नपर्ने र हामी मात्रै उनीहरूप्रति इमान्दार हुनुपर्ने त्यस्तो पनि हुन्छ र ?’ अन्ततः यस्ता कुराहरूको उपयुक्त जवाफ नपाएपछि बालबालिकाहरूलाई इमान्दार हुनबाट रोक्ने काम हामी शिक्षक र अभिभावकहरू आफैँले गरिरहेका हुन्छौँ । श्रब्यभन्दा दृश्य सामग्रीहरूको स्पर्श, अवलोकन र त्यसको गतिशीलताबाट सिक्ने बालबालिकाहरूको स्वभाव हुन्छ न कि सुनेका कुराहरूबाट । त्यसैले बालबालिकाहरूबाट उपयुक्त आनीबानी र स्वभावहरूको अपेक्षा गर्ने हो भने उनीहरूलाई असल कुरा भन्ने होइन कि असल कुरा गरेर देखाउन सक्नुपर्दछ ।

हामीले बालबालिकाहरूसँग माथि उल्लेख गरिएजस्तै झुट बोलिरहेका हुन्छौँ कि विद्यालयले उनीहरूलाई आनन्द दिइरहेको हुन्छ । त्यो कुरा उनीहरू स्वयमले भोगिरहेका हुन्छन् कि उनीहरूलाई विद्यालयले प्रशन्नताभन्दा पीडा दिइरहेको हुन्छ । जोन हल्टले भनेझैँ कतिपय बालबालिकाहरूलाई शिक्षक वा शिक्षकले गर्ने व्यवहार मन नपरेर बिरामी हुन्छन् र उपचारका लागि मनोसामाजिक परामर्शदाताकोमा लिनुपर्ने स्थितिको सिर्जना भइरहेको हुन्छ । कतिपय विषयको शिक्षक मन नपरेकै कारणले उक्त शिक्षकप्रति मात्र होइन कि उक्त शिक्षकले अध्यापन गर्ने विषयप्रति नै अरुचि बढिरहेको हुन्छ र अन्ततः विद्यार्थी उक्त विषयमा नै कमजोर हुन पुग्छ । हरेक शिक्षकले आफूले अध्यापन गर्ने विषय नै अरुभन्दा महत्वपूर्ण हो र हुन्छ भनेर आफ्नो मात्र विषयको बखान गरिरहेका हुन्छन् जुन कुरा आफैँमा एउटा झुट हुन्छ र यसले विद्यार्थीमा भ्रम सिर्जना गरिरहेको हुन्छ । विद्यार्थीहरूलाई अन्तत बोध हुँदै जान्छ कि एउटा व्यापारीले झुट विज्ञापन गरेर आफ्नो सामान बिक्री गरेजस्तै शिक्षकहरूले पनि झुटको खेती गरेर आफ्नो विषयको व्यापार चलाइरहेका हुन्छन् ।

विद्यार्थीहरूलाई के मन पर्छ र के मन पर्दैन भन्ने कुरामा भन्दा पनि के मन पर्नुपर्छ र के मन पर्नुहँदैन भन्ने कुराको घर र विद्यालयले नै प्रत्यक्ष नभने पनि मनोवैज्ञानिक किसिमबाट नै एउटा ढाँचा तयार गरिदिएको हुन्छ । उक्त ढाँचाभन्दा फरक तरिकाले प्रस्तुत हुने बालबालिकालाई त्यो घर र विद्यालयबाट नकारात्मक किसिमले हेर्ने गरिन्छ । मानौँ कि कुनै बालबालिकाले आफूलाई परिवारको कुनै सदस्य मन पर्छ र कुनै सदस्य पर्दैन पनि भन्न सक्छ वा विद्यालयको कुनै शिक्षक मन पर्छ र कुनै शिक्षक मन पर्दैन पनि भन्न सक्छ । त्यसरी नै घर वा विद्यालयले गर्ने यो काम मन पर्छ र यो काम मन पर्दैन पनि भन्न सक्छ । तथापि घर र विद्यालयहरूले हामीले गर्ने काम र हामीहरू सबैलाई मन पराइदिएको हुन्थ्यो भन्ने अपेक्षा गरिरहेका हुन्छन् । यही कुरालाई बालबालिकाहरूले समेत बुझेर उनीहरूसँग ‘तिमीलाई को मन पर्छ’ भनेर सोधियो भने सबै मन पर्छ भन्ने किसिमले जवाफ दिन्छन् जबकि यो कुरा उनीहरूले भित्री मनबाट भनिरहेका हुँदैनन् । अवस्था यस्तो सिर्जना हुन्छ कि बालबालिकाले मन नपर्ने व्यक्ति र मन नपर्ने कामहरूमा सुधार गर्नु पर्नेमा मन पर्दैन भनेर विचार राख्ने बालबालिकाहरू नै सुध्रिनु पर्ने गरी शिक्षण सिकाइ गर्ने काम भइरहेको हुन्छ ।

हिजो आज हामीले पिउने शुद्धीकरण गरिएको पानीमा स्वास्थ्यलाई हानी पु¥याउने किटाणु र जीवाणुहरूलाई छानेर पठाइएको हुन्छ । यसरी किटाणु र जिवाणु छान्ने क्रममा शरीरलाई स्वस्थ बनाउनका लागि पानीमा हुने पोषक तत्वहरू पनि छानेर पानी मात्र शुद्ध पानीको रूपमा निर्मलीकरण भएर आउँदो रहेछ । हामीले भन्ने गरेको मिनरल वाटर हुने बोत्तलमा पनि मिनरलबिनाको शुद्ध पानी हुँदो रहेछ । त्यसमा भएका मिनरलहरू त किटाणु र जीवाणुहरू छान्ने क्रममा नै छान्निएर पानीसम्म आउन नपाउँदा रहेछन् । अहिले हामीले बालिबालिकालाई गर्ने क्रियाकलापहरू पनि त्यस्तै भएका छन्, पानीलाई शुद्धीकरण गरिएजस्तै । विद्यार्थीहरूमाथि हातपात र हिंसाजन्य क्रियाकलापहरू गर्नु हुँदैन भन्ने नाममा उसलाई माया र आत्मीयताको भाव देखाउने काममा पनि हामी कमजोर भइरहेका छौँ । बालबालिकाहरूलाई उनीहरूले गरेका राम्रा कामहरूका लागि प्रसंशा र प्रोत्साहन एवम् सुधार गर्नु पर्ने कामका लागि पथप्रदर्शन र पृष्ठपोषण प्रदान गर्न नसकिरहेको अवस्था छ । यसको एउटै कारण बालबालिकाप्रतिको हाम्रो चासो र रुचि बढ्नु पर्नेमा घटिरहेको छ ।

कतिपय शिक्षकहरू विषयवस्तुमा दक्ष छन् । यसका लागि उनीहरूलाई थप जोडबल नभए पनि पुग्ने देखिन्छ । तथापि यस्ता शिक्षकहरू विद्यार्थीहरूको बारेमा दक्ष देखिँदैनन् । दार्शनिक रुसोले बालक एउटा पुुस्तक हो जसका हरेक पानाहरू शिक्षकले पढ्नुपर्छ भने पनि शिक्षकहरूबाट यो काम भएको हुँदैन । यसको एउटै कारण अधिकांश शिक्षकहरू विद्यार्थीहरूसँग समूह र व्यक्तिगत रूपमा अन्तरङ्ग छलफल र भलाकुसारी गर्नु भनेको समयको बरबादी सम्झिन्छन् । बालबालिकाको मनको गहिराइमा पुगेर उनीहरूभित्र रहेको नवीनतम प्रतिभाको उत्खनन गर्नु भनेको धैरै गहिरो इनार खनेर त्यहाँबाट जरुवा पानी निकाल्नुजस्तै हो । गाह्रो पनि र निकालिसकेपछि सदावहार पनि । यसका लागि शिक्षकमा रुचि र लगानी दुवैको आवश्यकता पर्दछ । अर्को शब्दमा भन्नु पर्दा शिक्षकमा रुचि हुनु प¥यो र सरकारले शिक्षकका निम्ति पर्याप्त लगानी पनि गर्नुप¥यो । जोन हल्टको अनुसन्धानका आधारमा भन्नुपर्दा अहिले कतिपय शिक्षकहरू यसरी कक्षामा गएका छन् जसको पेसा बालबालिकालाई शिक्षण गर्नु भए पनि उनीहरूलाई बालबालिका र उनीहरूको स्वभाव प्राकृतिक हिसाबले नै मन पर्दैन ।

प्राकृतिक रूपले नै बालबालिकाहरू मन पर्ने स्वभाव भएका शिक्षकहरूको भने तौरतरिका नै फरक हुन्छन् । उनीहरू बालबालिकासँग कहिल्यै पनि चर्को बोल्दैनन् र जस्तोसुकै प्रतिकूल अवस्थामा पनि मीठो बोली र व्यवहारका साथ प्रस्तुत हुन्छन् । कतिपय विद्यार्थीहरू बिरामी भएको कारणले विद्यालय आउन सकेनन् भनेर त्यस्ता शिक्षकहरू घर वा अस्पतालसम्म नै गएर विद्यार्थीलाई भेटेका र भलाकुसारी गरेका दृष्टान्तहरू छन् । अवस्था हेरेर बिरामी विद्यार्थीलाई कक्षामा शिक्षण सिकाइ भएका विषयवस्तु र क्रियाकलापहरूलाई बिरामी विद्यार्थी भेट्न गएकै अवसरमा सङ्क्षेपमा भए पनि बोधगम्य किसिमबाट भनिदिएर विद्यार्थीहरूमा हौसला बढाएको अवस्था पनि छ । कुनै पनि विद्यार्थी कुनै पनि सिकाइको कार्य र चरणमा पछि पर्नुको कारण म आफैँ हुँ भनेर शिक्षकले अन्य विधि र विकल्पहरूको माध्यमबाट सहजीकरण गरेको अवस्था पनि छ । यी दृष्टान्तहरू पस्कनुको अर्थ शिक्षक विषयवस्तुभन्दा पनि विद्यार्थीहरूको बारेमा अझ बढी जानकार हुनु पर्दछ । अहिलेको हाम्रो शिक्षण सिकाइ त सबैलाई एउटै नापोको सर्ट–पाइन्ट सिलाएर लगाउन दिएजस्तै भएको छ । संयोगले लुगाको नापो मिल्यो भने त ठिकै (पास) हुन्छ । मिलेन भने लुगा लगाउने मान्छे जोक्कर (असफल) जस्तो देखिन्छ । जब कि त्यहाँ दोष लुगा लगाउने भन्दा लुगा सिलाउनेको हुन्छ।

विद्यार्थीहरूको मन र मुटुमा बस्न सक्नु भनेको अहिलेको परिवेशमा एउटा शिक्षकको लागि अनिवार्य शर्त हो र बनाइनुपर्छ । जब विद्यार्थीलाई शिक्षक मन पर्न थाल्छ र जब विद्यार्थीको मन र मुटुमा शिक्षक बस्न थाल्छ अनि विद्यार्थीले शिक्षकको हरेक कुरा मन पराउन थाल्छ । यसका लागि शिक्षकले आलेखको सिरानमा राखिएको गीतमा भनेझैँ विद्यार्थीहरूका सुखदुःखमा साथ दिने र सहयात्रा गर्ने बानी बसाल्नु पर्दछ । शिक्षकले विद्यार्थीहरूलाई प्रश्नको जवाफ घोकाएर परीक्षामा त्यही प्रश्न विद्यार्थीलाई सोध्नुको कुनै अर्थ छैन । त्यो कुनै सिर्जना पनि होइन ।
शिक्षण सिकाइ त त्यस्तो हुनु प¥यो जहाँ शिक्षक साथ र सहयात्रामा छन् र सिर्जनाको कर्ममा शिक्षकको हौसला र प्रेरणा पाएर विद्यार्थीहरू अथक र अनवरत रूपमा संलग्न छन् । विद्यार्थीका सबलता र सम्भावनाहरूलाई उत्खनन गर्दै ती सवलता र सम्भावनाहरूको प्रष्फुटन, जगेर्ना र विकासका लागि प्रेमिल वातावरणका साथ शिक्षक खट्ने होइन भने अब शिक्षकको स्थान कृत्रिम बौद्धिकता (एआई)ले ओगट्नेछ । किन कि एआईसँग विषयवस्तुका कुराहरू जति पनि हुनेछन् । मात्र ऊसँग विद्यार्थीहरूलाई बुझेर प्रेमिल वातवरणको सिर्जना गरी शिक्षण सिकाइ गर्ने हैसियत भने हुने छैन । बाँकी जो हजुरहरूको मर्जी !

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार